कर्णालीमा हुने दशौं राष्ट्रियको पूर्वाधारको काम धमाधम

-
मुक्तिबाबु रेग्मी
- |
- २०८१-०३-०७
- |
- 619 पटक हेरिएको
पोखरामा नवौं राष्ट्रिय खेलकुद समापनकै बेलामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ साल मंसिर २ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गर्ने घोषणा भएको थियो ।
नेपाली खेलाडीलाई व्यस्त राख्ने, अब्बल खेलाडी उत्पादन गर्ने र खेलकुदको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि भूमिका निर्वाह गर्ने उद्देश्यका साथ विस २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता समय समयमा देशमा देखिएका राजनीतिक उथलपुथलका कारण ४३ वर्षको अन्तरालमा जम्मा नौवटा संस्करण मात्र सम्पन्न हुन सके । बहुदलीय व्यवस्थाको पुनस्र्थापनाको आन्दोलन, माओवादीको सशस्त्र द्वन्द्व जस्ता राजनीतिक परिस्थिती र पछिल्लो समय पूर्वाधार निर्माणमा बजेट अभावका कारण पनि तोकिएको समयमा राष्ट्रिय खेलकुद हुन सकेनन् । यो पटक भने त्यस्तो अवस्था आउन नदिन युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषाद्, कर्णाली प्रदेश, कर्णाली प्रदेश खेलकुद परिषद् सक्रिय छ ।
हालसम्म वृहत् राष्ट्रिय खेलकुदको ९ वटा संस्करण सम्पन्न भएका छन् । तर, विकास, समृद्धि र पूर्वाधारमा निकै पछि परेको कर्णाली प्रदेशमा भने पहिलो पटक वृहत् राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो । १०औँ राष्ट्रिय खेलकुदका लागि २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्मको मिति निर्धारण गरिएको छ ।
देशभित्रको खेलकुदलाई चलायमान बनाउन र खेलाडी उत्पादनका दृष्टिले सबैभन्दा महत्वपूर्ण प्रतियोगिता मानिन्छ, वृहत् राष्ट्रिय खेलकुदलाई ।
यतिमात्र होइन, वृहत् राष्ट्रिय खेलकुदलाई भौतिक पूर्वाधार निर्माणको हिसाबले पनि महत्वपूर्ण मानिन्छ । वृहत् राष्ट्रिय खेलकुदका नाममा सम्बन्धित प्रदेशमा पूर्वाधारहरू निर्माण हुने गर्छ । त्यसैले यो प्रतियोगिता प्रत्येक २ वर्षमा छुट्टाछुट्टै प्रदेशमा आयोजना गरिँदै आएको छ ।
पक्कै पनि कर्णाली प्रदेशमा खेलकुदका भौतिक पूर्वाधारहरू निकै कम छन् । न आधुनिक रंगशाला छ, न त सुविधा सम्पन्न कभर्डहल नै । यस्तो अवस्थामा कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुदजस्तो वृहत् प्रतियोगिता आयोजना गर्नु आफैमा चुनौतीपूर्ण छ ।
यसअघि आयोजना भएका वृहत् राष्ट्रिय खेलकुदलाई हेर्ने हो भने आयोजक विकासक्षेत्र वा प्रदेशहरूले गतिलै भौतिक पूर्वाधार पाएको देखिन्छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा वृहत् राष्ट्रिय खेलकुद हुँदा ती क्षेत्रमा खेलकुदका थुप्रै भौतिक पूर्वाधार निर्माण भएका थिए ।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको भौतिक पूर्वाधार विकासमा कोषेढुंगा सावित हुने गरी तयारी हुँदै आएको कर्णाली प्रदेशका खेलकुद परिषद् सदस्य सचिव विश्वमित्र सञ्ज्यालको भनाई छ ।
१०औँ राष्ट्रिय खेलकुद आयोजनाको अधिकार पाएलगत्तै कर्णाली प्रदेश सरकारले आफ्नै पहलमा सुर्खेतमा सुविधा सम्पन्न रंगशाला बनाउन सुरु गरेको छ । पूर्वाधार निर्माणको काम समयमै सम्पन्न गर्ने गरी काम भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद्ले १०औँ राष्ट्रिय खेलकुदका लागि बजेटको प्राथमिकता निर्धारण गरेर युवा तथा खेलकुद मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएको छ ।
मुलुक संघीय स्वरूपमा गएपछि आयोजना भएका वृहत् राष्ट्रिय खेलकुदका खेलहरू सम्बन्धित प्रदेशका विभिन्न जिल्लामा छरेर खेलाइँदै आएको छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ (हाल कोशी प्रदेश) र गण्डकी प्रदेशमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि विभिन्न जिल्लामा आयोजना गरिएको थियो । कर्णाली प्रदेशमा हाल पश्चिमी रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, दैलेख र जाजरकोट गरी १० वटा जिल्ला पर्छन् ।
प्रतियोगिता आयोजनाका लागि पूर्वाधारको तयारीमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् लगायत सम्बद्ध निकायले यसको भौतिक प्रगतिका बारेमा पनि निरीक्षण गर्ने, पछिल्लो जानकारी लिने काम गरिरहेका छन् ।
उद्घाटन र समापन हुने कर्णाली रंगशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्डमिन्टन हल लगायतका संरचना बनिरहेका छन् । एमए कन्स्ट्रक्सनले भौतिक पूवर्वाधार निर्माणको काम गरिरहेको छ । यसअघि दाङको बेलझुण्डी र पोखरा रंगशाला बनाएको यो कम्पनीले अहिले कर्णाली रंगशालाको काम पनि ८० प्रतिशत सकिएको दाबी गरेको छ । असारभित्रै सबैकाम सम्पन्न गरेर सेन्थेटिक असोजमा सरकारलाई हस्तान्तरण गर्ने एमए कन्स्ट्रक्सनका निर्देशक दीपक बरालले बताए ।
१०औं राष्ट्रिय खेलकुदका लागि कर्णाली रंगलशाला लगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, ह्यान्डबल, स्कावास कोर्ट, पौडी पोखरी लगायत करिब १ दर्जन नयाँ संरचना निर्माण भैरहेको छ ।
हालै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ लगायतले खेल आयोजनास्थलको निरीक्षण गरेका छन् ।