चोटले क्रिकेटबाट टाढा भएका सागर बिदेश पलायन हुनु पछाडीको कथा (भिडियो स्टोरी)

Kelmi

  • Roshan Bahadur Singh
  • |
  • २०७९-०४-१०
  • |
  • 5323 पटक हेरिएको

सागर पुन यो नाम नेपाली क्रिकेटका लागि निकै चर्चित नाम हो । ब्याटिङ, बलिङ र फिल्डिङमा अब्बल मानिएका सागर पुन चोटका कारण क्रिकेटबाट टाढा भए । २०१८ को डिसेम्बर तेस्रो साता एभरेष्ट प्रिमियर लिगका दौरान काठमाडौं किंग्स ११ बाट खेलिरहेका सागरको एंकलमा चोट लाग्दा त्यो बेला कम्तिमा ६ महिना मैदान बाहिर हुने बताइएको थियो । ललितपुरविरुद्धको खेलमा बलिङ गरेर फर्किदा घाइते भएका सागरका लागि त्यो चोटले क्रिकेटबाट नै टाढा हुने अवस्थामा पुर्यायो । आफ्नै खर्चमा शल्यक्रियासहित सबै उपचार गराएका सागर यति बेला अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन । 

सक्रिय खेलाडीबाट टाढा भएपछि र गतिलो साथ नपाएपछि खेलाडी कसरी पलायन हुन्छन वा भनौं कसरी बिकल्प खोज्न बाध्य हुन्छन भन्ने उनी गतिलो उदाहरण बनेका छन । सागर आफ्नो चोटबाट निको भएर कमब्याक गर्ने योजना बनाइरहेका थिए, तर चोटको उपचार गर्दा उनले सोचेको सहयोग नपाउँदा आफ्नो माइन्ड डाइभर्ट गर्न बाध्य भए । 

नेपालका लागि उमेर समुहबाट खेलेर सिनियर स्तरसम्म पुगेका सागर भन्छन, चोटका बेला मानसिक रुपमा निकै कमजोर हुँदा हौसला दिने आफ्नो टिमकै सिनियर खेलाडी पनि थिएनन् । दुई चार खेलाडीबाहेक कसैले पनि आफुलाई कस्तो छ भनेर एक पटक पनि सोधेनन् । जसका कारण त्यो बेला हरेक रात भावुक हुने अवस्था आएको उनी बताउछन । सन् २०१३ मा एसीसी इमर्जिङ कपमा सिंगापुरविरुद्धको खेलमा डेब्यु गरेका सागर नेपालले पहिलो पटक टी २० विश्वकप खेल्दा सदस्य रहेका थिए । 

क्रिकेटलाई नै करियर बनाएर हिडेका सागरलाई सायदै त्यो बेला थाहा थिएन, एक दिन क्रिकेटबाट टाढा हुनुपर्छ होला भनेर । सागर भन्छन, आफु चोटग्रस्त हुँदा कसैले हौसला दिएको भएर अर्को विकल्प सोच्दिन थिए होला । चोटमुक्त भइरहेका बेला एक जनाले अमेरिकाको सुझाव दिएपनि उनको करियरले नयाँ बाटो समात्यो । अहिले अमेरिकाका स्थाई बासिन्दा भइसकेका सागर त्यो बेलाको कुरालाई सम्झिदा अझैपनि भावुक हुन्छन । 

अमेरिका जाने निधो गर्दा परिवारले पनि उनले भोगेको अवस्थाका कारण नाई भन्न सकेनन् । यतिमात्र होइन, सागर करिव दुई, अढाई बर्ष सामाजिक सञ्जालबाट नै टाढा रहे । उनी अमेरिका आएको कुरापनि परिवार र नजिकका केहि साथीबाहेक क्रिकेट क्षेत्रका धेरैलाई थाहा थिएन । 
अमेरिकाको बाल्टिमोरमा नेप्लेजको टिमले उनलाई भेट्दा उनी आफै अचम्ममा परेका थिए । अमेरिका आएपछि सुरुवातमा यो खेलबाट टाढा नै बस्छु सोचेका सागरलाई फेरी क्रिकेटमा फर्काउने सुझाव यहाँ क्रिकेटमा सक्रिय रुपमा लागेका ब्यक्तिहरुले दिएका थिए । जसका कारण उनी फेरी आफ्नो प्रिय खेललाई निरन्तरता दिने योजनामा छन । 

करिव दुई बर्षपछि उनी ब्याट, प्याड सहित प्रशिक्षणमा पनि जुटेका छन । लामो समय क्रिकेटबाट टाढा हुँदा उनले यो खेललाई निकै मिस गरेका छन रे, त्यसैले अब अमेरिकामा नै स्थानीय प्रतियोगिता खेलेर नेपालमा पनि प्रतियोगिता खेल्ने योजनामा छन सागर ।

अहिलेपनि समय मिलेको खण्डमा नेपाली क्रिकेटमा चासो राख्ने सागर टिमको प्रदर्शनबाट भने त्यति सन्तष्ट छैनन् । उनी भन्छन, खेलाडीमा क्षमता राम्रो भएपनि पहिले जुन तरिकाले टिम भनेर खेलिन्थ्यो, त्यो अहिले नभएको हो की भन्ने आभाष हुने गरेका बताउछन । आफु चोटबाट जुधिरहेका बेला टिमबाट राम्रो सहयोग नपाउँदाको पिडा उनको मनमा अझैपनि छ । उनी भन्छन, यदि आफ्नो ठाउँमा नयाँ खेलाडी भएको भए उसको अवस्था के हुन्थ्यो होला, क्रिकेट मैदानमा जसरी टिम भनेर खेलिन्छ, त्यसरी नै मैदान बाहिरपनि टिमका कुनैपनि सदस्यलाई पर्दा टिम एकजुट हुनुपर्नेमा त्यो नभएको बताउछन । 

सागर अहिले अमेरिकामा केहि दिनदेखि कमब्याक गर्ने योजनाका साथ नियमित प्रशिक्षणमा रहेका छन । उनलाई बाल्टिमोरमा रहेका क्रिकेट प्रेमीले पनि सहयोग गरिरहेका छन । नेपाली टिममा कमब्याक गर्न नसकेपनि फेरी घरेलु भूमीमा प्रतियोगिता खेल्ने सागरको योजना छ । 

भिडियो स्टोरी

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey