इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-२३
  • |
  • 242 पटक हेरिएको

नेप्लेज, २३ असार । स्वीडेनलाई २-० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो ।

इंग्ल्याण्डले स्वीडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्लयाण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो ।

सन् १९६६ संंस्करणको विजेता बनेको इंग्ल्याण्ड सन् १९९० मा तेस्रो भएको थियो ।

फाइनल प्रवेशका लागि इंग्ल्याण्डले आयोजक रुस र क्रोएशियाबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रुसको सामारा एरिनामा ३०औं मिनेटमा इंग्ल्याण्डले अग्रता लिएको थियो । एस्ले योंगले गरेको कर्नर प्रहारलाई इंग्लिस डिफेन्डर ह्यारी मागुरीले हेडमार्फत गोल गरेका थिए । उनले इंग्लिस टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

पहिलो हाफमा अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा पनि गोल थप्यो । यसपटक पनि हेड गोल नै सम्भव भएको थियो । जेसे लिंगार्डको पासमा डेले अलीले पेनाल्टी एरियाबाट हेड गोल गरेका थिए । अलीको विश्वकपमा पहिलो गोल हो ।

स्वीडेनको यसअघिका खेलमा जस्तो एकीकृत टिम गेमलाई इंग्ल्याण्डले ध्वस्त पारिदिएको थियो । पहिलो हाफमा उसले एउटै पनि राम्रो आक्रमण बुन्न सकेन । दोस्रो हाफमा गरेका केही प्रहार इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिउ ।

बलियो भनिएको स्वीडेनको रक्षापंक्ति पनि यस खेलमा सशक्त बन्न सकेन । स्वीडेनले दुवै गोल रक्षापंक्तिको कमजोरीका कारण खाएको थियो । हारसँगै २४ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानमा रहेको स्वीडेन क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey