लिभरपुल काराबाओ कपको क्वार्टरफाइनलमा
- एजेन्सी
- |
- २०८१-०७-१५
- |
- 226 पटक हेरिएको
काठमाडौं । लिभरपुलका फरवार्ड कोडी गाक्पोको दुई गोलको मद्दतले ब्राइटनलाई हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
विहीबार विहान सकिएको खेलमा पहिलो हाफमा कुनै गोल भएको थिएन । तर, दोस्रो हाफको पहिलो मिनेटमै डच खेलाडी गाक्पोले उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले बललाई कटिङ गर्दै भित्र ल्याई शक्तिशाली प्रहारमार्फत जाली चुमाएका थिए ।
गोल भएपछि खेलमा थप रोमाञ्चकता आयो। लिभरपुलका गोलकिपर वीतेजस्लाभ यारोसले लिभरपुलका लागि आफ्नो पहिलो पूर्ण खेलमा सिमोन अडिङ्ग्राको हेडरलाई एक हातले उत्कृष्ट बचाउ गरेका थिए ।
ब्राइटनका इभान फर्गुसनले अवसर पाए पनि बार माथिबाट प्रहार गर्दै गोल गर्न चुके । अर्को सुनौलो मौका लिभरपुलले तीन खेलाडीको आक्रमणमा पाए । तर गाक्पोले स्वार्थी नबन्दै डोमिनिक सोबोस्ज्लाईलाई पास दिए, जसको प्रहार ब्राइटनका डिफेन्डरले ब्लक गरेका थिए ।
तारिक लाम्प्टीको गल्तीपछि गाक्पो बल लिएर बक्सभित्र छिरे र सहजै गोल गर्दै ६३ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए ।
ब्राइटनले खेलको अन्तिम समयमा आक्रामक खेलेको थियो । लिभरपुलको त्रुटिमा ८१ औं मिनेटमा अडिङ्ग्राले गोल गर्दै अन्तर कम गरेका थिए ।
तर, लुइस डायाजले ८५ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुलको जित पक्का जस्तै गरेका थिए । अन्तिम ९० मिनेटमा लाम्प्टीले डिफ्लेक्ट भएको बलमा गोल गरे पनि लिभरपुलले ३–२ को जीत पक्का गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।