नेपालमा एयर ब्याडमिन्टनको सुरुवात

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१२
  • |
  • 592 पटक हेरिएको

नेपाल ब्याडमिन्टन सङ्घले युरोपमा लोकप्रिय रहेको विश्व ब्याडमिन्टन महासङ्घको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’ लाई नेपालमा पनि सुरुवात गर्ने उद्देश्यले एक दिने प्रदर्शन खेलको आयोजना गर्‍यो।

दक्षिण एसियामा नै पहिलो पटक जस्तो सुकै खुल्ला मैदानमा रमाइलो खेलको रूपमा खेल्न सकिने यो खेल ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन मैदानमा आयोजना गरिएको थियो। कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र ६ मिटर (एकलमा ५ मिटर) चौडाइ रहेको हुन्छ ।  ‘एयर ब्याडमिन्टन’ द न्यु ब्याडमिन्टन गेम २०२४ नामकरण गरिएको प्रदर्शन खेलमा पुरुष तर्फ १०८ र महिला तर्फ ३४ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। पुरुष र महिला युगल तर्फ खेलाइएको खेलमा पुरुष युगल तर्फ लगनखेलका विलन मलान र उज्ज्वल दाहालको जोडी प्रथम भएका थिए। यस्तै दोस्रो स्थानमा ललितपुरका मनिष बज्राचार्य र राकेश शाक्यको जोडी, तेस्रो स्थानमा आयुष प्रजापती (भक्तपुर) र एलिस थापा (चितवन) तथा अजय महर्जन र साजन महर्जन (थसी)को जोडी रहे।

यसै गरी महिला तर्फ नुमा लिम्बु (नखिपोट) र नबिना (एपिएफ) को जोडीले शर्मिला के.सी. र पार्वती राई (पिएफसी)को जोडीलाई फाइनलमा पराजित गर्दै प्रथम स्थान हात पारे। यस्तै पिएफसीका मैयाँ भट्टराई र सिता कार्कीको जोडी तथा भक्तपुरका लिना सिपाई र सुभेक्षा था श्रेष्ठको जोडी संयुक्त तेस्रो भए। नेपाल ब्याडमिन्टन सङ्घका पूर्व अध्यक्ष प्रकाश बहादुर शाही र निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठले संयुक्त उद्घाटन गरेको प्रदर्शन खेलको विजेता खेलाडीहरूलाई नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सह महासचिव नवीन विक्रम शाह, कोषाध्यक्ष तिलक पाण्डे, पूर्व प्रमुख प्रशिक्षक रजनी मैयाँ जोशी, सहायक मुख्य प्रशिक्षक किरण थापा, सचिव राजु थापा, सदस्य छवि शाही, पूर्णभक्त चित्रकार, भुवन श्रेष्ठ, बागमती प्रदेश ब्याडमिन्टन सङ्घका अध्यक्ष रुद्र कुमार थिङ्ग लगायतले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए।

विश्व ब्याडमिन्टन महासङ्घले खुल्ला मैदानमा सबै समूहका लागि उपयुक्त हुने नयाँ प्रकारको ब्याडमिन्टनलाई जन समक्ष परिचयात्मक रूपमा प्रस्तुत गरेको छ। एयर ब्याडमिन्टन द न्यु ओपन ब्याडमिन्टन नामकरण गरिएको ब्याडमिन्टन परम्परागत ब्याडमिन्टन खेल भन्दा केही फरक रहेको छ। यसमा एकल, युगल र तीन जनाको समूहमा खेलाडीहरू सम्मिलित भएर प्रतिस्पर्धा गर्न सकिने छ। यसको मैदान र सटलकक परम्परागत ब्याडमिन्टन खेलको भन्दा फरक रहेको छ। कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र ५ मिटर चौडाइ रहेको हुन्छ।

नेटबाट २ मिटरको स्थानलाई डेड जोन मानिन्छ। उक्त स्थानमा सटलकक झरेमा आउट र खेलाडीले उक्त स्थानको लाइन क्रस गरेमा फल मानिनेछ। यस्तै डेड जोनबाट ३ मिटर पर सर्भिस लाइन रहने र ३ मिटरको सर्भिस जोनबाट सर्भिस गर्नु पर्ने हुन्छ। यस्तै विपक्षीमा जुनसुकै खेलाडीले रिसिभ गर्नु पाउँछ। खुला मैदानमा खेलाइने भएकोले हावाको चापलाई मध्यनजर गर्दै भिन्न प्रकारको सटलकक बनाइएको छ।

 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal