यी हुन् युरो-२०२० का प्रभावशाली ५ युवा खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 560 पटक हेरिएको

सुगत पराजुली

सुगत पराजुली

‘रोम वाज नट विउल्ट इन अ डे’ अर्थात् रोम केवल एक दिनमा बनेको शहर होइन, भनिन्छ । त्यस्तै फुटबल पनि एक दिनको इतिहासमा बनेको होइन । संयुक्त अधिराज्यबाट सुरु भएको फुटबल दोस्रो विश्वयुद्धसम्म उसले उपनिवेश बनाएका र नबनाएकासमेत गरी विश्वभर फैलिने अवसर पायो ।

दक्षिण अमेरिकी मुलुकहरुमा त झन् यो खेल निकै फस्टायो । युरोपका उपनिवेश ब्राजिल, अर्जेन्टिना लगायतका देशहरु आजको फुटबलका महारथी हुन् ।

अपबादबाहेक यस्ता देशहरुले युवा खेलाडीको सामर्थ्य र भविश्य चिनेर किशोर उमेरमै राष्ट्रिय टोलीमा राख्ने गर्छन् । वायने रुनी, म्याराडोना, रोनाल्डो, माइकल ओवेन, लियोनल मेस्सीजस्ता प्रतिभाले २० वर्षभन्दा कम उमेरमै सिनियर टोलीमा स्थान पाएका थिए । जो पछि आआफ्नो देशका लागि महान बने । केहि त विश्व फुटबलकै सर्वकालीन महान कहलिए ।

युरोप फुटबलको जननी हो । त्यहाँ शुक्रबारदेखि युरोपियन च्याम्पियनसिप सुरु हुँदैछ । युरोपका उत्कृष्ट २४ टोलीबीचको प्रतिस्पर्धालाई ‘मिनी विश्वकप’समेत भनिन्छ । हामीले युरो खेल्न लागेका २३ वर्षमूनि उमेरसमूहका केहि प्रतिभाबारे चर्चा गर्न लागेका छौं ।

फिल फोडेन, इंग्ल्याण्ड

फुटबलको जन्मदाता बेलायतका प्रभावशाली मिडफिल्डर हुन्, फोडेन । २१ वर्षीय यी मिडफल्डर प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्छन् । दायाँ खुट्टामा कलात्मक जादु बोकेका फोडेन यो सिजन क्लबमा निकै चम्किए, त्यसैले त पेप ग्वार्डिओलाको मुख्य हतियार बने । उनी बहुप्रतिभाशाली पनि छन् । अर्थात् राइट विङ, लेफ्ट विङ, एट्याकिङ मिडफिल्ड जुनसुकै पोजिसनलाई पनि न्याय गर्न सक्छन् । प्रिमियर लिगमा यो सिजन उत्कृष्ट युवा खेलाडी बनेका उनलाई ग्यारेथ साउथगेटले मुख्य हतियार बनाउने पक्कापक्की छ । म्यानचेस्टर सिटीको एकेडेमीमा हुर्किएका उनलाई ग्वार्डिओलाले मेस्सीसँग तुलना गरेका छन् ।

फेडेरिको चियसा, इटली

इटलीका प्रभावशाली मिडफिल्डर फेडेरिको चियसा यसपल्ट गोल्डेन बुटका उच्च दावेदार हुन् । टिमको मुख्य खेलाडीका रुपमा उनलाई अग्रपंक्तिमा किरो इम्मोविल र लोरेन्जे इन्सिगेनले साथ दिनेछन् ।

चियसा इटलीका पूर्व स्ट्राइकर आनरिकोका छोरा हुन् । बुबाले राष्ट्रिय टोलीबाट डेब्यू गरेको २५ वर्षपछि छोराले युरो खेल्दैछन् । यो सिजन युभेन्टसबाट पर्याप्त अवसर नपाए पनि पाएका अवसरमा अब्बल सावित भएका थिए– चियसा । राइट विङबाट खेल्ने उनी इटलीको सुरुआती टिममा पर्ने पक्का छ ।

रुवेन डियास, पोर्चुगल

धेरै कम खेलाडी २३ वर्षको उमेरमै उत्कृष्ट बन्छन् । तीमध्ये एक हुन्, डियास । बेनफिकाबाट ६८ मिलियन युरोमा म्यानचेस्टर सिटी पुगेका डियासको आगमनसँगै सिटीको रक्षापंक्तिले पुनर्जीवन पायो । उनको उपस्थितिले सिटीले रक्षापंक्तिमा धेरै मिहिनेत गर्नुपरेन । पेप ग्वार्डिओलाका विश्वासप्राप्त खेलाडी हुन् उनी । युरोका साविक विजेता पोर्चुगलका उपाधि रक्षा अभियानमा डियास टिमको पर्खाल बन्नुपर्नेछ ।

काइ हाभेर्डज्, जर्मनी

यो सिजन च्याम्पियन्स लिग चेल्सीले जित्दा निर्णायक गोलकर्ता हुन् २२ वर्षीय हाभेर्डज् । उनी चेल्सीको क्लब इतिहासका सबैभन्दा महंगा खेलाडी हुन् । चेल्सी जानुअघि नै उनले बायर लिभरकसेनबाट आफूलाई प्रमाणित गरिसकेका थिए । उनी विश्व फुटबलकै उम्दा खेलाडीका रुपमा अगाडि बढिरहेका छन् । यही युरोदेखि १७ वर्ष लामो प्रशिक्षण करिअर अन्त्य गर्न लागेका जोचिम लोका लागि उनी मुख्य हतियार बन्नेछन् । हाभेर्डज्लाई अग्रपंक्तिमा थोमस मुलर र सेर्गे गेनाव्रीजस्ता अनुभवी स्टारहरुको साथ रहनेछ ।

पेड्री, स्पेन

पेड्री स्पेनिस महारथी बार्सिलोनाका प्रतिभा हुन् । उनी बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गर्ने मेस्सीपछिका कान्छा खेलाडी हुन् । ला पाल्मासबाट ४ मिलियन युरोको सस्तै मूल्यमा अनुबन्ध भएका उनी आफ्नो पोजिसनबाट उत्कृष्ट युवा खेलाडीको पहिचान पाइसकेका छन् । फुटबलका जानकार तथ समर्थकले उनलाई आन्द्रेस इनिएस्टासँग तुलना गर्न थालिसकेका छन् । हुन पनि पेड्रीको खेल शैली र बल उपलब्ध गराउने क्षमता इनिएस्टाको भन्दा कम छैन । उनी यसपल्टको युरोमा लुइस इनरिकेको स्पेनको मध्यक्षेत्रमा विपक्षीका लागि टाउको दुखाई बन्ने निश्चित छ ।

युरो च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । माथि उल्लेख गरिएका मध्येका खेलाडीले आगामी दिनमा विश्व फुटबलमा राज गर्ने निश्चित छ । क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, म्याराडोना, पेले, जिनेदिन जिदान, योहान क्रुएफजस्तै ऐतिहासिक खेलाडी बन्ने सम्भावना बोकेका युवा हस्तीहरु यसपल्ट देख्न पाइनेछ ।

फुटबलमा कहिलेकाहीँ अजीव इतिहास आइलाग्छन् । सन् १९९० को विश्वकपमा स्याल्भास्टर लिचेसीले इटलीको टिमबाट यस्तै इतिहास रचे । आफ्नो पोजिसनका अन्य खेलाडी घाइते भएपछि दोस्रो खेलदेखि सब्स्टिच्युडका रुपमा अवसर पाएका उनी गोल्डेन बुट लिएर स्वदेश फर्किए । समयअनुकुल नतिजा निस्किएमा के दावी गर्न सकिन्छ भने भविश्यमा फिफा वर्ष खेलाडी र वेलोन डी ओरका दावेदारहरु यिनै युवा खेलाडी हुन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey