खेलकुदको बजेट १ अर्ब ७९ करोड, भलिबललाई छुट्याइयो ३ करोड

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 1180 पटक हेरिएको

सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि खेलकुद तर्फ १ अर्ब ७९ करोड ३८ लाख रुपैयाँ छुट्याएको छ ।

गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गरेपछि अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब, ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी भएको आउँदो आर्थिक बर्षको बजेटमा युवा तथा खेलकुदमन्त्रालय तर्फ २ अब ७४ करोड रुपैयाँ विनियोजन भएको थियो ।

तर, युवातर्फको बाहेक खेलकुद तर्फको बजेट भने १ अर्ब ७९ करोड ३८ लाख रुपैयाँ रहेको छ । जसमा कर्मचारीको तलब भत्ताका लागि ७४ करोड रुपैयाँ छुट्याइएको छ ।

यसैगरी खेलकुदका विभिन्न कार्यक्रमका लागि २५ करोड विनियोजन भएको पनि अर्थमन्त्रालय स्रोतले जनाएको छ । सरकारले बजेट सार्वजनिक गरे पनि कुन योजनामा कति बजेट विनियोजन भएको भन्ने बारे अझै पूर्णरुपमा सार्वजनिक भएको छैन ।

अर्थमन्त्रालय स्रोतका अनुसार देशभरका केन्द्रीय योजना अनुसार पूर्वाधार विकासका लागि ५२ करोड रुपैयाँ विनियोजन भएको छ ।

नयाँ कार्यक्रम अन्तर्गत फुटबल र भलिबलमा सरकारले अहिले बजेट विनियोजन गरेको छ । यसैगरी झापामा निर्माण गर्ने भनिएको मदनभण्डारी रंगशाला (बाघखोर) का लागि १० करोड विनियोजन भएको पनि मन्त्रालय स्रोतले जनायो ।

राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको मूलपानी क्रिकेट स्टेडियमका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ भने पोखरा रंगशालाको फ्लर्ड लाइट जडानका लागि ६ करोड छुट्याएको छ । यसैगरी नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि भने २० लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै फुटबलको वडादेखि केन्द्रसम्मको प्रतियोगिताका लागि सरकारले ३ करोड ९९ लाख ३ सय ६८ रुपैयाँ विनियोजन गरेकाे छ । फुटबलको विकासका लागि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका लागि यो बजेट खर्च हुने छ ।

यसैगरी नेपालको राष्ट्रिय खेल भलिबलका लागि ३ करोड विनियोजन गरेको छ । नेपालको राष्ट्रिय खेलको रुपमा दर्ज भए पनि भलिबले विगतमा एकदमै न्यून मात्रामा बजेट पाउने गरेको थियो ।

यस पटक प्रतियोगिता आयोजना गर्नका लागि २ करोड बजेट दिइएको छ भने कर्भडहल निर्माणका लागि १ करोड विनियोजन भएको छ । नेपालको राष्ट्रिय खेल भइकन पनि भलिबलको अहिलेसम्म आफ्नै भौतिक पूर्वाधार बनेको छैन ।

पूर्वाधार निर्माणका लागि राखेपको पहलमा विभिन्न ठाउँमा जग्गा हेर्ने काम भए पनि अन्तिम निर्णय भने भइसकेको छैन । नेपालका हरेक स्थानमा खेल्न सकिने भलिबलको क्रेज बढ्दो अवस्थामा रहेको छ भने नेपाली महिला टिमले बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो ।

नेपालमै भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा भारतसँग पराजित भएपछि रजत पदकमा चित्त बुझाएको थियो ।

भलिबलको प्रतियोगिताका लागि छुट्याइएको २ करोड वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका लागि रहेको छ ।
स्थानीय तह एक खेल ग्रामका लागि २५ करोड विनियोजन भएको छ । यो पुरानै कार्यक्रम पनि हो ।

शुरुमा ८४ स्थानीय तहमा यो कार्यक्रम शुरु भको थियो । चालु आर्थिक बर्षमा १६० स्थानीय तहमा कार्यक्रम जारी छ । अर्को बर्षका लागि निर्देशिका अनुसार २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, पदक विजेता खेलाडीहरुलाई दिइने भत्ता पनि बजेटमा समावेश भएर आएको अर्थमन्त्रालयले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey