पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता भदाैमा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-३०
  • |
  • 354 पटक हेरिएको


पोखरामा आगामी भदौ १२ देखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ । नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिकरूपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देविज स्नुकर क्लबको आयोजना तथा नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल सङ्घको सहयोगमा हुने प्रतियोगिताबाट स्नुकर खेलको विकासका साथै शारीरिकरूपमा तन्दुरुस्त, मानसिकरूपमा सचेत र सामूहिक भावनाको अभिवृद्धि गराउने विश्वास लिइएको छ ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका सहरबाट गरी एक सय २८ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक शङ्कर गुरुङले बताउनुभयो । उहाँका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडी प्रतियोगितामा सहभागी हुनुहुनेछ । 

प्रतियोगिताको उपाधि विजेताले रु एक लाख ५१ हजार एक सय ११, द्वितीय हुनेले रु ७१ हजार एक सय ११ र सेमीफाइनल पुगेका दुई जनालाई जनही रु १५ हजार एक सय ११ र प्रतियोगिताका हाइएस्ट ब्रेकरलाई रु २१ हजार एक सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष सागरकुमार साइले जानकारी दिनुभयो । 

प्रतियोगिता सम्पन्न गर्न करिब रु १८ लाख खर्च लाग्ने अनुमान गरिएको सङ्घले जनाएको छ । सञ्चालन खर्च प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरी जुटाइने अर्थ समिति संयोजक प्रदीप रसाईलीले बताउनुभयो । 

स्नुकर खेल पनि प्रतियोगितात्मक खेल नै हो भन्ने बुझाउन प्रतियोगिता आयोजना गरिएको सङ्घका अध्यक्ष साइले बताउनुभयो । उहाँले भन्नुभयो, “खेल बुझाउँदै यसप्रति रुचि बढाउने र नयाँ खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य हो । प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा विकास गर्न मद्दत गर्नेछ ।”

नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घले स्नुकर खेललाई आगामी असोज अन्तिम साता पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग गरेको छ । विगतका पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिए पनि त्यसपछिका संस्करणमा स्नुकरलाई समावेश गरिएको छैन । 

सङ्घका अध्यक्ष साइले विगतमा समावेश भएर विभिन्न पदक जितेको यस खेललाई गण्डकी प्रदेशमा हुने राष्ट्रिय प्रतियोगितामा पनि समावेश गर्न राष्ट्रिय खेलकुद परिषद्सँग माग गरिएको बताउनुभयो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey