गुप्टिलले विराटनगरबाट दोहोर्‍याउलान् ९ वर्षअघिको त्यो कीर्तिमान?

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१५
  • |
  • 2337 पटक हेरिएको

सन् २०१५ को आइसिसी एकदिवसीय विश्वकपको क्वार्टरफाइनल। यो खेलमा यस्ता दुई टोली आमुन्नेसामुन्ने भए, सबैले यी दुईलाई नै विश्वकपका दाबेदार मानिरहेका थिए। एकतर्फ थियो न्युजिल्यान्ड। अनि अर्को तर्फ वेस्ट इन्डिज। क्वार्टरफाइनलको यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो। तर, खेल भने भइदियो एकपक्षीय। अस्ट्रेलियासँग मिलेर संयुक्त रूपमा प्रतियोगिता आयोजना गरिरहेको न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिललाई जिम्मेवारी थियो, आफ्नो टोलीलाई बलियो सुरुआत दिने। गुप्टिलले उक्त जिम्मेवारीलाई यसरी पूरा गरेकी त्यो अद्भुत प्रदर्शन रह्यो त रह्यो नै क्रिकेट जगतलाई पनि आर्श्चयचकित बनायो।

अझ भनुम वेस्ट इन्डिजविरुद्ध गुप्टिलले आफ्नो नाम क्रिकेट इतिहासमै सुनौलो अक्षरले लेखाए। वेलिंगटनस्थित वेस्टप्याक स्टेडियममा हो सबै कथा लेखिएको। कप्तान ब्रेन्डन म्याकुलमले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए। उनी नै गुप्टिलसँगै ओपनिङमा उत्रिए। तर, कप्तानले कप्तानी इनिङ्स खेल्नै सकेनन्। पाँचौं ओभरको तेस्रो बलमै म्याकुलम तीव्र गतिका बलर जेरोम टेलरको बलमा कप्तान जेसन होल्डरबाट व्यक्तिगत १२ रनमै क्याच आउट भएपछि वेस्ट इन्डिजले खेलमा कब्जा जमाउने आकलन गरिएको थियो। तर,  गुप्टिलले त्यस्तो हुन दिएनन्। एकतर्फ लगातार विकेट खसिरहेको अवस्थामा उनी अन्तिमसम्म कृजमा टिके र मात्र १६३ बलमा अविजित रहँदै २३७ रन बनाएर विश्वकपमा नयाँ कीर्तिमान स्थापना गरे। गुप्टिलको यस अद्वितीय इनिङ्सले क्रिकेटप्रेमीहरूको मन जित्ने मात्र होइन, यो खेलकै इतिहासमा अमिट छाप छोड्यो र धेरै रोमाञ्चक खेलहरूका बीच यो प्रतियोगिता इतिहासको हिस्सा बन्न पुग्यो।

गुप्टिलको इनिङ्स समयको उत्कृष्ट व्यवस्थापन र प्राविधिक क्रिकेटको नमुना थियो। उनले मैदानमा ग्याप खोज्ने कला र रन बनाउने निरन्तर प्रयासमार्फत आफ्नो स्कोर बिस्तारै अगाडि बढाएका थिए। गुप्टिल आफ्नो दोहोरो शतकको नजिक पुग्दा क्रिकेट जगतले उत्सुकतापूर्वक उनको इनिङ्स हेर्दै थियो। ४८औं ओभरमा उनले आन्द्रे रसेलको बलमा शक्तिशाली ब्याटिङ देखाउँदै तीन चौका र एक छक्का प्रहार गर्दै २३७ रन बनाए। गुप्टिलले यसअघि २०१३ मा इङ्ल्यान्डविरुद्ध बनाएको आफ्नो १८९ रनको रेकर्ड पनि तोडे। खेलको अन्तिम १० ओभरमा न्युजिल्यान्डले १५३ रन थप्दै वेस्ट इन्डिजलाई झन् निराश बनायो। यो प्रदर्शनले क्रिस गेलको यसै विश्वकपमा जिम्बाबेविरुद्ध बनाएको २१५ रनको कीर्तिमान तोड्यो। 

एनपीएल आजदेखि, पहिलो खेलमा विराटनगर र जनकपुर खेल्दै

गुप्टिलको यो इनिङ्सको बलमा न्युजिल्यान्डले ३९३/६ को विशाल स्कोर खडा गर्‍यो। गुप्टिलको प्रदर्शनलाई बलिङतर्फबाट ट्रेन्ट बोल्टले सहारा दिए। उनले १० ओभरमा ४४ रन दिएर चार विकेट लिए। यो प्रदर्शनले उनलाई प्रतियोगिताका सबैभन्दा धेरै विकेट लिने खेलाडीको स्थानमा पुर्‍यायो। वेस्ट इन्डिजले ३१ ओभरमा मात्र २५० रनमै अलआउट भयो र १४३ रनले पराजित भयो। यो जितले न्युजिल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउनु मात्र होइन, क्रिकेटप्रेमीहरूलाई सपना देख्न र इतिहास रच्ने हौसला प्रदान गर्‍यो। न्युजिल्यान्ड सेमिफाइनलबाटै बाहिरिए पनि गुप्टिलको यो इनिङ्स क्रिकेटमा उत्कृष्टताको मापदण्ड बन्यो। उनको संयम, जोखिम नलिई गति बढाउने शैली र इनिङ्स निर्माण गर्ने कला विश्वभरका ब्याट्सम्यानहरूका लागि प्रेरणाको स्रोत बन्यो।

हो उनै गुप्टिल अहिले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न काठमाडौं आइपुगेका छन्। उनलाई विराटनगर किङ्सले महंगो रकम खर्चिँदै यस्तै चमत्कारी प्रदर्शन गर्ने अपेक्षासहित नेपाल ल्याएको हो। विश्वका प्राय: सबै फ्रेन्चाइजी लिग खेलिसकेका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरलाई पहिलो संस्करणमै उपाधि दिलाउने हो भने गुप्टिललाई विश्वकै सबैभन्दा छोटो फर्म्याटको प्रतियोगितामा करिब ९ वर्षअघिको यस्तै अद्भुत प्रदर्शन दोहर्‍याउनुको विकल्प रहने छैन।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal