आहा रारा गोल्डकपमा ८ वर्षपछि पुलिस च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२०
  • |
  • 170 पटक हेरिएको

माघ २०, काठमाडाै‌ं । १६औं आहा रारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । पुलिसले २०६६ सालपछि पहिलो पटक आहा राराको उपाधि उचालेको हो ।

पहिलो संस्करणको उपाधि जितेको पुलिसले छैटौं, सातौं र आठौं आहा गोल्डकपको उपाधि जितेको थियो । त्यसअघि क्याराभान गोल्डकपको नाममा सञ्चालन हुने प्रतियोगिताको उपाधि पनि पुलिसले जितेको थियो ।

यसै महिनाको सुरुमा दाङमा भएको राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय फुटबलको उपाधि बिजेता पुलिसले पोखरा रंगशालामा शनिबार भएको फाइनलमा ललितपुरको थ्रीस्टार क्लवलाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो ।

घरेलु फुटबलको महारथी मानिने थ्रीस्टारलाई पराजित गरी पुलिस लामो समयपछि लयमा देखिएको छ । अनक्याप्ड खेलाडीहरु सम्मिलित पुलिसको टोलीले राष्ट्रिय टोलीका मिडफिल्डर बिक्रम लामाले नेतृत्व गरेको थ्रीस्टारलाई पराजित गर्न निक्कै कसरत गर्नुपरेको थियो ।

नियमित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्ज्यूरी समयमा पुलिसका राम वाजीले गोल गरे । र, त्यही गोल पुलिसलाई पाचौं पटक च्याम्पियन बनाउन निर्णायक बन्यो ।

यसअघि खेलको नियमित समयमा थ्रीस्टार गोलका केहि अबसरमा चुकेको थियो । बल पोजिसनमा पुलिसलाई नियन्त्रण गरे पनि गोल गर्न नसक्दा थ्रीस्टार एक साताको अन्तरमा दोस्रो उपाधिबाट चुक्न पुग्यो ।

थ्रीस्टारले गत शनिबार मात्रै इटहरीमा मदन भण्डारी स्मृति गोल्डकपको उपाधि उचालेको थियो । त्यसयता सोझै क्वार्टरफाइनल खेलेको थ्रीस्टारले एपीएफ क्लवलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा उसले बंगलादेशी टोली उत्तर बरिधारालाई ५–० को फराकिलो अन्तरले हरायो ।

यता पुस्तान्तरण पछिको नेपाल पुलिसको टोलीमा उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य छ । आहा राराको सफलमध्येको एक टोली पुलिसले पहिलो खेलमा झापा ११ लाई हराएर क्वार्टरफाइनलमा पुगेको थियो भने घरेलु फुटबलको अर्को महारथी मानिने मनाङ मस्र्याङदीलाई हराएर सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा पुलिसले धरान फुटबल क्लवलाई पराजित गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal