आर्मीले जित्यो मदन भण्डारी कप हक्कीको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२०
  • |
  • 834 पटक हेरिएको

विभागीय टोली नेपाल आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो । रोचक खेलको पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन ।

आर्मीको जितमा सितामाया बल र सिमा खड्काले समान २–२ गोल गरे । सिताले ३८औं र ५८औँ तथा खड्काले ४२औं र ५४औं मिनेटमा गोल गरेका थिए । एकेडेमीका लागि मधु राईले ४८औं र ४९औं मिनेटमा गोल गरिन् । उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता एकेडेमीले एक लाख रुपैयाँ पुरस्कार पायो ।

फाइनल खेलमा आर्मीकी सितामाया बल ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । सिताले ५ हजार रुपैयाँ पुरस्कार पाइन् । सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी सरस्वती तामाङले पाइन् । गोलरक्षकमा आर्मीकी कुश्मा राना मगर तथा डिफेन्समा आयोजककी सपना सिंह उत्कृष्ट चुनिए । लुम्बिनी प्रदेशकी अनन्य बर्णवाल उदयीमान खेलाडी ठहरिन् । उत्कृष्टलाई जनही १० हजार रुपियाँ प्रदान गरियो ।

आर्मीकी सितामाया बल, आयोजकककी मधु राई र सुदूरपश्चिम प्रदेशकी बुलबुल कुमारी संयुक्त रुपमा सर्वाधिक गोल कर्ता बने । प्रतियोगिताभर उनीहरुले समान ८–८ गोल गरेका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ । सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले हराएको थियो । तेस्रो भएको सुदूरपश्चिमले ५० हजार रुपियाँ पुरस्कार पायो ।

विजेतााई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । फागुन १४ गतेदेखि सुरु प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी आठ टिम लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey