नेपाल टी २० लिग : विराटनगर र जनकपुरको लोगो सार्वजनिक


-
नेप्लेज
- |
- २०७९-०४-१९
- |
- 376 पटक हेरिएको
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो पटक हुन लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगका लागि दुई वटा क्लबले लोगो सार्वजनिक गरेका छन्।
असोज ८ गतेदेखि कार्तिक ५ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुन लागेको प्रतियोगिताका लागि विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले लोगो आज सार्वजनिक गरेका हुन्।
दुवै टिमका मालिकले लोगो सार्वजनिक गरेका हुन्। टी २० मा सहभागि हुने विराटनगर र जनकपुर दुवैका मालिक भारतीय रहेका छन्।
विराटनगर सुपर किंग्सका तर्फबाट फेस अफ विराटनगरको रुपमा रहेकी मन्दिरा लालभानीले नेपाल टी–२० लिगको एउटा अंक बन्न पाएकोमा खुशी ब्यक्त गरिन्। नेपाल क्रिकेटका लागि उर्वर भूमि हो। नेपालको क्रिकेट पछिल्लो समय चर्चामा छ।
यहाँको क्रिकेटसँग जोडिन पाउँदा खुशी छु। क्रिकेट मेरो डिएनए मै छ। त्यसैले नेपाली क्रिकेटको एउटा ‘पार्ट’ बनेको हुँ,’ लालभानीले भनिन्। यस्तै, जनकपुर गोल्डस्पोर्टस प्रालि, भारतको स्वामित्वमा रहेको जनकपुरका मालिक गोविन्द खान्डवालले पनि नेपाल टी–२० लिगसँग जोडिन पाउँदा खुशी लागेको बताए।
यसअघि लुम्बिनी अल स्टार्सले लोगो सार्वजनिक गरिसकेको छ। आजका दुई टिमसहित अहिलेसम्म ३ टिमले लोगो सार्वजनिक गरेका छन्। नेपाल टी–२० क्रिकेट लिगमा ६ टोलीको सहभागिता रहनेछ।