अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं. ११ लाई

- |
- २०८१-०७-१४
- |
- 348 पटक हेरिएको
लक्ष्मण बस्नेत
दाङ तुलसीपुरको उरहरीमा सम्पन्न अन्तर वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधि वडा नं. ११ ले जितेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को आयोजनामा भएको फाइनल खेलमा वडा नं. ९ लाई ७५ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा नं. ११ ले उपाधि चुमेको हो। विजेता वडा नं. ११ ले नगद ३० हजार, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ।
फाइनलमा पराजित वडा नं. ९ उपविजेता बन्दै नगद २० हजार, ट्रफी, मेडल, र प्रमाणपत्रमा सन्तुष्ट हुनुपर्यो। टस जितेर ब्याटिङ गरेको वडा नं. ११ ले २० ओभरमा ५ विकेट गुमाएर २३१ रनको विशाल स्कोर खडा गर्यो। दिनेश रावतले ४९ रनको योगदान गरे भने मनु शाह र सन्तोष रावतले क्रमशः ३९ र १३ रन बनाए। बलिङतर्फ वडा नं. ९ का सन्दीप भुलले ३ र रञ्जित चौधरीले २ विकेट लिए।
जवाफमा १३.५ ओभरमै अलआउट हुँदै वडा नं. ९ ले मात्र ५६ रन बनाउन सक्यो। वडा नं. ११ का सुशान्त शाहले ५ विकेट लिँदै म्याच अफ द फाइनल बने। डिजन मल्ल र सन्तोष रावतले क्रमशः ३ र १ विकेट लिए। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमा वेस्ट ब्याट्सम्यान वडा नं. ९ का युवराज वलि, बेस्ट बलर वडा नं. ११ का डिजन मल्ल, र म्यान अफ द सिरिज वडा नं. ११ कै सुशान्त शाह भए।
कार्तिक १० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १२ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिता समापन समारोहमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष मान बहादुर रावतको अध्यक्षता थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता चौधरी थिइन्।
मन्त्री चौधरीले खेलकुदलाई मानव स्वास्थ्यको महत्त्वपूर्ण अंग भन्दै यस क्षेत्रको विकासमा प्रदेश सरकारको प्रयास रहेको बताइन्। विशिष्ट अतिथि बाठामगरले खेलकुदलाई शिक्षा र स्वास्थ्यजस्तै प्राथमिकताका साथ हेरिनु पर्ने धारणा राखे।
समापन समारोहमा विजेता टिमलाई पुरस्कार वितरण गरिनुका साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सुरक्षा, स्वास्थ्य, र समाजसेवीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव पदम भण्डारीले गरेका थिए।