Mega Bank

काम कम, गफ धेरै गर्ने बानी र एउटालाई भनेर अर्कैलाई पुर्वाधार दिन खोज्दा फ्रिज भएको भलिबलको कर्भडहलको ५० लाख बजेट

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-१५
  • |
  • 511 पटक हेरिएको

हाइलाइट्स


  • समयमा नै काम नहुँदा परिषद्ले अघिल्लो आर्थिक बर्षमा छुट्याएको ५० लाख रुपैयाँ फ्रिज भइसकेको छ भने डिपीआरका लागि फेरी प्रक्रियामा जानुपर्ने अवस्था आएको छ । 

नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको आफ्नो सुविधा सम्पन्न कर्भडहल बनाउने योजनापनि गाउँखाने कथा जस्तो हुन थालेको छ । राष्ट्रिय खेलकुद परिषद्ले नै भलिबलको कर्भडहलका लागि पहल गर्ने भनेको पनि गफैमा मात्र सिमित भएको छ । 

बुढानिलकण्ठ स्कुलले भलिबलका लागि जग्गा दिने भनेर सहमति हुँदा त्यसमा पनि राजनिती भएपछि अहिले सो स्कुलको उपभोत्ता समितीले जग्गा नदिने भन्ने दाउमा पुगेको छ । नेपाल भलिबल संघको बोर्ड बैठकले अध्यक्ष मनोरञ्जनरमण शर्माको संयोजकत्वमा समिति बनाएको थियो ।

उक्त समितिले कर्भडहलको निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर काम गर्ने भनिएको थियो । परिषद्ले भलिबल कर्भडहलको डीपीआरका लागि ५० लाख रुपैयाँ छुट्याएको सदस्य सचिव रमेश कुमार सिलवालले बताएका थिए ।

भलिबल संघले आफ्नो फाइल परिषद् हुँदै गत फागुनमा युवा तथा खेलकुद मन्त्रालयमा गएको थियो । तीन महिनादेखि त्यो फाइल अहिले पनि मन्त्रालयमा नै थन्कियाे । यतिमात्र होइन, जुन जग्गामा भलिबलको कर्भडहल बनाउने भनेर संघले प्रस्ताव गरेर फाइल अगाडि बढेको थियाे, त्यहि ठाँउमा कबड्डीको कर्भडहलका लागि जग्गा उपलब्ध गराउन भनेर परिषद्बाबाट नै पत्र गएको थियाे ।

बुढानिलकण्ठको गुठीको नाममा रहेको जग्गालाई उपलब्ध गराउनका लागि निकै लामाे प्रक्रिया थियाे । गुठीको जग्गा लिनका लागि भूमिसुधारबाट मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पनि अनुमोदन हुनुपर्छ । तर एउटै ठाँउमा २ वटा खेलकाे कभर्डहलका लागि नाम गएपछि त्यहाँकाे उपभाेक्ता समितीले अस्विकार गरेकाे छ । 

यता, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि त्यहाँको जग्गामा मठमन्दिर बनाउन खोजिरहेको र त्यसका लागि त्यहाँको जग्गा खालि गर्न खोजिरहेको छ । समयमा नै काम नहुँदा परिषद्ले अघिल्लो आर्थिक बर्षमा छुट्याएको ५० लाख रुपैयाँ फ्रिज भइसकेको छ भने डिपीआरका लागि फेरी प्रक्रियामा जानुपर्ने अवस्था आएको छ । 

परिषद्ले आफ्नो तर्फबाट काम गरेको बताएपनि उचित चाँसो नदिँदा हुनुपर्ने काम पनि भएन । अब फेरी भलिबल संघले आफ्नो कर्भडहलका लागि फेरी शुन्यबाट नै प्रक्रिया अगाडी बढाउनुपर्ने त होइन भन्ने चिन्ता बढेको छ । 

लामो समयदेखि राष्ट्रिय खेलका हिसाबले आफ्नो कर्भडहल भएको खण्डमा प्रतियोगिता आयोजनाका साथै प्रशिक्षणलाई सजिलो हुने संघको बुझाई थियो । तर जतिगरेपनि काम अगाडी बढ्न नसकेपछि अहिले संघका पदाधिकारी नै वाक्क भएका छन । 

भलिबल संघका अध्यक्षको नयाँ चयनका लागि निर्वाचन हुनुपर्ने समयपनि भइसकेको छ । तर कोभिडका कारण संघले निर्वाचनको मिती तय गर्न सकेको छैन । अहिले म्याद सकिसकेको समितीले नै काम गरिरहेको छ । 

अब नयाँ कार्यसमिती आउँदा आफ्नो कर्भडहल निर्माणको एजेन्डालाई कसरी गम्भिर रुपमा लिन्छ भन्ने पनि ठूलो प्रश्न छ । लामो समय देखि विभिन्न स्थानमा कर्भडहलका लागि जग्गा खोजि गर्दा बुढानिलकण्ठ स्कुलसँग कुरा मिलेको थियो ।

जसमा भलिबलका कार्यक्रम हुँदा सो कर्भडहल संघले प्रयोग गर्ने र अरु बेला स्कुलले पनि प्रयोग गर्न पाउने भन्ने भद्र सहमति भएको थियो । तर अहिलेको अवस्थामा भलिबले आफ्नो कर्भडहल बनाउनका लागि बर्षो नै लाग्ने त होइन भन्ने प्रश्न खडा भएको छ । 

 

भर्खरै

Advertisement