कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-२०
  • |
  • 427 पटक हेरिएको

 नेशनल प्याब्सन कास्कीले आयोजना गरेको ‘१३ औं नेशनल प्यावसन कास्की खेलकुद महोत्सव २०७९’ पोखरामा मंगलबारबाट औपचारिक रुपमा सुरु भएको छ ।

मंसिर २३ गते सम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सबको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् । सो अवसरमा बोल्दै सदस्य सचिव घिसिङले बालबालिका लक्षित खेलकुद कार्यक्रमले खेलकुदको जग बलियो बनाउन अहम भूमिका खेल्ने बताए । “खेलकुदमा विद्यालयहरुको अग्रणी भूमिकाले नै राष्ट्रिय प्रतिभा प्राप्त गर्न सक्छ । राखेपले खेलकुदको विकासका लागि विद्यालयका संस्थाहरु संग सहकार्य र समन्वय गर्दै अघि बढ्न तयार छ”, उनले भने ।

नेपालमा विद्यालयस्तरको राष्ट्रिय खेलकुदको अपरिहार्यता रहेको औंल्याउँदै सदस्य सचिव घिसिङले राखेपले त्यस्ता खेलकुद आयोजनाका लागि राखेपले योजना बनाएर अघि बढ्ने उल्लेख गरे । उनले खेलकुदको माध्यमबाट नै देश चिनाउने मात्रै नभई सिङ्गो जिवनका लागि समेत खेलकुद सबैका लागि उत्तिकै अपरिहार्य रहने बताए । एक अर्को प्रसङ्गमा उनले पोखरा आफैमा  खेलकुदको जग बलियो शहरको रुपमा स्थापित रहेको उल्लेख गर्दै पोखरा म्याराथन र आहा रारा गोल्डकपले त्यसको जगलाई बलियो बनाउन उत्तिकै महत्वपूर्ण भूमिका खेलेको बताए ।

सो अवसरमा सदस्य सचिव घिसिङले १३ औं एन प्याव्सन स्पोर्टस मिट अन्तर्गत सञ्चालन भएको खेलकुद महोत्सवको व्यानर उडाएर उद्घाटन गरेका थिए ।

सोही कार्यक्रममा सदस्य सचिव घिसिङले एनप्याव्सन कास्कीमा आवद्ध विद्यालय ज्ञान ज्योती मावीमा कक्षा ८ मा अध्ययनरत अभिषेक तामाङलाई नगद र प्रशसापत्रले सम्मान गरे । अभिषेकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा फुल कन्ट्याक्ट करातेमा ४० केजी तौलतर्फ स्वर्ण पदक जितेका थिए ।

त्यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले खेल जित्नका लागि मात्रै नभई सहभागिता हुनु नै ठूलो विषय रहेको बताउँदै सामाजिक जिवनमा समेत खेलकुदको भूमिका उत्तिकै अपरिहार्य रहने कुरामा जोड दिए । उनले खेलकुद विकासको मुल आधार विद्यालय नै रहेको बताउँदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले सातै प्रदेश मध्ये पहिलो स्थान प्राप्त गरी आम खेलप्रेमीहरुलाई गौरवान्वित बनाएको बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन प्याव्सनका केन्द्रिय निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय सह अध्यक्ष सुभाष न्यौपाने, राखेप सदस्य राजेश कुमार गुरुङ लगायतको सरहेको थियो ।

पोखरा रंगशलामा भएको उद्घाटन कार्यक्रममा एन प्याव्सनमा आवद्ध ४७ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्चपासमा अञ्जुली वोर्डिङ स्कुल र युनिभर्स स्कुल प्रथम भएका छन् । त्यसै गरी कास्की मोर्डनाइज्डले द्वितिय स्थान प्राप्त गर्दा गण्डकी एकेडेमी तृतिय र लेभिन रेशिडेन्सियल बोर्डिङले चौथो स्थान प्राप्त गरेको छ ।

खेलकुद महोत्सव अन्तर्गत नै १५०० मिटर छात्रतर्फको दौडमा चिल्ड्र्न एकेडेमीका अस्मित शिरपाली प्रथम, कास्की मोर्डनाइज्डका प्रमोद थापा द्वितिय र अक्सफोर्डका सफल गुरुङले तृतिय स्थान प्राप्त गरेका छन् । त्यसै गरी छात्र ८०० मिटर दौडमा एल.पि देवकोटा मेमोरियलकी छात्रा मेनुका अधिकारी प्रथम, ज्ञान ज्योती मावीकी पल्लबी नेपाली द्वितिय र चिल्ड्रेन एकेडेमीकी रिती बसेलले तृतिय स्थान हासिल गरेकी छन् ।

‘एन प्यावसन कास्कीको मान्यता–विद्यालयमा खेलकुदको अपरिहार्यता’ भन्ने मुल नाराका साथ सुरु भएको खेलकुद महोत्सवमा कास्कीका ४६ विद्यालयका ७ हजार विद्यार्थीहरुको सहभागिता रहेको कास्की प्यावसनका सचिव मानकाजी गुरुङले जानकारी दिएका छिन् ।  प्रतियोगितामा छात्रतर्फ फुटबल, छात्र÷छात्रातर्फ भलिबल, बास्केटवल, व्याडमिन्टन, टेवुल टेनिस र एथलेटिक्सका खेलहरु सञ्चालन भइरहेका छन् । प्रतियोगितामा कक्षा १ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता करिव २५ हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey