दोश्रो बागमती प्रदेश खेलकुदमा आज के के भयो ?

सुजित र डिना उत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१०
  • |
  • 443 पटक हेरिएको

मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जितेका हुन् । सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए । पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जिते । महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जिते ।

दश हजार मिटर दौडमा महिलाततर्फ सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन् । उनले ४७.१ मिनेट समय निकालिन् ।दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरिन् । यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते । काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल भए ।

महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् ।उनले एक मिनेट ९ सेकेन्डमा दूरी पूरा गरिन् ।ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जिते । यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे ।

काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जिते । चार गुणा चार सय मिटर रिलेमा महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रह्यो । पुरुषमा भने सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते ।पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उचाईमाथि उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक पाए ।

महिलामा भने चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गरिन् । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जिते । जाप्लिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जितिन् । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल भए । पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता पाए । उनले ४९.४० मिटर पर फ्याके ।मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जिते ।

पुरुषमा चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित भए । सुजितले तीन स्वर्ण र एक रजत पदक जिते । डिनाले दुई स्वर्ण र एक रजत जिते । प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र ९ कांस्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, एक रजत र एक कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भयो । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कांस्य पदक जिते ।

ब्याडमिन्टन : सिंगल्समा राजु र रिहानालाई स्वर्ण

चितवनका राजु गरन्जा र काठमाडौंकी रिहाना शेरचनले जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जितेका छन् ।

हेटौंडा उपमहानगरपालिका– ११ स्थित थाना भ¥याङमा सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन राजुले पुरुष सिंगल्स र रिहान्नाले महिला सिंगल्समा स्वर्ण जितेका हुन् । राजुले फाइनलमा चितवनकै निसान गुरुङलाई २१–१० र २१–५ ले हराए । रिहान्नाले भने स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१–५ र २१–६ ले हराइन् । मकवानपुरकी आयुश्मा नेपालले कांस्य पदक जितिन् । उनले धादिङकी बबिता पुरीलाई १९–२१, २१–१३ र २१–१६ ले हराइन् ।

पुरुषततर्फ काभ्रेका आशिष तामाङले कांस्य पदकको प्रतिस्पर्धामा धादिङका अस्बिन थापामगरमाथि २१–५ र २१–६ को जित निकाले । महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । यो जोडीले फाइनलमा ललितपुरका श्रेया बज्रचार्य र राहिता शाक्यमाथि २१–१७ र २१–१६ को जित रचे । काठमाडौंकी मनीषा खड्का र रिहान्ना शेरचनको जोडीले कांस्य पदक प्राप्त गरे । पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता पाए । यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१–१२ र २१–१६ ले हराए ।

यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जिते । मिक्स डबल्समा भने मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् । यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१–४ र २१–१८  को सहज जित निकाले । धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कांस्य पदक जिते । पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।

फुटबल : सिन्धुली र काठमाडौं फाइनलमा

सिन्धुली र काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

गौरीटार रंगशालामा भएको सेमिफाइनलमा सिन्धुलीले नुवाकोटलाई ३–० गोलले पराजित ग¥यो । सिन्धुलीका सचना लो, सेमिका परियार र बिटिशा बम्जनले १–१ गोल गरे । अर्को सेमिफाइनलमा काठमाडौंले चितवनलाई २–० गोलले हरायो । विजयी टिमका लागि एलिना तामाङ र सरस्वती ऐरले गोल गरे । फाइनल बिहीबार २ः०० बजे हुनेछ ।

पुरुष फुटबलमा भने सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल काठमाडौं र ललितपुर तथा मकवानपुर र काभ्रेबीच हुनेछ ।

भलिबल : धादिङ र चितवन उपाधिका लागि भिड्ने

धादिङ र चितवन दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष भलिबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

हुप्राचौर भइरहेको प्रतियोगितामा धादिङले काठमाडौंलाई २५–२०, २२–२५ र १५–१० तथा चितवनले सिन्धुलीलाई २५–१९ र २५–२१ को सेटमा पराजित गरे ।

महिलामा काठमाडौं र दोलखाले उपाधि भिडन्त पक्का गरे । काठमाडौंले चितवनलाई २५–८ र २५–११ तथा दोलखाले धादिङलाई २५–२०, १९–२५ र १५–१३ ले हराए । फाइनल बिहीबार बिहान ९ः०० बजे हुनेछ ।

जुडो : सात स्वर्ण छिनोफानो

दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोको पहिलो दिन बुधबार सात स्वर्णको छिनोफानो भएको छ । पुरुषमा ३ र महिलामा ४ स्वर्णको टुंगो लाग्यो ।

काठमाडौंको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि ललितपुरका ताराबहादुर भुजेलले ललितपुरकै सचिन वाइबा, ७३ केजीमुनि ललितपुरका राजु शर्मा बदाइले रसुवाका सुनिल नगरकोटी र काभ्रेका प्रवीणकुमार दियालीले नुवाकोटका प्रमोद तामाङलाई पराजित गरी स्वर्ण जिते ।

महिला ४८ केजीमुनि ललितपुरकी निशा श्रेष्ठले काभ्रेकी सुस्मिता नेपाली, ५७ केजीमुनि नुवाकोटकी अन्जु पाण्डेले काठमाडौंकी विनु गुरुङ, ५२ केजीमुनि ललितपुरकी देवकीमाया श्रेष्ठले भक्तपुरकी सकुन सुनुवार र ६३ केजीमुनि सिन्धुपाल्चोककी सुनिता ढकालले ललितपुरकी रेखा श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारे ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey