ललितपुर मेयर कप मंसिर पहिलो साता

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०७-२५
  • |
  • 635 पटक हेरिएको

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता –२०७९ मंसिर ७ गते बाट सुरु हुने भएको छ ।

मंसिर १० गते सम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा भेट्रान्स ४५ बर्ष माथिको (खुल्ला) गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव रदीप महर्जनले जानकारी गराएका छन् । बिश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार संचालन हुने प्रतियोगितामा करिव ३०० खेलाडीहरुको सहभागिता रहने सचिव महर्जनले बताए ।

करिव २१ लाख ५० हजारको अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकलका विजयी खेलाडीहरुले नगद ४० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजयी खेलाडीहरुले २० हजार नगदका साथै प्रमाणपत्र, मेडल र ट्रफी तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै यु–१७ छात्र तथा छात्रा र भेट्रान्स ४५ बर्ष माथिको युगल तर्फका शीर्ष तीन स्थानका विजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र ट्रफीका साथै नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरेको प्रतियोगिता ललितपुर बालकुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबको कभर्डहलमा आयोजना हुनेछ । “खेलाडीहरुको चापलाई मध्यनजर राख्दै हरिसिद्धिस्थित ब्याडमिन्टन कभर्डहलमा पनि पहिलो चरणका केही प्रतियोगिता आयोजना हुन सक्नेछ”– सचिव रदीपले बताए ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको विहानको खाजा तथा खानाको ब्यवस्था आयोजक आफैले गर्ने समेत सचिव महर्जनले जानकारी गराएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey