आईसीसीको बैठकमा नेपाल एजेन्डामै परेन, पूर्ण फुकुवाका लागि अझैं कम्तिमा ३ महिना कुर्नुपर्ने
- नेप्लेज
- |
- २०७८-०४-०३
- |
- 951 पटक हेरिएको
हाइलाइट्स
- अब अक्टोबरको अन्तिममा हुने बोर्ड बैठकले नेपालको एजेन्डालाई अगाडी बढाउने अपेक्षा गरिएको छ । त्यो बेलासम्म क्यानले पनि पहल गर्ने बताइएको छ ।
- आईसीसीको बैठकमा नेपालबाट क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भाग लिएका थिए । तर नेपालको एजेन्डा नपरेकाले उनलाई आफ्नो कुरा राख्ने मौका पनि दिइएको थिएन ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघको आंशिक निलम्बनको फुकुवा यसपटकलाई थाती राखेको छ । आईसीसीको आइतबार बसेको बैठकले नेपालको निलम्बन फुकुवाको एजेन्डा पर्न सकेन । जसका कारण क्यानको आंशिक निलम्बन फुकुवाका लागि केहि महिना कुर्नुपर्ने भएको छ ।
आईसीसीको आजको बैठकमा तीन देशलाई नयाँ सदस्यता दिने र अरु विकाशका विषयमा छलफल भएको थियो । तर नेपालको निलम्बन पुर्ण रुपमा फुकुवाका लागि एजेन्डा नै बनेन ।
अब आईसीसीका अक्टोबरको अन्तिम र नोभेम्बरका पहिलो साता बस्ने बोर्ड बैठकले नेपालको निलम्बनलाई पुर्ण फुकुवा गर्ने अपेक्षा रहेको छ । आईसीसीको आर्थिक कमिटी र विकाश समितीको पहलमा बोर्डमा एजेन्डा जानुपर्ने थियो । तर यसपटक नेपालको निलम्बन फुकुवाको एजेन्डालाई उनीहरुले प्राथमिकतामा राखेनन् ।
अब अक्टोबरको अन्तिममा हुने बोर्ड बैठकले नेपालको एजेन्डालाई अगाडी बढाउने अपेक्षा गरिएको छ । त्यो बेलासम्म क्यानले पनि पहल गर्ने बताइएको छ । आईसीसीको बैठकमा नेपालबाट क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भाग लिएका थिए । तर नेपालको एजेन्डा नपरेकाले उनलाई आफ्नो कुरा राख्ने मौका पनि दिइएको थिएन ।
चन्दले बोल्नका लागि अनलाईनबाट भएको बैठकमा समय मागेपनि दिइएन । सबै संघले पेपरबाट नै आफ्नो प्रस्ताव गरेकालेपनि कमैलाई मात्र बोल्न दिइएको थियो ।
२०७६ सालमा असोजमा क्यानको नयाँ कार्यसमिती आएपछि त्यसको करिव तीन महिनापछि आईसीसीले क्यानलाई शसर्त फुकुवा गरेको थियो । जसमा आईसीसीले क्यानलाई तीन वटा मुख्य सर्त राखेको थियो । त्यसमा क्यानले पुर्ण रुपमा काम नगरेको होकी भन्ने आशंका देखिएको छ ।
अहिले क्यान आईसीसीबाट आउने सहयोगमा नियन्त्रित बजेटमा चलिरहेको छ । अझैपनि क्यान आर्थिक रुपमा सबल हुन सकेको छैन । खेलाडी, कर्मचारी लगायतको खर्च आईसीसीकै भर पर्नुपरेको छ । जसका कारण खेलाडीले समयमा तलव नपाएको गुनासो आइनै रहेको छ ।
यो विचमा क्यानले आर्थिक नियमावली पारित गरेपनि त्यसलाई आईसीसीमा पठाउन ढिलाई गरेको बताइएको छ । यस्तै नयाँ कर्मचारीको टिओआर बनाउनपनि ढिलाई गरेको थियो ।
क्यानले आईसीसीको निर्देशनमा जनरल म्यानेजर, क्रिकेट म्यानेजर, फाइनान्स म्यानेजर नियुक्त गरेपनि उनीहरुको टिओआर भने बनाउन ढिलाई गरेको थियो । जसका कारणपनि उनीहरुले नियुक्ति पाएको ६ महिनासम्म तलव पाउन सकेका थिएनन् ।
अब नेपाली क्रिकेटको निलम्बन पुर्ण फुकुवाका लागि फेरी कम्तिमा तीन महिना कुर्नुपर्ने भएको छ ।