राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१०
  • |
  • 513 पटक हेरिएको

राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी जित्न सफल भएका छन् ।

नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले र सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधी जितेका हुन् । विजयी भएबापत प्रिन्स र रशिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजयी महर्जन र राई प्रत्येकले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेश्रो स्थानमा पुरुष तर्फ कास्कीका विधान अधिकारी र १६ फिदरका क्षितीज खनाल तथा महिला तर्फ सेनाकी प्राथना देउवा र शोभा गौचन संयुक्त तेश्रो भए । तेश्रो भएबापत उनीहरुले नगद १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगल उच्च २० बरियता बाहेकको भिडन्तमा कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले ललितपुरका दिपेश शाक्य र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । तेश्रो स्थानमा १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा पाँचथरका एशिया जवेगु र दिवस शंकरको जोडी रहे ।

पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीहरुले क्रमशः प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु १७ छात्र एकल तर्फ सेनाका कवीर के.सी. र छात्रा तर्फ सेनाकै रिहाना शेरचनले उपाधी जिते । कवीरले सेनाकै अनिल मल्ललाई २१–१०, २१–१३ ले तथा रिहानाले कैलालीका रञ्जु रानालाई २१–८, २१–१७ ले पराजित गर्दै उपाधी जितेका हुन् । तेश्रो स्थानमा छात्र तर्फ कैलालीका रोशन साउद र शुभकामना युवा क्लबका सनौला रैनी तथा छात्रा तर्फ सेनाकी सम्बृद्धि श्रेष्ठ र ललितपुरका श्रेया बज्राचार्य संयुक्त तेश्रो भए ।

शिर्ष तीन स्थानमा रहेका खेलाडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स ४५ बर्ष माथीको प्रतियोगितामा कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडीले किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडीलाई २१–११, २१–१६ ले पराजित गर्दै भेट्रान्सको उपाधी आफ्नो नाममा लेखाए । तेश्रो स्थानमा कालिका ब्याडमिन्ट क्लबका राम के.सी. र हरि खत्रीको जोडी तथा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राकेश थापाको जोडी रहे ।

शिर्ष तीन स्थानमा रहेका जोडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई ललितपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित बागमती प्रदेश साँसद रामकृष्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey