चर्च ब्वाइज र पारो एफसीबीचको खेलबारे सम्पूर्ण जानकारी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-२७
  • |
  • 1102 पटक हेरिएको

काठमाडौँ । लामो समय दशरथ रंगशलामा अन्तर्राष्ट्रिय टिमसँग खेल हेर्न नपाएका समस्त फुटबल समर्थकहरुलाई यतिबेला चर्च ब्वाइज र पारो फुबटल क्लबबीचको खेल कहिले सुरु होला भन्ने कौतोहलता बढेको छ। साउन २९ गते अर्थात मंगलबार दशरथ रंगशालामा नेपालको 'ए' डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको खेल खेल्दैछ। जहाँ भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबसँग हुनेछ। यो खेलका लागि आयोजक चर्च ब्वाइज क्लबले सम्पूर्ण तयारी पूरा गरेको छ। केही समयअघि विश्वकप छनोट अन्तर्गत दरशथ रंगशालामा हुने तय भएपनि मैदान स्तरीय नभएको भन्दै अन्यत्र खेलाइएको थियो। तर, योपटक भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सम्रक्षण्मा मैदान लगायत सम्पूर्ण तयारी भइरहेको छ। त्यस्तै भुटानी लिग च्याम्पियनसँगको प्रतिष्पर्धाका लागि चर्च ब्वाइज युनाइटेड अन्तिम तयारी गरिरहेको छ। 

एएफसी च्यालेञ्ज लिग के हो ? यो प्रतियोगितामा कस्ता कस्ता टिमको सहभागिता रहेको छ ?
सुरु गरौं एएफसीले आफ्ना सदस्यलाई गरेको वर्गीकरणबाट। एसियाली फुटबल महासंघ (एएफसी)ले आफ्ना सदस्य राष्ट्रहरुलाई उनीहरुको वरियता, खेल स्तर र खेलको व्यवसायिकता हेरेर तीन वर्गमा विभाजन गरेको छ। 

पहिलो एएफसी च्याम्पियन्स लिग, इलाइट दोस्रो रहेको छ। एएफसी च्याम्पियन्स लिग टु र तेस्रो एएफसी च्यालेञ्ज लिग। युरोपमा च्याम्पियन्स लिग पहिलो र युरोपा लिग दोस्रो श्रेणीको क्लब प्रतियोगिता भने जस्तै एसियामा भने तीनवटा श्रेणीमा क्लब प्रतियोगिता आयोजना हुन्छ।

नेपाल जस्तै एसियामा रहेका कमजोर फुटबलिङ स्ट्रक्चर भएका क्लबलाई पनि विकास गर्न र व्यवसायिक बनाउने उद्देश्यका साथ पहिलो पटक एएफसी च्यालेञ्ज लिग आयोजना गरिएको हो। 

यसअघि सन् २०१४ सम्म तेस्रो श्रेणीमा रहेका फुटबल संघअन्तर्गतका क्लबले एएफसी प्रेजिडेन्ट कप खेलाइने गरिन्थ्यो। तर, पछिल्लो समय प्रेजिडेन्ट क्लबलाई परिमार्जन र परिस्कृत गर्दै एएफसीले नयाँ प्रतियोगिताको अवधारणा ल्याएको हो। जुन अगस्ट १३ अर्थात साउन २९ गतेदेखि सुरु हुँदैछ। 

भइरहेको प्रतियोगिता रोकेर एएफसीले नयाँ प्रतियोगिताको अवधारणा किन ल्यायो त ?
यसको मुख्य उद्देश्य भनेको कमजोर फुटबल स्तर भएका एसियाका क्लबलाई अन्तर्राष्ट्रिय क्लब प्रतियोगितामा अभ्यस्त बनाउनु हो। नेपाल, भुटान, मंगोलिया, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, प्यालेस्टाइन जस्ता देशका क्लबले विरलै अन्तर्राष्ट्रिय क्लब फुटबलमा सहभागिता जनाउन पाउँछन्। जसले गर्दा त्यहाँको फुटबल स्तर पनि माथि उठ्न सकेको छैन। फुटबल व्यवसायिक पनि हुन सकेको छैन। एसियाका शीर्ष दुई तहका क्लब प्रतियोगिताः एएफसी च्याम्पियन्स लिग जसलाई अबदेखि एएफसी च्याम्पियन्स लिग एलिट र एएफसी कप जसलाई अबदेखि एएफसी च्याम्पियन्स लिग टू नामकरण गरिएको छ। यी प्रतियोगितामा पुग्न नसक्ने क्लबलाई पनि विकास गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको अवधारण अघि सारिएको हो। यो प्रतियोगिताका कारण अब नेपाल जस्ता देशका लिग च्याम्पियन टिम र खेलाडीले अन्तर्राराष्ट्रिय क्लब प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गर्ने स्थान पाउँछन्।

यसको संरचना कस्तो छ रु बुझ्ने गरी भन्दा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेञ्ज लिगको च्याम्पियन बन्न के कस्तो यात्रा गर्न पर्छ त ?
सुरुमा चर्च ब्वाइजले भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबसँग प्रतिष्पर्धा गर्दैछ। यो खेल दशरथ रंगशालामा साउन २९ गते हुनेछ। सिंगल लेगमा हुने यो खेलको विजेता दोस्रो चरण अर्थात ग्रुप स्टेजमा पुग्नेछ। प्रारम्भिक चरणको आधारमा क्लबलाई ग्रुपमा प्लेस गरिनेछ। प्रतियोगितामा पाँचवटा ग्रुप रहनेछ। पश्चिम एसियाबाट तीनवटा समूहमा १२ र पूर्वी एसियाका दुई समूहका ६ गरी १८ वटा टिमले सिंगल राउण्ड रोविन लिगमा प्रतिष्पर्धा गर्नेछन्। 

पश्चिम क्षेत्रबाट समूहका तीनवटा विजेता र उत्कृष्ट एक उपविजेताले क्वार्टर फाइनलमा स्थान बनाउनेछन् भने पूर्वी क्षेत्रबाट चारवटा टिम क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टरफाइनल र सेमिफाइनल होम एण्ड अवेका आधारमा हुनेछ। फाइनल भने सिंगल लेगमा हुनेछ। 

फुटबल व्यवसायिक बनाउने भनेर एएफसीले यो प्रतियोगितामा सहभागिता जनाउने क्लबको रकम पनि बढाएको छ। जसअनुसार समूह चरणमा स्थान बनाउने टिमलाई कम्तिमा एक लाख अमेरिकी डलर रकम पाउनेछन्। क्वार्टर फाइनलमा पुग्ने टिमले थप ८० हजार अमेरिकी डलर पाउनेछ भने सेमिफाइनलमा पुग्नेले थप एक लाख २० हजार अमेरिकी डलर हात पार्नेछन्। यसको मतलब नेपाली लिग च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलसम्म पुगेमा उसको हातमा कुल तीन लाख अमेरिकी डलर पर्नेछ। उपाधि जित्ने टिमले कुल १३ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ।

कुन कुन क्लबले प्रारम्भिक चरणमा प्रतिष्पर्धा गर्दैछन् ?
सहभागी १८ टिममध्ये नेपालको चर्च ब्वाइज युनाइटेड, भुटानको पारो एफसी, किर्गिज रिपब्लिकको अब्दिश अटा र अफगानिस्तानको अट्याक एफसीले प्रारम्भिक चरण खेल्नेछन्। प्रारम्भिक चरणबाट दुईवटा टिम समूह चरणमा पुग्नेछन्। 

कुवेतको अल अरबी क्लब, तुर्कमेनिस्तानको अर्कादाग क्लब, लेवननको नेज्मे, सिरियाको फुतोवा, बंगलादेशको बशुन्धरा किंग्स, ओमानको अल सीब क्लब, माल्दिभ्सको माजिया स्पोर्टस, प्यालेस्टाइनको हिलाल अल कुद्सले सोझै समूह चरणमा स्थान बनाइसकेका छन्। यस्तै पूर्वी क्षेत्रबाट इण्डोनेसियाको मादुरा युनाइटेड, म्यानमारको शान युनाइटेड, कम्बोडियाको पीकेआरएसआर, लाओसको योङ एलिफेन्ट र मंगोलियाको लिग च्याम्पियनले समूह चरणमा प्रतिष्पर्धा गर्नेछन्। 

अब लागौं चर्च ब्वाइजको एएफसीको तयारीतर्फ
भुटानको लिग च्याम्पियन पारो एफसीविरुद्ध खेल जितेर चर्च ब्वाइज एएफसी च्यालेञ्ज लिगको समूह चरणमा पुग्ने उद्देश्यसहित विगत एक महिनादेखि तयारी गरिरहेको छ। चर्च ब्वाइजमा राष्ट्रिय टिममा लामो समयदेखि खेलिरहेका अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट आयुश घलान, दीप कार्की लगायतका खेलाडी छन्। एएफसी च्यालेञ्ज लिगका लागि चर्च ब्वाइजले २३ सदस्यिय टोली घोषणा गरिसकेको छ। जसमा गोलकिपरतर्फ दीप कार्की, टिकेन्द्र थापा र रेम्बो चौधरी छन्। डिफेन्समा कप्तान अनन्त तामाङसँगै छिरिङ लामा, एकराज बुढाथोकी, ओमोलाजा करिम, सौभाग्य राई, योगेश गुरुङ र सनिश श्रेष्ठ छन्। मिडफिल्डरमा एरिक विष्ट, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लाकेन लिम्बु, मनिष जर्घा र पिटर बान्दा छन्। फरवार्डमा अञ्जन विष्ट, मोसेस ट्वोउम, निरज चौधर, आयुष घलान, सञ्जिव विष्ट र आदित्य शाक्य छन्। प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनको काँधमा छ। बालगोपाल महर्जन उनै प्रशिक्षक हुन् जसले चर्च ब्वाइजलाई पहिलो सहभागितामै लिग च्याम्पियन बनाएका थिए। 

एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको यो खेल दशरथ रंगशालामै पुगेर हेर्न दर्शकको लागि साधारण प्यारापिटतर्फ दुई सय रुपैयाँको टिकट लाग्छ भने भीआईपी प्यारापिटमा बसेर हेर्न चाहनुहुन्छ भने तपाईले पाँच सय रुपैयाँको टिकट काट्न सक्नुहुन्छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey