महिला साफमा भारतमाथि नेपालको ऐतिहासिक जीत, उपाधिका लागि बंगलादेश प्रतिद्वन्द्वी


-
नेप्लेज
- |
- २०७९-०५-३१
- |
- 1086 पटक हेरिएको
राजधानीमा जारी महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा घरेलु टोली नेपाल फाइनलमा प्रवेश गरेको छ ।
नेपालले आज चिरपरिचत प्रतिद्वन्द्वी भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । पछिल्ला ५ संस्करणको उपाधि विजेता भारत यो पटक भने सेमिफाइनलमा रोकिन पुग्यो ।
समूह चरणमा बंगलादेशसँग साफ इतिहासमै पहिलो हार व्यहोरेको भारत उप विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
नेपाल ५ मध्य चार पटक फाइनलमा पुग्दा सधैं भारतसँग स्तब्ध हुँदै उप विजेता बन्दै आएको छ । उपाधिको दावेदार मानिएको नेपालले सेमिफाइनलमा भारतलाई रोकेपछि उपाधि नजिक पुगेको छ ।
अब नेपालले बंगलादेशसँग उपाधिका लागि सोमबार खेल्ने छ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध फराकिलो जीत दर्ता गर्दै दोस्रो पटक फाइनलमा पुगेको हो ।
बंगलादेशले यसअघि २०१६ मा भारतविरुद्ध फाइनल खेलेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध जीत दिलाउन रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा पनि भारतमाथि दबाब कायमै राखेको थियो ।
भारतले पनि गोल फर्काउने थुप्रै प्रयास गरे पनि नेपाली खेलाडीले सवै प्रयास विफल पारेका थिए ।