दिपेन्द्र नखेल्ने भएपछिको दबाव, बलियो देखिएको अमेरीकाविरुद्ध नेपाली टिमको आत्मविश्वास

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२७
  • |
  • 699 पटक हेरिएको

हाइलाइट्स

  • नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरीकासँगको खेल साचेको जस्तो सजिलो नहुने बताएका छन् । 
  • उनले अमेरिकी टिममा पछिल्लो पटक केहि खेलाडी परिवर्तन भएको र टिमले तयारीपनि राम्रो गरेका हुनाले नेपाललाई सजिलो नहुने बताए । 
  •  अंक तालिकाको दोस्रो स्थानमा रहेको टिमसँग खेल्न कठिन हुने बताए ।

आइसीसी विश्वकप क्रिकेट लिग लिग टु अन्तर्गत नेपालले आफ्नो दोस्रो सिरिज आजबाट सुरु गर्दैछ । कोभिडका कारण विचमा तीन वटा सिरिज स्थगित हुँदा नेपाली क्रिकेट टिमले ३६ वटा एकदिवसिय खेलमा पाँचौं खेल खेल्दैछ ।

नेपाललाई लिग टु को शिर्ष तीनमा रहने हो भने यो पटक खेल्ने चार खेल निकै महत्वपुर्ण रहेका छन् । हालसम्म चार खेलमा चार अंक बनाएको नेपालले अंक तालिकाको दोस्रो स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । लिग टु मा अमेरिकाले अहिलेसम्म १२ खेल खेल्दा ६ मा जित र ६ मा हार ब्यहोरेको छ ।

अमेरिका अन्तिम पटक लिग टु का लागि २०२० का फेब्रेवरीमा नेपाल आउँदा र अहिलेको टिममा निकै परिवर्तन भएको छ । त्यो बेला टिममा रहेका केहि खेलाडी अहिलेको टिममा छैनन् । यसका साथै यो पटक टिममा केहि युवा खेलाडीलाई समेटिएको छ भने दुई जनाले पहिलो पटक लिग टु मा डेब्यु गर्दैछन् ।

यसका साथै अमेरिकी टिममा प्रशिक्षक पनि नयाँ रहेका छन् । भारतीय प्रशिक्षकलाई नियुक्त गरेको अमेरिकी क्रिकेट टिमले ओमानको मैदानमा लिग टुको सिरिजमा पहिलो पटक खेल्न लागेको हो । यसअघि ओमानसँगको बाताबरणमा मिल्दोजुल्दो यूएईमा खेल्दा अमेरीकी टिमले चार खेलमा तीन जित निकालेको थियो । तर त्यसपछि अमेरिका नेपालमा आउँदा निकै खराब प्रदर्शन गरेको थियो । उसले ओमान र अमेरिकासँग चारै खेल हारेको थियो ।

त्यसपछि अमेरीकी क्रिकेट बोर्डले टिमको मुख्य प्रशिक्षक देखि केहि खेलाडीलाई परिवर्तन गरेको थियो । अमेरिकी टिममा अहिले तिब्रगतिका बलर र स्पिनरको समिश्रण रहेको छ । ओमानको पिचमा अमेरिकाले पपुवा न्युगिनीसँग दुई मैत्रीपुर्ण खेल खेल्दा दुबैमा फराकिलो अन्तरको जित निकालेको थियो ।

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको खेल साचेको जस्तो सजिलो नहुने बताएका छन् । उनले अमेरीकी टिममा पछिल्लो पटक केहि खेलाडी परिवर्तन भएको र टिमले तयारीपनि राम्रो गरेका हुनाले नेपाललाई सजिलो नहुने बताए । उनले अंक तालिकाको दोस्रो स्थानमा रहेको टिमसँग खेल्न कठिन हुने बताए ।

अन्तिम पटक घरेलु मैदानमा अमेरिकालाई हराउँदा त्यसको मानसिक असर दुबै टिमलाई पर्ने भएपछि अमेरिकी टिम अहिले फरक रहेको र टिमको बलिङमा पनि केहि परिवर्तन आएको नेपाली टिमले पाएको बताए । साथै उनले अहिलेको टिममा अमेरिकाको ब्याटिङमा पनि सुधार भएको पीएनजीसँगको दुई वटा खेलमा देखिएको उनले बताए । 

नेपाली टिमले अमेरिकालाई दबावमा राख्ने हो भने स्पिनर हावी हुनुपर्ने बताए । उनले अमेरिकाविरुद्धको खेलमा ब्यापक परिवर्तन नभएपनि टिमको कम्बिनेसनलाई मिलाउनुपर्ने बताए । 

यसका साथै मल्लले उपकप्तान दिपेन्द्रसिंह ऐरी घाइते हुँदा टिमका लागि केहि दबाव बढेको बताए । ऐरी राम्रो ब्याट्सम्यानमात्र होइन, म्याच फिनिसर रहेको र उनी टिममा नहुँदा पक्कैपनि उनको अभाव खड्किने बताए । 

नेपाली टिममा सन्दिप बाहेकपनि अरु स्पिनर भएकाले पनि अमेरिकालाई त्यो अट्याकबाट दबाव दिन सक्ने अपेक्षा रहेको बताए । उनले आफ्नो प्रदर्शनका विषयमा बोल्दै राम्रो सुरुवात गर्दापनि अन्तिममा सानो गल्तिले आउट हुन पुग्ने र त्यसले आफैलाई पनि कहिले काहि दबाव महसुस हुने गरेको बताए । 

हेरौ ज्ञानेन्द्र मल्लको कुराकानी

 

यो पटक अमेरिकी टिम पुर्ण आत्मविश्वासका साथ ओमान पुगेको छ । करिव डेढ महिना क्याम्प राखेको अमेरिकी टिमका जसकरण मलोत्राले पीएनजीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर नेपालका लागि राम्रो चुनौती दिएका छन् । पाकिस्तान र भारत र वेष्ट इन्डिजका खेलाडीको मिश्रण रहेको अमेरिकी टिमका कप्तान सौरभ नेत्रवाल्करले नेपाललाई सजिलो प्रतिद्धन्द्धी नभएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताएका छन् ।

यता नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले यो सिरिज खेल्न नसक्ने भएपछि टिमलाई ठूलो झट्का लागेको छ । उनको दायाँ खुट्टाको एंकलमा चोट लागेकाले केहि समय उनलाई आराम गर्नुपर्ने भएको छ । नेपाली टिममा मिडिल अडरमा पीएनजीविरुद्ध साझेदारीको कमी देखिदा ऐरी घाइते भएपछि थप दबाब बढेको छ ।

अमेरिकाविरुद्ध खेल्दा नेपालकालागि मुख्य हतियार स्पिनर सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी हुन सक्छन् । सन्दिपले घरेलु मैदानमा अमेरिकालाई ध्वस्त पार्न एक्लैले ६ विकेट लिएका थिए । सन्दिपको बलिङबाट अमेरिकी टिम केहि सजकपनि देखिएको छ । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले पीएनजीसँगको दुई खेलपछि टिमका आत्मविश्वास बढेको, तर पीएनजी भन्दा बलियो टिमविरुद्ध खेल्दा चुनौती हुने धारणा राखेका छन् ।

नेपाल र अमेरिकाले एकदिवसिय मान्यता पाएपछि लिग टु सिरिजमा तेस्रो पटक खेल्न लागेका हुन । नेपालले यसअघि कीर्तिपुर मैदानमा पहिलो खेलमा ३५ रनले जितेको थियो भने दोस्रो खेलमा ८ विकेटले हराएको थियो । नेपाल र अमेरिका ५० ओभरको खेलमा सन् २००८ देखिका प्रतिद्धन्द्धी हुन ।

डिभिजन ५ बाटका प्रतिद्धन्द्धी नेपाल र अमेरिकाले ५० ओभरमा ६ पटक खेलेका छन् । जसमा तीन खेल नेपालले जितेको छ भने अमेरिकाले पनि तीन खेल जितेको छ । नेपाल र अमेरिकाको खेल ओमान क्रिकेट संघको मैदानमा नेपाली समय अनुसार साँझ सवा चार बजेबाट सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey