क्रिकेट टिमको नयाँ जर्सी डिजाइनमा क्यानले पुरुषको मात्र भनेपछि उब्जिएका प्रश्नहरु !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 878 पटक हेरिएको

नेपालमा आयोजना भएको त्रिकोणात्मक टी २० क्रिकेट सिरिज भन्दा केहि दिन अगाडी अप्रिल १२ तारिखमा नेपाली पुरुष राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरियो । त्यो भन्दा अगाडि प्रयोग गरिएको जर्सी भन्दा निकै फरक रहेको सो जर्सीलाई एड प्याड एजेन्सिनले सार्वजनिक गरेको थियो । क्यानले १५ महिनाका लागि एड प्याडलाई प्रायोजक खोज्ने जिम्मा दिएको थियो । तर जर्सी नै परिवर्तन भएर आएपछि समर्थक र क्रिकेट पदाधिकारीले ठूलो आलोचना गरे । त्यो बेला मुखैमा त्रिकोणात्मक टी २० सिरिज रहेकाले सोहि जर्सीलाई प्रयोग गरियो । उक्त सिरिज नेपालले जितेकाले केही हदसम्म जर्सीकाे विषय उठ्न छाडेकाे थियाे ।

तर, दुई महिनापछि सोमबार एकाएक राष्ट्रिय टिमको जर्सीको डिजाइन खुल्ला प्रतिस्पर्धाबाट गरिने र त्यसका लागि आईसीसी र एसीसीको नियम पालना भएको र नेपालको झण्डामा प्रयोग हुने रातो र निलो रंगको प्रयोग गर्नुपर्ने भनेर एक विज्ञप्ति निकालियो । सुरुवातमा एड प्याडले आफ्नो तर्फबाट विज्ञप्ति जारी गरेर नयाँ जर्सी खुल्ला प्रतिस्पर्धाबाट गर्ने भनेर क्यानसँग छलफल भएको भनेर विज्ञप्ति निकाल्यो ।

त्यो विज्ञप्ति आएको करिव तीन घण्टापछि क्यानले आधिकारिक रुपमा जर्सीलाई फेरि डिजाइन गर्ने भन्दै विज्ञप्ति सार्वजनिक गर्‍याे । तर अचम्मको कुरा क्यानले निकालेको विज्ञप्तिमा सुरुवातमा नै राष्ट्रिय पुरुष टिमको भनेर किटानी नै गरेर विज्ञेप्ती निकालिएकाे छ । यतिमात्र होइन, क्यानको विज्ञेप्तिमा आफ्नो भन्दा अगाडि क्यानको नाममा अन्यत्र जर्सी डिजाइन सम्बन्धी आएको सूचनाहरु आधिकारीक नभएको भन्दै खण्डन गरेको देखियो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले हस्ताक्षर गरेको सो विज्ञप्तिमा जे कुरा लेखिएको थियो, त्यसको पछाडि ठूलो प्रश्न खडा गरेको छ । के क्यानले पुरुष खेलाडीको लागि मात्र जर्सी डिजाइनका लागि आह्वान गरेकाे हाे या महिला र उमेर समुहका खेलाडीका लागि पनि हुने हो भन्ने प्रश्न खडा गरेको छ ।

हेराैं क्यानले निकालेकाे विज्ञप्ति ।

क्यानको विज्ञप्तिमा पुरुष टिमको जर्सी मात्र भनेका कारण के महिला र उमेर समूहका खेलाडीलाई फेरि नयाँ जर्सी बनाइने हो भन्ने प्रश्न उब्जिएको छ । अन्तराष्ट्रिय मान्यता हेर्ने हो भने पुरुष, महिला र उमेर समूहका खेलाडीको जर्सीको डिजाइन एउटै  हुनेगर्छ । त्यसमा प्रायोजकहरु फरक फरक हुन सक्छन् । तर अहिले क्यानले पुरुष टिमको भनेर किटान गरेरै सूचना जारी गरेपछि आखिर महिला खेलाडी र यू १९ खेलाडीका लागि कस्तो जर्सी बनाइने हो या त्यो फरक हुन्छ भन्ने कौतुहलता बढेको छ ।

यतिमात्र होइन, क्यानले आफ्नो विज्ञप्ती जारि गर्नु भन्दा अगाडि एड प्याडबाट आएको विज्ञप्तिलाईसमेत आधिकारीक नभएको भन्ने कुराकाे आशय बुझिन्छ । जसले गर्दा फेरि आशंका गर्ने ठाउँ दिएकाे छ ।

एड प्याडले आफ्नो विज्ञप्तिमा क्यानसँग छलफल गरेर सूचना जारी गरेकाे उल्लेख छ । तर, क्यानले भने आफ्नो बाहेक अरुको अनाधिकृत रहेको भन्ने कुराले आन्तरिक रुपमा केहि टसल शुरु भएको त छैन भन्ने आंशका गर्ने ठाँउ बनाएको छ ।

पहिलो पटक एड प्याडले नयाँ जर्सी सार्वजनिक गर्दा क्यानले कुन आधारमा जर्सीको डिजाइनको जिम्मा दियो भन्ने ठूलो प्रश्न खडा गरेको थियो । अहिले फेरि जर्सीको खुल्ला डिजाइनको एजेन्डाले नयाँ मोड लिने देखिएको छ ।

खुल्ला छनौटबाट जर्सी छान्दा क्यानको तर्फबाट दुई जना र एडप्याडबाट एक जना समितिमा बस्ने भनिएको छ । नेपाली पुरुष टिमको जर्सीको मुख्य प्रायोजक माई सेकेण्ड टिचर रहेको छ ।

क्यानले महिला खेलाडी खेलाडीको जर्सीका लागि भने के गर्छ भन्ने केहि धारणा राखेको छैन । के महिला र यू १९ टिमको जर्सी अर्को डिजाइन हुने वा यहि प्रयोग गरिने हो भन्ने प्रष्ट हुन जरुरी छैन र ?

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal