खेलकुद क्षेत्रमा धेरै सम्भावना छ, आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने गरि काम गर्छु- मन्त्री चौधरी
- नेप्लेज
- |
- २०८१-०४-२१
- |
- 978 पटक हेरिएको
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने उल्लेख गर्दै भविष्यमा राजनीतिज्ञहरूका लागि पनि यो मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखेका हुन् । साथै भविष्यमा हरेक राजनीतिज्ञको रोजाइमा युवा तथा खेलकुद मन्त्रालय पर्ने किसिमले काम गर्ने मन्त्री चौधरीले योजना सुनाए ।
त्रिपुरेश्वरस्थित मञ्चमा नै आयोजित कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी, पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र मञ्चका महासचिव प्रज्जल ओलीले मन्त्री चौधरीलाई स्वागत तथा बधाई दिएका थिए । सो अवसरमा मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याए । उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गरे ।
अहिले विभागीय टोलीमा मात्र छन् र खेलाडीहरूलाई राम्रो अवसर दिने सके पलायन हुनबाट रोक्न सक्ने मन्त्री चौधरीको भनाइ छ । आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए । खेलकुद क्षेत्रमा आफू केही योगदान गर्ने उद्देश्यले आएको मन्त्री चौधरी बताउँछन् । त्यसैले खेलकुदको कार्यकारी निकायमा जुनसुकै व्यक्ति भए पनि ऐनअनुसार काम गरे आफ्नो सहयोग रहेन उनको लक्ष्य छ । उनले पूर्वमन्त्रीहरूले गरेका राम्रा काम भए त्यसलाई आफूले पनि निरन्तरता दिने बताएका छन् ।
नेपाली खेलकुद क्षेत्र एउटा व्यक्ति ४०÷५० वर्षसम्म एउटै पद अध्यक्ष या महासचिव पदमा बसिरहेको अवस्था पनि रहेको मन्त्री चौधरीले उल्लेख गरे । अब त्यो अवस्था हटाउने प्रयासमा आफू रहेको उनले बताए । मन्त्री चौधरीले एउटै मानिस जहिल्यै त्यही पदमा बसिरहनुको अर्थ केही खराब काम पनि भैरहेको संका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको धारणा राखे ।
आगामी दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुने गरी अहिले काम भैरहेको मन्त्री चौधरीले प्रष्ट पारेका छन् । खेलकुद यसपटक खेलकुद व्यवस्थित र सबै टेन्डर प्रक्रिया अपनाएर हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । अहिले ३६ वटा खेल राष्ट्रिय खेलकुदमा खेलाइने तयारी भैरहेको बताए ।
आयोजक प्रदेश कर्णालीसँग पनि त्यहाँको भौतिक अवस्थाबारे जानकारी लिने काम भैरहेको उहाँले बताए । राष्ट्रिय खेलकुद आयोेजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्नेगरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले उल्लेख गरेका छन् । यस पटक पनि पूर्वाधार अभावमा कर्णाली प्रदेशमा २४ खेल मात्र खेलाइने उनले संकेत गरेका छन् ।