प्रेम लिम्बुले जिते विश्व तेकान्दोमा रजत पदक

- |
- २०८१-०४-१५
- |
- 1300 पटक हेरिएको
दक्षिण एसियाली खेलकुद सागका कांस्य पदक विजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन् ।
दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले व्यक्तिगत पुम्से विधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराई रहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले कोरियाबाट जनाएका छन् । प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८–७ अङ्कले पछि पार्दै जित आत्मासाथ गरेका थिए । दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८.१६६ – ७.६८३ अङ्कले हराउँदै क्वाटर फाइनल प्रवेश गरेका लिम्बु क्वाटर फाइनलमा एलेक्सिसलाई ७.७४९ – ७.१४९ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा जोवनलाई ७.९६६ – ७.७६६ अङ्कले हराउँदै फाइनल सम्म पुगेका लिम्बु फाइनलमा मेक्सिकोका खेलाडी योन सियोक सँग ७.८९९ – ८.०९९ को झिनो अङ्कले पछि पर्दै रजत पदक मै चित्त बुझाउनु बाध्य भए ।
५५ राष्ट्रका ४५०० खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी सुरु भई आज ३० जुलाई सम्म चलेको थियो । यस अघि लिम्बुले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जितेका थिए ।
नेपालका लागी कोरियन प्रशिक्षक योङदल क्वानको प्रत्यक्ष निगरानीमा खेलिरहेका प्रेमले विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १ दर्जन भन्दा धेरै पदकहरू जितेका छन् । प्रेमले रेफ्रि तथा प्रशिक्षकको तालिमहरू समेत लिएका छन् ।
२०७३ देखी नेपाल पुलिस क्लबमा आबद्ध भएर तेक्वान्दो खेल्दै आएका उनले ८ औँ र ९ औँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक, १९औँ एसियन गेममा ५औँ, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसियामा कांस्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्यान्डमा स्वर्ण पदक, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११ औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जिती सकेका छन् ।
२०२६ मा हुन लागेको २० औ एसियन गेमको लागी बन्द प्रशिक्षणमा रहेर त्यसको लागी तयारी गरिरहेका लिम्बु प्रतियोगिता सम्पन्न भए पस्चात अगस्ट ३ तारिक नेपाल फर्कने कार्यक्रम रहेको छ ।