राष्ट्रिय फुटसल लिगमा प्रभातफेरीको फराकिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०२
  • |
  • 1136 पटक हेरिएको

ए डिभिजन राष्ट्रिय फुटसल लिगमा स्पोर्टस क्यास्टल पोखराले प्रभातफेरी युवा क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

पोखराका लागि सुमित श्रेष्ठ र खिमराज गुरुङले दुई दुई गोल गर्दा विजय गुरुङ, दीपेश घले र किशोर गुरुङले एक एक गोल थपेका थिए ।

पहिलो हाफमा ३ गोल गरेको पोखराले दोस्रो हाफमा ४ गोल थपेको थियो । तेस्रो मिनेटमा सुमित गुरुङको गोलबाट अग्रता लिएको पोखरालाई छैटौं मिनेटमा खिमराज गुरुङले अग्रता दोब्बर बनाएका थिए । सातौं मिनेटमा विजय गुरुङले गोल गरेपछि शुरुमै पोखरा ३–० ले अघि बढेको थियो ।

दोस्रो हाफमा पनि पोखराले उत्कृष्ट खेल प्रदर्शन गर्दै ४ गोल थपेको थियो । 

२१ औं मिनेटमा खिमराज गुरुङले व्यक्तिगत गोल संख्या २ बनाउँदा टिम भने ४–० ले अघि रह्यो । यसैगरी २४ औं मिनेटमा सुमित श्रेष्ठले पनि व्यक्तिगत गोल संख्या २ बनाएका थिए ।

५–० ले अघि रहेको पोखराका लागि २५  औं मिनेटमा दीपेश घलेले टिमका लागि छैटौं गोल गरेका थिए । ३४ औं मिनेटमा किशोर गुरुङले गोल थपेपछि पोखरा ७–० गोलको फराकिलो जित दर्ता गर्न सफल भयो ।

नेपालमा पहिलोपटक आयोजना गरिएको फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका छन् । खेल राउण्ड रोविन प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताले फुटसल खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने एन्फा फुटसल कमिटीका संयोजक रत्नकुमार श्रेष्ठले बताए । 

लिगको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित  खेलाडीलाई पाँच हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey