पल्सर स्पोर्टस अवार्डमा चार विधाका शीर्ष तीन सार्वजनिक [नामसहित]

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२६
  • |
  • 491 पटक हेरिएको

 नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै चार विधाका शीर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन मनोनयन गरिएको हो । वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, क्रिकेटका जगत टमाटा तथा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल र एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न सफल भएका छन् ।

यस पटक २०औं संस्करण माघ २८ गते आइतबार याक एन्ड यति होटलमा आयोजना हुँदै छ । वर्षको उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं तथा वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनको मनोनयनमा परेका छन् ।

उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिएका छन् । यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको हो । यसअघि पाँच जना मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो ।

यद्यपि, यस संस्करणबाट अवार्ड आयोजनाको केही दिन अगाडि नै शीर्ष तीनको मनोनयन सार्वजनिक गर्न थालिएको हो । पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने ९ विधामध्ये पाँच विधाको मनोयनन कार्यक्रमअघि नै सार्वजनिक हुने परम्परा छ । पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत् र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुनेछ । मञ्चका महासचिवसमेत रहेको खेलाडी छनोट समितिका संयोजक ओलीले वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यअनुरूप सुरुआतमा शीर्ष आठको मनोनयन गरिएको बताए ।

‘हाम्रो उद्देश्य धेरैभन्दा धेरै नेपालका खेलकर्मीले यो अवार्डप्रति अपनत्व होस् भन्ने उद्देश्य हो । त्यसैले सुरुमा आठ जनासम्म मनोनयन बढाएका हौं,’ संयोजक ओलीले भने ।

पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठको मनोनयनमा परेका छन् । मञ्चले पिपल्स च्वाइस विधाको भोटिङ पनि अन्तिम चरण पुगेको जनाएको छ । उनीहरूका लागि ई–सेवाबाट भोटिङ र मञ्चको NSJF Pulsar Sports Award तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेज Pulsar Nepal बाट भोटिङ शनिबार मध्यरातसम्म जारी रहनेछ ।

स्पोर्ट्स अवार्डका अन्य विधामा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन हुनेछ । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।

त्यसमध्ये दुईवटा एन २५० र तीनवटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र बिमा पोलिसी प्रदान गरिनेछ । स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey