प्रकाश दाहाल स्मृति बक्सिङमा अार्मीकाे वर्चश्व, सुशिल र माला सर्वाेत्कृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१७
  • |
  • 217 पटक हेरिएको

नेप्लेज, १७ असार । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टिमले वर्चश्व जमाएको छ । प्रतियोगितामा कुल १८ तौल समूहको स्वर्ण भिडन्त हुँदा १५ स्वर्ण त्रिभूवन आर्मी क्लब र एपीएफ क्लबले बाँढेका छन् । विभागीय टिममा पनि आर्मीको दबदबा कायम रह्यो । आर्मीले नौ स्वर्ण जितेको छ ।

लैनचौर स्थित हलमा सम्पन्न प्रतियोगिताको हेवी वेट ९१ केजी माथिको स्वर्ण पदक आर्मीका आशिष दवाडीले जिते ।

फाइनलमा उनले कैलालीका सुरेश ओझालाई हराएका थिए । यस्तै पुरुषकै ९१ केजीको स्वर्ण पदक पनि आर्मीका अर्जुन सिंहले जिते । स्वर्ण भिडन्तमा अर्जुनले आफ्नै क्लबका गणेश प्रधानलाई पराजित गरे ।

पुरुषकै ८१ केजी तौलको फाइनल प्रतिस्पर्धामा कास्कीका दिपक सुनुवारले आर्मीका भुपेन्द्र सिंहलाई हराउँदै स्वर्ण पदक जिते ।

पुरुष ५२ केजीको स्वर्ण पदक एपीएफका विक्रम परियारले हात पारे । उनले फाइनलमा आर्मीका विकास राईलाई हराएका थिए ।

पुरुष ४८ केजीको स्वर्ण जित्नका लागि आर्मीका सुशिल थापाले एपीएफका आश तामाङलाई पराजित गरे ।

पुरुष ५६ केजीको स्वर्ण पदक एपीएफका पुरन राईले जिते । पुरनले फाइनलमा कास्कीका दिनेश बानियाँलाइ हराएका थिए ।

६० केजीमा आर्मीका दानबहादुर दर्लामी च्याम्पियन बने । फाइनलमा उनले झापाका प्रकाश लिम्बुलाई हराएका थिए । यस्तै ६४ केजीमा आर्मीका नरेश थापा च्याम्पियन बने । स्वर्ण भिडन्तमा नरेशले झापाका अविनय राईलाई हराएका थिए । ६९ केजी तौल समूहमा कास्कीका हेमराज राउत च्याम्पियन बने । उनले फाइनलमा आर्मीका रवि सुनारलाई पराजित गरे । पुरुषकै ७५ केजी तौलको स्वर्ण जित्दा बानुजका कौशल जंग थापाले आर्मीका कृष्णराज शाहीलाई हराएका थिए ।

विगागीय टिमले पुरुषको १० मध्ये सात स्वर्ण जित्दा महिला तर्फ भने आठै तौल समूहको स्वर्ण विभागीय टिमले बाँढेका छन् । आर्मी र एपीएफले चार चार स्वर्ण कब्जा गरे । ५१ केजीको फाइनलमा एपीएफकी माला राईले मकवानपुरकी सञ्जुमाया थिङलाई हराइन् भने ५४ केजीमा आर्मीकी मिनु गुरुङले काठमाडौंकी मिना घलेलाई पराजित गरिन् । ५७ केजीको फाइनलमा आर्मीकी चन्द्रकला थापाले नक्सालकी कुशुम तामाङलाई हराउँदै स्वर्ण जितिन् । ६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठले कैलालीकी सविता चौधरीलाई पराजित गरिन् ।

महिला ७५ केजीमा आर्मीकी शिलु डंगोलले आर्मीकै सोनाम रोकलाई हराउँदै स्वर्ण पदक कब्जा गरिन् । ६९ केजी तौल समूहमा एपीएफकी सरस्वती रानाले आर्मीकी उमौ गुरुङलाई हराउँदै स्वर्ण पदक हासिल गरिन् ।

यस्तै महिला ४८ केजीको फाइनलमा एपीएफकी सावित्री तामाङले आफ्नै क्लबकी नन्जा बुढामगरलाई पराजित गरिन् । ६४ केजीको स्वर्ण भिडन्तको बाजी विनिता थापामगरले हात पारिन् । उनले नक्सालकी अम्बिया विकलाई हराएकी थिइन् ।

प्रतियोगितामा पुरुष तर्फ आर्मीका सुशिल थापा उत्कृष्ट खेलाडी घोषित भए । महिला तर्फ भने एपीएफकी माला राई उत्कृष्ट घोषित भइन् । विजेतालाई प्रकाश दाहालकी पत्नी तथा खानेपानी मन्त्री विनामगरले पुरस्कार वितरण गरिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey