एपीएफ र आर्मी समूह विजेता बन्दै खुला भलिबलको सेमिफाइनलमा

Kelmi

  • |
  • २०८०-०२-१८
  • |
  • 4988 पटक हेरिएको

हेटौँडाः हेटौँडामा जारी खुला राष्ट्रिय भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल आर्मी समूह विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको छ । बिहिबार हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको समूह चरणको अन्तिम खेलमा जीत हासिल गर्दै दुवै टिम समूह विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा एपीएफले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको भलिबल टिमलाई पनि समान ३–१ को सेटमा पराजित गरेको हो । समूह चरणको अन्तिम खेलमा हार व्यहोरे पनि नेपाल पुलिस क्लब र गण्डकी दुवै समूह उपविजेता बन्दै सेमीफाइनल प्रवेश गरेको छ । शुक्रबार हुने सेमीफाइनलमा एपीएफले गण्डकीको सामना गर्नेछ भने आर्मीले नेपाल पुलिसको सामना गर्नेछ । सेमीफाइनलका खेलहरु शुक्रबार हुनेछ ।

समूह चरणको अन्तिम खेलमा पहिलो र दोस्रो सेट प्रतिस्पर्धात्मक बने पनि तेस्रो र चौथो सेटमा नेपाल पुलिस क्लब कमजोर देखियो । पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २६–२८ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२१, २५–२० ले आफ्नो पक्षमा पार्दै एपीएफ समूह विजेता बन्न सफल भएको हो । म्यान अफ द म्याच एपीएफका महेन्द्र श्रेष्ठ घोषित भए ।

बिहिबार नै भएको समूह चरणको अन्तिम खेलमा आर्मीले गण्डकीलाई २८–२६, २५–२०, २३–२५ र २५–२३ को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने गुमाएको थियो । तेस्रो सेट जितेर खेलमा फर्कने प्रयास गरेको गण्डकीले अन्ततः चौथो सेट गुमाउँदै समूह चरणको अन्तिम खेलमा हार व्यहो¥यो । म्यान अफ द म्याच आर्मीका दुर्गा महतो घोषित भए ।

यसअघि बिहिबार बिहान भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली मकवानपुर जिल्ला भलिबल संघ वालिङ भलिबल क्लबसँग पराजित भएको थियो । मकवानपुर वालिङसँग ३–१ को सेटमा पराजित भएको हो । प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो । शनिबार बिहान फाइनल खेल हुने प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey