एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पाण्डे, सिनियर खेलाडी टिममा फर्किए


-
नेप्लेज
- |
- २०७९-०३-०८
- |
- 612 पटक हेरिएको
अखिल नेपाल फुटबल संघ एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डे नियुक्त भएका छन्।
एन्फामा पंकज विक्रम नेम्वाङ निर्वाचित भएपछि आज पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गरेपछि बसेको कार्यसमितिको बैठकले महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेको हो।
महासचिवमा एन्फाका निवर्तमान केन्द्रीय सदस्य किरण राईलाई नियुक्त गर्दा कोषाध्यक्षमा रविन्द्र जोशीलाई निरन्तरता दिइएको छ। यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा पाण्डेलाई नियुक्त गरिएको हो।
यसअघिको कर्माछिरिङ नेतृत्वको कार्यसमितिले पनि पाण्डेलाई सोही पदमा नियुक्त गरेको थियो। तर २०७६ जेठमा नियुक्त भएको केही समयमै पाण्डेले शेर्पाको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै राजिनामा दिएका थिए।
यसैगरी कार्यसमितिको पहिलो बैठकले २१ औं साधारणसभा सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ। यसैगरी असार १५ गतेसम्म एन्फाको प्रदेश संरचनाको विषयमा जानकारी गराउन सचिवालयलाई निर्देशन इिएको छ।
यस्तै राष्ट्रिय फुटबल टिम छाडेका १० जना खेलाडीलाई टिममा समावेश गर्ने निर्णय गरेको छ। यसैगरी प्रशिक्षकको विषयमा कतार फुटबल संघसँग समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ।
३० दिन भित्र एन्फाको आर्थिक श्वेतपत्र जारी गर्ने निर्णय गरिएको छ भने आवश्यक पद पुर्तिका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि पहिलो बैठकले गरेको छ। यसैगरी बंगलादेशमा हुने दक्षिण एशियाली फुटबल सघ साफको उपाध्यक्षमा एनआरटी क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीलाई उपाध्यक्ष पदमा प्रस्ताव गर्ने निर्णय पनि गरेको छ।