कप्तानी प्रदर्शनले लुम्बिनीमा पलाएको ‘प्लेअफ’ सपना

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२५
  • |
  • 3122 पटक हेरिएको

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा लगातार चार हारपछि लुम्बिनी लायन्सलाई अंक तालिकाको पुछारमा देख्दा समर्थकले टोलीको प्लेअफ सम्भावना समाप्त जस्तै ठानेका थिए।

तर, मंगलबार त्रिवि क्रिकेट मैदानमा ‘गर या मर’को स्थितिमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले प्लेअफको आशा पुनः सास हालेको छ। त्यसैले कप्तान रोहितकुमार पौडेल भन्छन्, ‘एनपिएल मेरो लागि राम्रो भइरहेको छ। तर, टोलीका लागि त्यति राम्रो भइरहेको थिएन। तर, मैले लाइन क्रस गरें, जित निस्कियो। यसले राहत दिएको छ।’ 

लुम्बिनीले सुरुआतदेखि नै प्रतियोगितामा अब्बल प्रदर्शन नगरेको होइन। कागजमा पनि बलियो देखिएको यो टोलीले विराटनगर किङ्सविरुद्ध १९१ र पोखरा एभेन्जर्सविरुद्ध १७० रनको विशाल योगफल खडा गरेको थियो। तर, यति ठूलो योगफल पनि लुम्बिनीले जोगाउन सकेन। यसमा आफ्नो टोलीको बलिङ डिपार्टले बलियो प्रदर्शन गर्न नसकेको रोहित आफैं स्वीकार्छन्।

त्यसैले एकपल्ट त उनलाई लुम्बिनीको बलिङ भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराह ल्याएमात्रै सुध्रिने पो हो कि झैं ! लाग्न थालिसकेको थियो। तर, मंगलबारको खेलमा भने रोहित आफैंले बुमराहको जस्तो प्रभावकारी बलिङ मात्रै देखाएनन् विराट कोहलीको जस्तो परिपक्व ब्याटिङ पनि देखाउँदै लुम्बिनीलाई पहिलो जित दिलाए।

यस क्रममा उनले ब्याटिङमार्फत ५७ बलमा ६ चौका र पाँच छक्कासहित ८० रनको योगदान दिए। बलिङमार्फत चार ओभरमा १७ रन खर्चिएका उनले चार विकेट नै लिए। त्रिविमा धेरै खेल खेलिसकेका रोहितको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो।

उनले पनि यो प्रदर्शनलाई आफ्नो करिअरकै सर्वश्रेष्ठ मानेका छन्। तर, प्लेअफको बिरुमा पलाएको टुसाप्रति भने उनी अझै उत्साहित बनिसकेका छैनन्। ‘आजको प्रदर्शन राम्रै भयो तर यो पर्याप्त छैन। प्रतियोगिता अझै बाँकी छ। दुई खेल जित्यौं र अन्य नतिजा हाम्रै पक्षमा आयो भने जे पनि हुन सक्छ,’ उनले भने।

रोहितले प्रतियोगितामा ब्याटिङ डिपार्ट कुशलतापूर्वक हाँकिरहेका छन्। टोलीले जित्न नसके पनि उनी सर्वाधिक रनकर्ताको सूचीमा भने शीर्ष स्थानमा छन्। पाँच इनिङ्समै ब्याटिङ गरेका उनले ५२.२० को औसत र १३८.०९ को स्ट्राइक रेटमा दुई अर्धशतकसहित २६१ रन बनाएका छन्।

उनीभन्दा पछाडि रहेका चितवनका रवी बोपारा भने १६९ रनका साथ दोस्रो स्थानमा छन्। तर, कप्तानले ड्राइभिङ सिटमा बसेर ब्याटिङमार्फत गाडी हाँकिरहे पनि बलिङबाट मार्ग देखाउने भरपर्दा खेलाडी भने लुम्बिनीमा कोही निस्किएका छैनन्। त्यसैले चितवनविरुद्ध रोहित आफैंले गाडी पनि हाँक्ने र मार्ग पनि पहिल्याउने निर्णय लिएका हुन्।

यो निर्णय सफल साबित भयो। त्यसैले उनलाई अहिले खुब पछुतो लाग्न थालेको छ। लामो सुस्केरा लिएर अनुहार केही मलिन बनाउँदै भन्छन्,‘ सुरुआतदेखि नै मैले पनि बलिङ गर्नुपर्ने रहेछ। त्यो मेरो गल्ती रह्यो।’

रोहित आफैं निपूर्ण बलर होइनन्। तर, विकेट ननिस्किएको अवस्थामा आएर स्पिन बलिङमार्फत टोलीलाई ‘ब्रेक’ दिन सक्ने खुबी भने उनीसँग भरिपूर्ण नै छ। उनले राष्ट्रिय टोलीबाट समेत यो काम गरिसकेका छन्।

उनले नै चितवनका ओपनर विपिन खत्री, वान डाउन झरेका सोहेल तनवीर, सर्वाधिक रनकर्ताको दोस्रो सूचीमा रहेका रवी र जान निकोल लोफ्टी–इटनलाई सस्तैमा पभिलियन फर्काएका थिए।

इटानबाहेक अन्य खेलाडी उनले क्याच आउट गराएका हुन्। यो जितसँगै पुछारको लुम्बिनीले तीन स्थान फड्को मार्दै पाँचौं स्थान हात पारेको छ। अब लुम्बिनीले बुधबार काठमाडौं गुर्खाज र शुक्रबार कर्णाली याक्ससँग खेल्दै लिग चरणका खेल सक्काउने छ।

तर, शीर्ष चारमा अटाउने टोलीले मात्रै प्लेअफ खेल्नेछन्। यस्तोमा लुम्बिनीले आठ अंक जोडेको जनकपुर बोल्ड्सलाई भेटाउने छैन। तर, तीन खेल खेल्न बाँकी सुदूरपश्चिम रोयल्ससँगै चितवन र कर्णाली याक्सलाई भने अंकमा टक्कर दिन सक्ने सम्भावना यथावत नै छ।

सुदूरपश्चिमको ६ अंक छ भने समान दुई खेल्न बाँकी रहेका चितवन र कर्णालीको पनि समान अंक छ। तर, लुम्बिनीभन्दा तल रहेका काठमाडौं चार, पोखरा र विराटनरले भने तीन/तीन खेल खेल्न बाँकी छ। सबैको अंक लुम्बिनीको झैं समान दुई छ।  त्यसैले रोहित आफूले खेल्न बाँकी खेलमा शतप्रतिशत दिने र अरू भगवान् भरोसा छाड्ने बताउँछन्।

‘दुई वटा खेल एकदमै टाइट थियो। तर, बाँकी खेल नै जित्यो भने केही हुन्छ जस्तो लाग्छ। बाँकी भगवान्को हातमा छ,’ उनी भन्छन्।

लुम्बिनीको यो पुनरागमनले एनपिएललाई थप रोचक बनाएको छ। अब लुम्बिनीले बाँकी खेलमा कस्तो प्रदर्शन गर्छ भन्नेमा सबैको नजर केन्द्रित हुनेछ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal