राखेपको बोर्ड बैठक १४ गते
- नेप्लेज
- |
- २०८१-०८-०९
- |
- 2173 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक आह्वान भएको छ । युवातथा खेलकुदमन्त्री तेजुलाल चौधरीका अनुसार राखेपको बोड बैठक १४ गते शुक्रबार बस्ने छ ।
युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक तय गरिएको हो । १५ महिनादेखि बस्न नसकेको बोर्ड बैठकको मुख्य एजेन्डाको रुपमा कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता रहेको छ ।
पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका बेला दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको थियो । तर, मंसिरमा प्रतियोगिता आयोजना नै भएन ।
अब बोर्ड बैठकले दशौंको मिति फागुनमा गर्ने गरी तोक्ने तयारी गरिएको छ । मन्त्री चौधरीले सरकार फागुनमा गराउने गरी मिति तोक्ने तयारीमा रहेको नेप्लेजलाई जानकारी दिए ।
मन्त्री चौधरीले भने ‘घटनाक्रमहरु थप विकसित नभए १४ गते मन्त्रालयमा बोर्ड बैठक बस्छ ।’ यसैगरी बैठकमा राष्ट्रपति कप, उमेर समूह (१५ वर्ष मुनी)का विश्वविद्यालय स्तरीय प्रतियोगिता, पारा खेलकुद लगायतका विषयमा छलफल हुने पनि उनले बताए ।
१४ गते बोर्ड बैठक बस्ने तयारी गरिए पनि परिषद्ले पुर्णता भने पाएको छैन । गत साउन १२ गतेदेखि रिक्त रहेको राखेपको उपाध्यक्ष पदमा अहिलेसम्म नियुक्तिको प्रक्रिया नै अघि बढेको छैन् ।
यस विषयमा जिज्ञाषा राख्दा उपाध्यक्ष नियुक्तिको कुरा प्रधानमन्त्री फर्किए पनि हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जान लागेकाले उताबाट आएपछि मात्रै उपाध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने मन्त्री चौधरीको भनाई छ ।
राखेपको संरक्षक प्रधानमन्त्री रहेपनि बोर्डको अध्यक्ष युवा तथा खेलकुदमन्त्री हुने व्यवस्था छ । खेलकुदमन्त्री चौधरीसहित सदस्य सचिव टंकला घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रतिनिधि, तीन वटा विभागबाट प्रतिनिधि, खेलकुद मन्त्रालयका सहसचिव, सात वटै प्रदेशमा सदस्यसचिवहरु पदेन रहने व्यवस्था छ । मधेश प्रदेशमा भने राखेप नै छैन । बैठकका लागि सम्बन्धीत व्यक्तिहरुलाई पत्राचार गरिसकेको राखेपले जनाएको छ ।