एपीएफलाई पाँचौंपल्ट ढोरपाटन भलिबलको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२०
  • |
  • 244 पटक हेरिएको

माघ २०, काठमाडाै‌ं । १३औं ढोरपाटन महिला डवल लिग भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।

उपाधि भिडण्तमा रहेको न्यू डायमण्ड एकेडेमीको टोलीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

ढोरपाटन लिग भलिबलमा एपीएफको यो पाचौं उपाधि हो । यसअघि आठौं, नवौं, दशौं र एघारौं संस्करणको उपाधि एपीएफले जितेको थियो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा एपीएफले न्यू डायमण्डबिरुद्ध २५–१६, २५–१७ र २५–१२ को सोझो सेटमा जित निकाल्यो ।

एपीएफ ५० अंकसहित च्याम्पियन बन्दा न्यू डायमण्ड ४६ अंकसहित उपाबिजेतामा सीमित भयो । एपीएफ प्रतियोगिताको एकमात्र अपराजित टोली हो भने न्यू डायमण्डले दुवै लिगमा एपीएफसँगमात्र हारेको छ ।

उपाधि विजेता एपीएफले ३ लाख २५ हजार पुरस्कार पायो भने न्यू डायमण्डले १ लाख ७० हजारमा चित्त बुझायो ।

प्रतियोगिताको अन्तिम खेलहरु आज खेलाइने भनिए पनि नेपाल पुलिस र त्रिभुवन आर्मीबीचको खेल शनिबार हुन नसक्दा प्रतियोगिताको तेस्रो, चौथो र पाँचौं हुने टोलीको छिनोफानो त्यस खेलले मात्र लगाउने भएको छ ।

आर्मीबिरुद्धको अन्तिम खेल जितेमा पुलिस तेस्रो हुनेछ भने पोखराको टप्स स्कुल चौथो तथा आर्मी पाचौं हुनेछ । आइतबार त्यस खेल खेलाइने आयोजक ढोरपाटन भलिबल क्लवका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।

‘हिजो रातिसम्म खेल लम्बिएकाले हामीले आजका लागि सारेका थियौं, तर आज पुलिसले टप्ससँग पनि खेलेको थियो, थाकेको भन्दै अर्को खेल खेल्न पुलिसले अस्वीकार गरेपछि सार्नुपरेको हो ।’ अध्यक्ष छन्त्यालले भने ।

यता दाङको श्रीगाउँ खेलकुल बिकास समितिको टोली र मेघौली स्पोर्ट क्लव क्रमसः छैटौं र सातौं भएका छन् ।

प्रतियोगिताको तेस्रोदेखि सातौं स्थानसम्मकाले क्रमसः ८०, ५०, ४०, ३० र २० हजार पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा न्यू डायमण्डकी प्रतिभा माली, प्लेयर अफ द सिरिज एपीएफकी सरस्वती चौधरी, वर्ष खेलाडी आर्मीकी निरुता ठगुन्ना तथा राइजिङ प्लेयरमा श्रीगाउँकी शर्मिला नेपाली चुनिए । उनीहरु सबैले एक एक थान स्कुटर पुरस्कार पाएका छन् ।

त्यस्तै बिधागततर्फ उत्कृष्ट स्पाइकर एपीएफकी नेविका चौधरी, सर्भर टप्सकी अरुणा शाही, डिफेण्डर न्यू डायमण्डकी सलिना श्रेष्ठ, क्वीकर नेपाल पुलिसकी कोपिला राना, लिफ्टर न्यू डायमण्डकी कृपा अधिकारी र ब्लकर एपीएफकी रेश्मा भण्डारी चुनिए । साथै एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्ट उत्कृष्ट बने । उनीहरु सबैले जनही ५ हजार पुरस्कार पाए ।

गत माघ ४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता थियो । पहिलो चरणको लिगबाट उत्कृष्ट ७ टोलीलाई दोस्रो लिगमा प्रवेश गराइएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey