हामी क्रिकेट र फुटबल स्टेडियम बनाउन तयार छौं : एनआरएनए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२५
  • |
  • 4181 पटक हेरिएको

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पोर्टस एकेडेमीले ओलम्पियनहरुलाई सम्मान गरेको छ ।
टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउने खेलाडी तथा खेल पत्रकारहरुलाई एकेडेमीले सम्मान गरेको हो ।

मनोज गोर्खालीको सभापतित्वमा भएको कार्यक्रममा टोकियो ओलम्पिक २०२० मा सहभागि खेलाडीहरुलाई स्पोर्टस एकेडेमीका संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट, सल्लाहकार कुल आचार्य लगाएतले सम्मान गरेका थिए ।

सो अबसरमा टोकियो ओलम्पिक र पारालम्पिकमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो ।
टोकियो २०२० ओलम्पिकमा एथ्लेटिक्सबाट सरस्वती चौधरी, पौडीमा गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार र सोनिया भट्टले सहभागिता जनाएका थिए ।

यसैगरी पारालम्पिकमा पलेसा गोबद्र्धनले सहभागिता जनाएकी थिइन् । यस्तै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ पत्रकार श्याम चित्रकार, निरञ्जन राजबंशी तथा रामजी बगालेलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआरएनएका संरक्षक भवन भट्टले आफूहरुले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न खेलकुद उपयुक्त माध्यम रहेको बताए । उनले भने, ‘हामीले पहिलो पटक यसलाई शुरुवात गरेका थियौं, प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो प्रदर्शन गरेको स्मरण गर्दै आगामी दिनमा पनि यसलाई आउने नेतृत्वले निरन्तरता दिने विश्वास गरेको छु ।’

एनआरएनएका सल्लाहकार कुल आचार्यले एनआरएनए अब खेलकुद पूर्वाधार निर्माणमा केन्द्रित हुन चाहेको बताए । ’पहिले  विदेशमा रहेका नेपाली खेलाडीहरुलाई नेपालमा ल्याएर खेल्ने वातावरण मिलाउनु पर्छ र सँग सँगै पूर्वाधार निर्माणमा पनि जुट्नु पर्छ ।  खेलाडीमा खेल्ने इच्छाशक्ति भएर मात्र हुँदैन, खेल्नका लागि उपयुक्त मैदान अर्थात पूर्वाधार हुन जरुरी छ । हामी फुटबल क्रिकेट र भलिबलका स्टेडियम बनाउनका लागि पनि सहयोग गर्न सक्छौं । त्यसका लागि सरकारले आग्रह गरेमा हामी तयार छौं,’ आचार्यले भने ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एनआरएनएसँग मिलेर  काम गर्न  फुटबल संघ सधैं तयार रहेको जनाए । उनले भने, ‘विगतमा हामी धेरै कुरामा सहमति नजिक पुगेका थियौं, तर कोभिडले हाम्रो सहमति कार्यान्वयन हुन पाएको छैन, अब त्यसलाई कार्यान्वयन गर्नका लागि हामी तयार छौं ।’ एन्फा अध्यक्ष शेर्पाले अहिले नेपाली फुटबल टिममा एनआरएनए खेलाडीहरुले डेब्यु गरिसेकको प्रसङ्ग निकाल्दै आगामी दिनमा अझ धेरै खेलाडीहरु आउने विश्वास व्यक्त गरे ।

एनआरएनए खेलाडीमा मनिष डाँगीले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरिसकेका छन् भने स्यान्सु भुषाल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका थिए ।

एनआरएनए स्पोर्टस एकेडेमीका सदस्य सचिव धर्मराज गिरीले नेपाली खेलकुदमा योगदान गर्न आफूहरु तयार रहेको बताए । फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको जबरजस्त सहभागिता हुने र मेडल पनि धेरै जित्ने उनले दावी गरे ।

संयोजक मनोज गोर्खालीका अनुसार  एनआरएनएले आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्दा १५ खेलाडीले १६ वटा मेडल जितेका थिए । पहिलो पटक भएकाले सामूहिक खेलमा सहभागिता नजनाएको एनआरएनएले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट जस्ता खेलमा पनि सहभागिता जनाउने र उनीहरु राष्ट्रिय टिममा पर्ने हैसियतका खेलाडी रहेको पनि उनले  जिकिर गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey