हेटौंडा उपमहानगरपालिकाको बजेट गत बर्ष भन्दा खेल क्षेत्रमा दोब्बर 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१८
  • |
  • 1299 पटक हेरिएको

दीक्षान्स खड्का  । आगामी आर्थिक वर्ष २०७८/०७९ मा हेटौंडा उपमहानगरपालिकाले खेल क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ बजेट कार्यक्रम ल्याएको छ । हेटौंडाकी उपप्रमुख मिना कुमारी लामाले पेश गरेको बजेट कार्यक्रममा खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ राखिएको छ ।

आगामी आवका लागि प्रस्तुत बजेटको नीति तथा कार्यक्रममा हेटौंडा नगरीलाई खेलकुद नगरीको रुपमा विकास गरी खेल क्षेत्रलाई प्रोत्साहित गरिने भन्दै सामाजिक विकास अन्तर्गत खेलकुद तथा मनोरन्जन तर्फ झन्डै पौने ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

उपमहानगरले सार्वजनिक गरेको २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको कुल बजेटमा नगर खेलकुद विकास समितिलाई पूर्ण रुपमा सक्रिय बनाई नगरपालिका क्षेत्रभित्र खेलकुदका कार्यक्रम संचालन गर्न तथा खेलकुद पूर्वाधार निर्माणको लागि भन्दै ३ करोड ७२ लाख ८० हजार बजेट छुट्याएको छ ।

No description available.

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले नगरमा संचालन हुने र गरिने खेलकुृद कार्यक्रममा समन्वयकारी भूमिका प्रदान गरिने जनाएको छ । 

राष्ट्रपति रनिङशिल्ड स्थानिय स्तरको छनोट प्रतियोगिता, मेयरकप फुटबल प्रतियोगिता, सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, हेटौंडा रन लगायतका कार्यक्रमलाई बजेट सहित निरन्तरता दिईने बजेट कार्यक्रममा उल्लेख छ । 
यसैगरी नगर क्षेत्रभित्र विभिन्न खेलको तालिम संचालन गर्न प्रशिक्षक नियुक्ति गरी तालिम संचालन गरिने कार्यक्रमलाई समेत मुख्य योजनाको रुपमा अगाडि बढाएको छ ।

खेलकुदका लागि छुट्याइएको बजेट रकममध्ये केही खेलकुदका क्षेत्रका लागि समेत बजेट निर्धारण गरिएको छ । जसअन्तर्गत हेटौंडा–१७ मा फुटसल निर्माणका लागि १ करोड १० लाख रुपैयाँ बजेट निश्चित गरिएको छ ।

उपमहानगरपालिकाले चालु आवमा ४५ लाख रुपैयाँ बजेट प्रदान गरेको क्याम्पाचौर मिनि रंगशालामा प्याराफिट निर्माणका लागि थप ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यसैगरी हुप्रचौरमा भलिबल प्याराफिट निर्माणको लागि २५ लाख रुपैयाँ तथा नगर क्षेत्रमा खेल मैदान पूर्वाधार निर्माणको लागि १५ लाख रुपैयाँ बजेट निर्धारण गरिएको छ ।

जिल्लाकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिताको रुपमा रहेको सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हेटौंडा गोल्डकप संचालनका लागि हेटौंडा उपमहानगरपालिकाले मात्र २५ लाख रुपैयाँ बजेट प्रदान गर्ने भएको छ । यस्तै हेटौंडामै नेशनल फुटबल एकेडेमी संचालन सहकार्यका लागि २५ लाख रुपैयाँ, मेयरकप फुटबल प्रतियोगिता संचालन गर्न १३ लाख रुपैयाँ तथा विभिन्न खेल प्रतियोगिता आयोजना सहकार्यका लागि २७ लाख ५० हजार रुपैयाँ बजेट निश्चित गरिएको छ ।

No description available.

बिनियोजित बजेटबाट विभिन्न युवा क्लब खेल सामाग्री सहयोग, खेल प्रतियोगितामा सहभागिता, खेलाडी सम्मान तथा पुरस्कार, नगर खेलकुद विकास समिति व्यवस्थापन, महिला भलिबल प्रतियोगिता, वडा स्तरिय खेलकुद कार्यक्रम सहकार्य, महिला खेल महोत्सव, भेट्रान्स क्लब सहयोग लगायतका कार्यक्रमहरु आयोजना गर्ने पनि उपमहानगरपालिकाकी उपप्रमुख लामाले पेश गर्नुभएको बजेट कार्यक्रममा प्राथमिकताका साथ राखिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आवका लागि खेलकुदलाई प्रदान गरेको बजेटले हेटौंडाको खेल क्षेत्रमा कायापलट हुने नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष चन्द्र शाहीले बताए । चालु आवमा भन्दा २ गुणा बढी बजेट खेल क्षेत्रलाई छुट्याउनु सम्पुर्ण खेलाडीहरुका लागि खुसीको कुरा भएको उनको भनाई छ । उपमहानगरले प्रदान गरेको बजेटले हेटौंडाको खेल क्षेत्रमा उल्लेख्य विकास हुने भन्दै हेटौंडाको बजेट कार्यक्रम स्वागत योग्य रहेको शाहीले बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal