ब्याट र बल दुबैबाट चम्किएका गुलशन झा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१९
  • |
  • 3591 पटक हेरिएको

दक्षिण अफ्रिकासँग ट्वान्टी-२० विश्वकप क्रिकेटको त्यो खेल, जसमा नेपाललाई अन्तिम बलमा विजयका लागि २ रन चाहिन्थ्यो । नेपालले अहिलेसम्म टेस्ट राष्ट्रलाई पराजित गर्न नसकेको अवस्थामा उपाधिको दावेदार दक्षिण अफ्रिकाविरुद्ध नेपाल एतिहासिक विजयको संघारमा थियो । गुलशन झाले त्यो अन्तिम बलमा विजयका लागि आवश्यक रन बटुलेको भए नेपाली क्रिकेटले इतिहास रच्ने थियो र गुलशन स्वयंम अहिले शिखरमा हुने थिए ।

तर त्यही दक्षिण अफ्रिकासँगको खेललाई लिएर गुलशनको पुरा खेल जीवनलाई विश्लेषण गर्नु निकै हानिकारक हुनेछ । गुलशन यस्ता खेलाडी हुन्, जो सँधैं चर्चामा रहने गर्दछन् । गुलशनको एउटा त्यस्तो इनिङ्स थियो, जसले नेपाललाई पहिलो पटक एसिया कपमा पुर्‍याएको थियो । सोहि कारण नेपालले भारत र पाकिस्तान जस्ता विश्वका शक्तिशाली क्रिकेट राष्ट्रसँग खेल्ने सपना पुरा गरेको थियो । 

उनी गुलशन अहिले पनि चर्चामा रहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २८ गते प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणका लागि पिपल्स च्वाइस विधामा मनोनयनमा परेका छन् । एक वर्षको विश्रामपछि फेरि क्रिकेट खेलाडी पिपल्स च्वाइस विधाको मनोनयनमा परेका हुन् । उनले फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति विष्ट र रग्बीका श्रीराम श्रेष्ठसँग विजेता बन्नका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ । 

पिपल्स च्वाइस अवार्डको विजेताले पल्सरको एनएस ४०० सिरिज मोटरसाइकल पाउनेछन् । गोल्छा ग्रुपले एनएस ४०० सिरिज बाइक स्पोर्टस अवार्डको प्रमोसनलकै दौरान लञ्च गरेको थियो । मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङबाट पिपुल्स च्वाइस विजेता छान्ने प्रावधान रहेको छ । मञ्चका सदस्य र नेपाल ओलम्पिक कमिटिमा आवद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको समान १२.५ गरि २५ प्रतिसत मतभार रहने छ । त्यस्तै मञ्चको आधिकारि फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट २५ प्रतिसत र ई-सेवाको मतभार ५० प्रतिसत रहेको छ ।

गुलशनको विशेषता स्तरीय अलराउन्डर हो । दाहिने हाते बलिङ र देव्रेहाते बलिङले नेपाली टोलीमा उनको भुमिकालाई अझ विशेष बनाएको छ । ब्याटिङमा त उनी ‘बिग म्याच’ का खेलाडी हुन् । गत वर्ष नेपालले खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा यूएईसँग एसीसी प्रिमियर कपको फाइनल खेल्दै थियो । विजेता एसिया कपमा पुग्ने थियो । अहिलेसम्म एसिया कप खेल्न नसकेको त्यो पृष्ठभुमिमा यूएईसँगको फाइनल नेपालले इतिहासकै ठुलो मध्येको एक खेल खेलिरहेको थियो । 

यूएईलाई ११७ रनमा अलआउट गरेर नेपालले आधा काम सकाइसकेको थियो । तर ८ ओभरमा २२ रन बनाउदा नेपालले ३ विकेट गुमाइसक्दा कतै ब्याटिङबाटै फेरि धोका पाइने त होइन भन्ने प्रश्न गर्ने ठाउँ बनाइदिएको थियो । तेस्रो नम्बरमा पठाइएका गुलशनले नेपाली क्रिकेट इतिहासको एउटा उत्कृष्ट इनिङ्स खेले । उनले अविजित ६७ रन बनाउनेक्रममा ८४ बल खेली ३ चौका र ६ छक्का प्रहार गरे । उनले भीम सार्कीसँग अविजित ९६ रन गरेपछि नेपाल एसिया कपमा पुगेको थियो । एसिया कपमा उनले पाकिस्तानविरुद्ध १३ र भारतविरुद्ध २३ रन बनाएका थिए । 

गुलशनले अर्को ‘बिग इनिङ्स’ ट्वान्टी-२० विश्वकपको एसिया छनोटको फाइनलमा ओमानविरुद्ध कीर्तिपुरमै खेलेका थिए । उनले २५ बलमै ५ चौका र ४ छक्का प्रहार गरि ५४ रन बनाएपछि नेपालले ओमानलाई १ सय ८४ रनको लक्ष्य दिन सफल भएको थियो । तर सुपर ओभरमा पुगेर नेपाल फाइनलमा ओमानसँग पराजित भएको थियो । 

गत वर्ष गुलशनको ब्याट र बल राम्रैसँग चम्किएको थियो । गुशलनले १७ एकदिवसीय अन्तर्राष्ट्रियमा ३ सय ३७ रन बनाएका थिए, जसमा उनको औषत २८ भन्दा माथि र स्ट्राइक रेट ७७ भन्दा माथि थियो । बलिङमा उनले १० विकेट लिएका थिए । एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध हरारेमा ५२ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट बलिङ थियो । गत वर्ष ट्वान्टी-२० अन्तर्राष्ट्रियका २५ खेलमा उनले ३ सय ४९ रन बनाएका थिए । उनको ब्याटिङ स्ट्राइक रेट १४० को नजिक थियो । प्रति ओभर ७ रनभन्दा मुनि खर्चेर उनले १० विकेट लिएका थिए । 

अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी-२० विश्वकपमा १८ वर्षको उमेरमा खेलेर चर्चामा रहेका गुलशन घरेलु क्रिकेट नेपाल पुलिस क्लबबाट खेल्छन् । तीन वर्ष अगाडि नेपाल एपीएफ क्लबविरुद्ध प्रधानमन्त्री कपको फाइनलमा ४ विकेट लिएर पुलिस क्लबलाई उपाधि दिलाएपछि उनी चर्चामा आएका थिए । लगत्तै उनले २०२१ मा ओमानमा अमेरिकाविरुद्ध विश्वकप लिग २ मा खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । 

मधेश प्रदेशका यी खेलाडीले गत वर्ष नै जिम्बावेमा भएको आईसीसी यू-१९ विश्वकप पनि खेलेका थिए । नेपाली क्रिकेटका यी ठुलो प्रतिभा गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै व्यस्त रहेका थिए । - एनएसजेएफबाट

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey