दोस्रो ‘इलाम गोल्डकप’को उपाधि एनआरटीको पोल्टामा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२९
  • |
  • 2459 पटक हेरिएको

रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले चुमेको छ । ‘प्रथम इलाम गोल्डकप’को विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधिपनि हात पारेको हो । 

आज भएको फाइनलमा एनआरटीले ३–० गोलअन्तरले लिग विजेता चर्च ब्याइजलाई पराजित गरेको हो । एनआरटीले सेमिफाइनल खेलमा रेडस्टार झापालाई पराजित गरेको थियो भने चर्च ब्याइजले आयोजक रेडहर्सलाई हराएको थियो । उपाधिसँगै एनआरटीले रु १० लाख पुस्कार हात पारेको छ । उपविजेता चर्च ब्याइजले रु पाँच लाख प्राप्त गरेको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु ११ हजारले पुरस्कृत गरिएको तथा ‘म्यान अफ दी म्याच’लाई रु सात हजार पाँच सयले पुरस्कृत गरिएको सचिव प्रकाश घिमिरेले जानकारी दिए ।

आयोजक संस्थाका सदस्य निरोज खड्गीका अनुसार प्रतियोगिताका लागि इलाम नगरपालिकाले रु १० लाख प्रदान गरेको थियो भने तारा रोजु सापकोटा च्यारिटेबल ट्रष्टले दोस्रो पुरस्कारका लागि रु पाँच लाख उपलब्ध गराएको थियो ।

प्रतियोगिता सम्पन्न गर्दासम्म अनुमानित रु ९० लाख खर्च भएको आयोजकले जनाएको छ । “गत वर्षभन्दा पुरस्कार नै दोब्बर बनाइनु, महँगी बढ्नु तथा खेलमैदान स्तरीकरण गर्न ठूलो खर्च हुनुले यस वर्षको कुल खर्च अत्यधिक वृद्धि भएको हो”,सचिव घिमिरेले भने । 

यही मङ्सिर २२ गतेदेखि सुरु भएको एनआरएनए इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा बिजेता डिफेण्डिङ च्याम्पियन न्युरोड टोली (एनआरटी) र उपविजेता चर्च ब्वाइज युनाइटेडसहित सङ्कटा, त्रिभुवन आर्मी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गरेका थिए ।

गत वर्ष भएको पहिलो संस्करणको उपाधि न्युरोड टोली एनआरटीले नै जितेको थियो । विजेताले नगद रु पाँच लाख र उपविजेता विर्तामोड युनाइटेडले रु तीन लाख पुरस्कार प्राप्त गरेको थियो ।

आयोजना हुने खेलकुद प्रतियोगिताहरूमा दर्शक बस्नका लागि स्थायी प्यारापिट नहुँदा प्रतियोगिता खर्चिलो हुने गरेको छ । दिगो प्यारापिटको अभावमा प्रत्येक वर्ष बाँसको अस्थायी प्यारापिट निर्माणमा नै ठूलो खर्च हुने गरेको आयोजक संस्थाकी कोषाध्यक्ष अस्ना श्रेष्ठले बताइन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal