सुनापती सैलुङ अल्ट्रा म्याराथनमा वेदबहादुर र निर्मलालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१७
  • |
  • 169 पटक हेरिएको

बेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । बेदबहादुर पुरुष तथा निर्मला महिलाको ५५ किलोमिटर दूरीमा पहिलो भएका हुन् ।

पुरुषमा मनकुमार रोका मगर दोश्रो तथा गोपाल तामाङ तेश्रो भए । महिलामा छोकी शेर्पा दोश्रो भइन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८० हजार, ३५ हजार र २० हजार नगद पुरस्कार पाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष २५ किलोमिटरमा अर्जुन कुलुङ राईले स्वर्ण, तिलकबहादुर सुनुवारले रजत र करण रावलले कांस्य जिते । उक्त स्पर्धाको महिलामा प्रिया राई पहिलो, सुन्सरी रोकाय दोश्रो तथा हुमि बुढा मगर तेश्रो बने । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ४५ हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुष ५ किलोमिटर दौडमा अक्कलबहादुर पाल प्रथम, निरज भट्ट द्वितीय र सुवास कार्की तृतीय भए । सोही स्पर्धाको महिलामा सिर्जना पाण्डेय पहिलो, पद्माकुमारी सुनुवार दोश्रो र सोनिमा शेर्पा तेश्रो स्थानमा रहे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।

विजेतालाई राखेपका सदस्य सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच उद्घाटन गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य-सचिव घिसिङले गरेका थिए ।

सो अवसरमा सदस्य-सचिव घिसिङले कार्यक्रम सफल बनाउन साझेदारी गरेकोमा सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकालाई धन्यवाद दिदै यो क्षेत्रलाई सैलुङ अल्ट्रा म्याराथनका लागि मात्र नभइ मोटर र्‍याली, माउन्टेन बाइक प्रतियोगिता र हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको रुपमा विकास गर्नु पर्ने आवश्यकता औल्याए । सदस्य-सचिव घिसिङले स्थानिय पालिकाले योगा खेलकुदलाई पनि विशेष जोड दिनु पर्ने धारणा व्यक्त गरे । प्रतियोगितामा १२७ पुरुष, ३१ महिला र ५ विदेशी खेलाडी सहभागी थिए । म्याराथन सुनापतीको हिलेदेखि सुरु भइ सैलुङको चुचुरोमा पुगेर टुंगिएको थियो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey