अनिल र भीमको शतक, क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लिनस्वीप
- नेप्लेज
- |
- २०८०-१०-२९
- |
- 456 पटक हेरिएको
काठमाडौं । नेपालले क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लीनस्वीप गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको अन्तिम तथा तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी हुँदै सिरिज क्लीनस्वीप गरेको हो । सिरिज नेपालले ३-० ले विजयी भएको हो ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा अनिल साह र भीम सार्कीको नटआउट शतकीय पारि महत्वपूर्ण रह्यो ।
लक्ष्य पछ्याने क्रममा कुशल भुर्तेल र अनिल साह क्रिजमा आएका थिए । ४.५ ओभरमा ४५ रन भएका बेला नेपालले पहिलो विकेट गुमाएको थियो । आक्रमक सुरुआत गरेका बेला कुशल भुर्तेल १४ बलमा १३ रन बनाएर आउट भएका थिए । त्यसपछि अनिल साह र भीम सार्की मिलेर नेपालको परि अघि मात्रै बढाएनन् जित दिलाएर पभेलियन फर्किए । अनिलले १२४ बलमा २ छक्का र १२ चौकाको मद्दतले ११२ रनको नटआउट शतकीय पारि खेले । अनिलको एक दिवसीय करियरको पहिलो शतक हो ।
यसैगरी भीम सार्कीले १२९ बलमा १०१ रनको नटआउट शतकीय पारि खेले । उनले १ छक्का र ११ चौका प्रहार गरेका थिए ।
नेपालले गुमाएको १ मात्र विकेट क्यानडाका डिलोन हेइलजरले लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियो ।
नेपालका लागि आजको खेलमा डेब्यु गरेका हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कुशल मल्लले दुई विकेट लिँदा ललित नारायण राजवंशी र आकाश चन्दले एक एक विकेट लिए ।
क्यानडाका लागि नभनित दालीवालले अर्धशतक बनाए । उनले ८२ बलमा ५० रन बनाउँदै आउट भएका हुन् । त्यस्तै निखिल दत्त ४५ रनमा रन आउट हुँदा हर्ष थाकरले २९, श्रृयस मोभ्वाले २५ रनको योगदान गरे । श्रीमन्थ विजेयीरात्नेले २२ र साद विन जाफर ३१ रनमा अविजित रहे ।