प्रथम कुबेर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१९
  • |
  • 540 पटक हेरिएको

लक्ष्मण बस्नेत । दाङको तुलसिपुरमा स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। नेपाली कांग्रेस तुलसिपुर नगर समितिको आयोजनामा तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक व्यवस्थापनमा अरनिको खेल मैदान, तुलसिपुरमा प्रतियोगिता असोज ३ गतेदेखि सुरु हुनेछ।

नेपाली कांग्रेस तुलसिपुर नगर समितिको भदौ १८ गते बसेको बैठकले, समग्र राप्ती अञ्चलकै खेलकुद विकासमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको नगर सभापति सुरेश हमालले जानकारी दिनुभयो।

शाहले खेलकुद क्षेत्रमा गरेको योगदान उल्लेखनीय भए पनि, खेलकुद सम्बद्ध निकायहरूले उनलाई पर्याप्त सम्झना नगरेकोमा स्मृति कपको आयोजना गरिएको उहाँले बताउनुभयो।

नगर उपसभापति बिनिल केसिको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता असोज ३ देखि ५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। प्रतियोगिता भव्य एवं सभ्य तवरले सम्पन्न गर्न सबै प्रकारका तयारीलाई तिव्र पार्ने निर्णय नगर सचिव विमल पौडेलले जानकारी दिनुभयो। स्मृति कपको मुख्य उद्देश्य नेपालका राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनका साथै प्रतिभावान खेलाडीहरूको पहिचान र विकासमा टेवा पुर्‍याउनु हो।

प्रतियोगितामा दाङसहित अन्य जिल्लाका १२ भन्दा बढी टिमको सहभागिता रहने छ। प्राविधिक व्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु यरीले यो जानकारी दिनुभयो।

तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद एक लाख पाँच हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमहरूलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा पुरस्कृत गरिनेछ।

जसअनुसार, बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, र बेस्ट लिब्रोलाई नगद, ट्रफी, तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी टिमका लागि टिम दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey