क्यानको नयाँ आर्थिक कार्यविधीः खेलाडीलाई फाइदा, पेश्की लिएर फर्स्यौट नगर्नेलाई कारवाही

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 798 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले दुई दशकमा पहिलो पटक आर्थिक कार्यविधी परिमार्जन गरेर नयाँ बनाएको छ । सन् २००१ मा बनाएको आर्थिक नियमावलीलाई परिमार्जन गरेर २०७७ मा आधारीत भएर नयाँ कार्यविधी तयार पारेको छ । बर्षोबाट आर्थिक नियमावली बनाउने भनेर बारम्बार कुरा हुँदापनि त्यतिकै थाती राखेको क्यानले लामो प्रयासपछि मंगलबार बसेको बैठकले नयाँ कार्यविधीलाई पारित गरेको हो ।

आर्थिक समितीका संयोजक र तथा कोषाध्यक्ष रोशनकुमार सिंह, सदस्य माधव कर्माचार्य र दुर्गाराज पाठकले लामो समयको प्रयासपछि नयाँ आर्थिक नियमावली र कार्यविधीलाई अनुमोदन गर्न सफल भए । यसअघि क्यानमा टंक पनेरु देखि राजाबाबु श्रेष्ठ कोषाध्यक्ष हुँदासम्म आर्थिक नियमावलीलाई परिमार्जनका लागि खासै चाँसो देखिएको थिएन ।

यसपटक पुरानो आर्थिक नियमावलीमा बसेर काम गर्न कठिन हुने भन्दै नयाँ कार्यसमिती आएदेखि नै यसलाई परिमार्जन गर्ने कुरा उठेको थियो । तर त्यसलाई अनुमोदन गर्नपनि दुई बर्ष भन्दा बढिको समय लागेको छ ।

आर्थिक कार्यविधी तथा नियमावलीमा यसअघि समावेश नभएको केहि पक्षहरुलाई समावेश गरिएको छ । नयाँ कार्यविधीले खेलाडीका लागि भने सुखद भएको छ ।

के के छ त क्यानको नयाँ आर्थिक कार्यविधीमा

भ्रमण भत्ता, दैनिक भत्ता तथा बैठक भत्ता सम्बन्धी व्यवस्था 

स्वीकृत कार्यक्रम अनुसार संघको काममा स्वदेश वा विदेशमा भ्रमण वा काजमा पदाधिकारी सदस्य, खेलाडी, कर्मचारी वा अन्य व्यक्तिलाई अध्यक्षले भ्रमण आदेश दिन सक्छन्, तर निरन्तर एक महिनाभन्दा बढी अवधिको विदेश भ्रमणको लागि कार्यसमितिबाट अनिवार्यरुपमा अनुमोदन गर्नुपर्ने छ ।

क्रिकेट संघको काममा अध्यक्ष आफै स्वदेश वा विदेशमा भ्रमण गर्नु परेमा निज आफैले भ्रमणको व्यवस्था मिलाउन सक्नेछन् । केन्द्रीय पदाधिकारीहरु, प्रदेश, जिल्ला का पदाधिकारीलाई अध्यक्ष वा अध्यक्षले अधिकार प्रत्यायोजन गरेको व्यक्ति वा अध्यक्षको निर्देशनमा सचिवले तथा कर्मचारीलाई अध्यक्षको निर्देशनमा महाप्रबन्धकले भ्रमणमा खटाउन सक्नेछन् । भ्रमण खटाउने अधिकारीले भ्रमण आदेश भर्नुपर्नेछ ।

क्रिकेट संघको काममा भ्रमणमा खटाउँदा क्रिकेट संघबाट तोकिएको फारममा आदेश भरी दिनुका साथै छिटो छरितो हुने गरि यथासम्भव कम खर्चिलो बाटो वा साधनबाट गर्ने, खर्चको फाँटवारी बुझाउने तरिका समेत सो भ्रमण आदेशमा तोकिदिने कर्तव्य भ्रमणमा खटाउने पदाधिकारीको हुने छ ।

भैपरी वा अन्य मनासि माफिकको कुनै कारणबाट भ्रमण लम्बिन गएमा त्यसको कारणहरु स्पष्ट खुलाई भ्रमणमा खटाउने पदाधिकारीलाई सूचना गर्नुपर्ने छ । भ्रमणमा खटाउने पदाधिकारी पनि बुझी कारण मनासिव ठहराई प्रमाणित गरेमा हिसाब जाँच्ने पदाधिकारीले (प्रमुख वित्तीय अधिकारी) खर्च स्वीकृति दिनेतर्फ कारबाही गर्ने छ । यसैगरी बैठक भत्ता दैनिक भत्ता पाउने व्यवस्था पनि गरिएको छ ।

दैनिक तथा भ्रमण खर्च, बैठक भत्ता

नेपाल क्रिकेट संघको कार्यसमितिको बैठकमा स्थानीय बाहेक बाहिरी जिल्लाबाट सहभागी हुने केन्द्रीय पदाधिकारीहरु सदस्यहरुलाई (बैठक हुनु भन्दा एक दिन अगाडि र एक दिन पछिसम्मको ) दैनिक भ्रमण भत्ता (बसोबास तथा खाना खर्च बापत ) केन्द्रीय अध्यक्षलाई ५ हजार, केन्द्रीय पदाधिकारीहरु पूर्व अध्यक्षलाई ४ हजार केन्द्रीय सदस्य र प्रदेश अध्यक्ष र पूर्व केन्द्रीय पदाधिकारीहरुलाई ३ हजार र प्रदेश तथा जिल्लाका पदाधिकारी र सदस्य र पूर्व केन्द्रीय सदस्यलाई २५ सय र भ्रमण भत्ता बापत सुविधाजनक बस भाडा वा हवाई भाडा उपलव्ध गराइने छ । केन्द्रीय कार्यसमितिको बैठकका लागि बैठक भत्ता बापत दैनिक रु ५ हजार (करसमेत) उपलब्ध गराइने छ । कार्यसमितिको बैठकका दिनको भत्ता बाहेक अन्य कुनै भत्ता पाउने छैनन् । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई हवाई भाडा उपलब्ध गराइने छ ।

नेपाल क्रिकेट संघको साधारसभा तथा संघको अन्य कार्यक्रममा सहभागी हुन आउने (विकट जिल्लाहरु) बाहेक केन्द्रीय, प्रदेश, जिल्ला पदाधिकारी र सदस्यहरुलाई (बैठक हुनु भन्दा एक दिन अगाडि र एक दिन पछाडिसम्मको) दैनिक (बसोबास तथा खाना खर्च बापत २५ सय र भ्रमण भत्ता वापत बस भाडा उपलब्ध गराइने छ ।

नेपाल क्रिकेट संघको साधारसभामा उपस्थित हुने सदस्यहरुलाई बैठक भरि एकमुष्ठ रुपमा बैठक भत्ता बापत ५ हजार दिइने छ र अन्य सुविधा दिइने छैन ।

जिल्लाहरुमा हुने कुनै पनि कार्यक्रमहरुमा प्रमुख अतिथि तथा विशिष्ठ अतिथिको रुपमा सहभागी हुन जाने केन्द्रीय पदाधिकारीहरुको संघबाट उक्त कार्यक्रममा जिल्ला जानको लागि मनोनयनपत्रकधा साथ भ्रमण आदेश सिफारिसको अधारमा भ्रमण भत्ता आर्थिक कार्यविधिले तोके बमोजित हुने छ । तर अध्यक्ष वा अध्यक्षको भ्रमण टोलीको हकमा मनोनयनपत्र भ्रमण आदेश र सिफारिस आवश्यक नपर्ने तर विल भर्पाई अनुसार भुक्तानी गरिने छ ।

क्रिकेट सम्बन्धी अन्तर्राष्ट्रिय बैठक, सेमिनार, गोष्ठी, सभा सम्मेलन तालिममा सहभागी हुन जाने केन्द्रीय पदाधिकारीहरुलाई भत्ता बापत एकपटकमा जति दिनको कार्यक्रम भए पनि एक मुष्ठ (भिसा शुल्क, हवाई भाडा र विमा शुल्क बाहेक) अमेरिकन डलर १०० बराबरको हुन आउने रकम तथा जिल्ला पदाधिकारी, कर्मचारी, प्रशिक्षक, रेफ्रीहरुलाई एक मुष्ठ (भिसा शुल्क, हवाई भाडा र विमा शुल्क बाहेक) अमेरिकन डलर ५० बराबर हुन आउने रकम प्रदान गरिने छ । विदेशमा लाग्ने खर्च नेपाल क्रिकेट संघले व्यहोर्न नपर्ने अवसथमा मात्र अमेरिकी डलर १०० र ५० भत्ता कर कट्टी गरि प्रदान गरिने छ । तर यदि क्रिकेट सम्बन्धी अन्तर्राष्ट्रिय बैठक सेमिनार, गोष्ठी सभा सम्मेलन, तालिममा सहभागी हुन जाने केन्द्रीय पदाधिकारीहरुलाई सहभागि दिन भन्दा अन्य दिन रहन परेमा खाना र बस्नको व्यवस्था संघले गर्ने छ ।

विभिन्न राष्ट्रहरुमा सञ्चालन हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागी हुन जाने नेपालको राष्ट्रिय टिम तथा विभिन्न उमेर समूहको महिला, पुरुष टिमको लागि सहभागी खेलाडी, अफिसियल, प्रशिक्षक, चिकित्सक, पत्रकारहरुलाई खेल शुरुहुने २ दिन अगाडि र खेल समाप्त भएको १ दिन पछिसम्मको लागि दैनिक अमेरिकी डलर ५० प्रदान गरिने छ । यसमा एसीसीले २५ र क्यानले २५ डलर प्रदान गर्ने छ । आईसीसीको प्रतियोगितामा खेलाडीहरुलाई सबै ब्यवस्था (खाना)सहित अमेरिकन डलर ५० उपलब्ध गराइने छ र अन्य प्रतियोगितामा अमेरिकन डलर २५ का दरले हुन आउने रकम भत्ताबापत उपलब्ध गराइने छ ।

विभिन्न राष्ट्रहरुमा सञ्चालन हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागी हुन जाने नेपालको राष्ट्रिय टिम तथा विभिन्न उमेर समूहको महिला पुरुष टिमको लागि भैपरी खर्च स्वीकृत कार्यक्रमको आधारमा निर्धारण गरिनेछ । विदेशमा जाँदा कुनै पनि पदाधिकारीहरु, खेलाडीहरु, अफिसियल तथा कर्मचारीले संघको कामको सिलसिलामा विमानबाट विदेशमा यात्रा गर्नुपर्दा इकोनोमी क्लासको भ्रमण खर्च पाउने छ ।

संघद्धारा नियमित तलव खाने प्रशिक्षक तथा कर्मचारीलाई संघद्वारा कार्यालय समय बाहेक काममा लगाउँदा स्वीकृत कार्यक्रम अनुसार दैनिक भत्ता दिइनेछ । यसमा आर्थिक समितीको सिफारिसमा प्रतिदिन दुई हजार भत्ता हुनुपर्नेछ र यातायातका रुप्मा बस भाडाको सुबिधा हुनेछ ।

संघले सञ्चालन गरेको प्रतियोगिताहरुमा विभिन्न क्षेत्रहरुमा काम गर्नेहरुको भत्ता पनि तोकिएको छ । जसमा संघद्वारा सञ्चालन हुन दुई दिवसिय क्रिकेट, एकदिवसिय, टी २० प्रतियोगितामा अम्पायरको भूमीका निर्वाह गर्नेलाई प्रतिखेल क्रमशः ५ हजार ३५ सय र २५ सय रुपैयाँ उपलब्ध गराइनेछ।

यस्तै क्यानले सञ्चालन गर्ने दुई दिवसिय राष्ट्रिय प्रतियोगिता, एकदिवसिय राष्ट्रिय प्रतियोगिता र टी २० मा खेलाडीका लागि विशेष भत्ताको ब्यवस्था गरिनेछ ।

क्यानले अन्तराष्ट्रिय टी २० खेल्दा पाँच हजार भत्ता दिँदै आएको थियो । तर अब खेलाडीले एकदिवसिय प्रतियोगिता खेल्दा १० हजार रुपैयाँ भत्ता पाउनेछन । त्यसमा कर समावेश गरिएको हुन । यस्तै टी २० खेल्दा पाँच हजार म्याच फि पाउनेछन ।

यस्तै महिला खेलाडीमा कर समावेश गरेर महिलाले पाँच हजार र टी २० मा तीन हजार रुपैयाँ पाउनेछन । यस्तै अन्तराष्ट्रिय एकदिवसिय र टी २० मा सहभागि हुने अफिसियलले पाँच हजार एकदिवसिय र १५ सय देखि २५ सयसम्म टी २० मा दिनेछ । यस्तै खेलाडीले बन्द प्रशिक्षणमा पाँच सय रुपैयाँ भत्ता पाउनेछन भने यातायातको सुविधा क्यानले नै गर्नेछ ।

यस्तै राष्ट्रिय प्रतियोगिता खेल्दा खेलाडीलाई दिइने डाइट र यातायातको भत्ता यसप्रकार रहेको छ । जसमा पुरुष खेलाडीले एकदिवसिय खेल खेल्दा २५ सय र टी २० खेल्दा दुई हजार पाउनेछन । यस्तै महिला खेलाडीले एकदिवसिय खेलमा दुई हजार र टी २० मा १५ सय रुपैयाँ भत्ता पाउनेछन ।

यस्तै अफिसियलले एक हजार देखि १२ सय ५० तथा महिलामा अफिसियलले सात सय ५० र एक हजार रुपैयाँ पाउने ब्यवस्था गरेको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले पाँच सय रुपैयाँ भत्ता पाउनेछन भने उमेर समुहका खेलाडीले यातायात र डाइटका लागि एक हजार रुपैयाँ भत्ता प्रदान गरिनेछ ।

संघद्धारा संचालन हुने दुई दिवसिय प्रदेश स्तरीय क्रिकेट, एक दिवसिय प्रदेश स्तरीय र टि२० प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्ने अम्पायरहरुलाइ ४ जनालाई अनलाईन २५०० र पपेर २००० र स्कोररको (अनलाईन २५०० र पपेर २०००) लागी प्रतिखेल क्रमसः रु ४०००, रु २०००, रु १५००  उपलब्ध गराईनेछ ।

संघद्धारा संचालन हुने दुई दिवसिय प्रदेश स्तरीय क्रिकेट, एक दिवसिय प्रदेश स्तरीय र टि२० प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्ने अम्पायरहरुलाई र स्कोररको लागी प्रतिखेल क्रमसः रु ३०००,।२०००, रु १५००, रु १००० ।– उपलब्ध गराईनेछ ।

संघद्धारा संचालन हुने बिभिन्न उमेर समुहको दुई दिवसिय क्रिकेट, एक दिवसिय र टि२० जिल्ला क्रिकेट प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्ने अम्पायरहरुलाई र स्कोररको लागी प्रतिखेल क्रमसः रु।३०००,२००० रु १५००, रु १००० ।– उपलब्ध गराईनेछ ।

पेश्कीको नयाँ कार्यविधी

संघको कामकाजको निमित्त कार्यविधि बमोजिम पेश्की लिनु पर्दा कुन कामको निमित्त के कति रकम पेश्की चाहिने हो त्यसको फाँटवारी पेश गर्नुपर्ने छ ।

फाँटवारीमा प्राप्त भएकोमा लेख प्रमुखले हिसाब गरि समबन्धीत कामको लागि आवश्यक पर्ने रकमको ४० प्रतिशत भन्दा बढी नहुने गरि पेश्की दिने छ ।

पेश्की कार्यविधिमा तोकिएको म्यादभित्र तोकिएको कार्यविधी अपनाई फर्छोंट गर्नुपर्नेृ छ । कार्यविधि अनुसार कसैले लिएको पेश्की रकम सो काम समाप्त भएको १५ दिन भित्र भरपाई समेत संलग्न गरी दैनिक तथा भ्रमण भत्ताको हकमा फर्की आएको मितिबाट १५ दिन भित्र सो पेश्की रकम फछर्यौट गर्नु पर्नेछ ।

पेश्की फर्छौट नगरेसम्म अन्य कुनै पनि कार्यत्र mम मा सहभागी हुन पाउने छैन र पेश्की दिने र फर्छौट भएको कागजातमा प्रमाणिकरण गर्ने अधिकारी कर्मचारी, खेलाडी, अफिसियल र भेन्डरको हकमा महाप्रबन्धकको हुनेछ र पदाधिकारीहरुको हकमा सचिव र कोषाध्यक्षको हुने छ ।

पेश्की फर्छौंट नगरेमा कारबाही

तोकिएको समयमा पेश्की फर्छौट नगरेमा फर्छौट हुन बाँकी पेश्की रकममा म्याद नाघेको मितिले बार्षिक १० प्रतिशतका दरले ब्याज समेत लगाई लिइने छ र त्यस्तो पदाधिकारी वा कर्मचारी वा व्यक्ति उपर असुलउपर गर्न कारबाही अघि बढाइने तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने छ ।

जिल्ला र प्रदेशलाई संघले लिएको रकम प्रत्यक बर्षको वैशाख महिनाको १५ भित्र फर्छौट गरि सक्नु पर्ने छ र फर्छौट गरेको प्रमाणीकरण गर्नु पर्ने छ । यदि वैशाख १५ भित्र फर्छौट नगरेमा आगामी वर्षको रकम निकासा हुने छैन ।

क्यानको खरिद सम्बन्धी कार्यविधी

एक लाख रुपैयाँसम्म महाप्रबन्धक वा सचिव वा कोषाध्यक्षले सोझै बजारबाटबा बार्तालाप द्वारा खरिद गर्न सक्नेछ । निर्माण सामाग्रीको हकिमा एक लाख भन्दा माथि १० लाखसम्म दरभाउपत्र केटेशन द्वारा ३ कोटेशनको आधारले आर्थिक समितिले सिफारिसमा सचिव, कोषाध्यक्ष वा अध्यक्षले गर्न पाउने ।

तर बोलपत्र घटाघटको आधारमा गर्नुपर्ने छ ।अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरु जाँदा टिकट पनि सूचीकृत संस्थाबाट मात्रै लिन पाइने छ ।
कार्यालयमा आवश्यक पर्ने सामान खरिद गर्दा १० हजार भन्दा माथिको भए खरिद आदेश फाराम भरेर मात्रै गर्नुपर्ने छ । ५० हजारसम्म एक महिनाभरी मात्र लेखा प्रमुखको आदेशमा महप्रबन्धकले सदर गरेर खरिद गर्न सक्नेछन् । ५० हजार भन्दा माथिको खर्चमा महाप्रबन्धकले कोषाध्यक्षसँग पूर्व स्वीकृति लिनुपर्ने छ ।

आर्थिक कार्यविधीमा धेरै कुरालाई समावेश गरिएको छ । यो आर्थिक कार्यविधी र नियमावली बनेपछि क्यान अझ पारदर्शी हुने कोषाध्यक्ष रोशनकुमार सिंहले दाबी गरेका छन । क्यान अझैपनि पुर्ण रुपमा आइसीसीबाट फुकुवा नभइसकेको अवस्थामा संघले बनाएको कार्यविधी भन्दा बाहिर गएर कसैले पनि काम गर्न नपाउने र त्यसो भएको खण्डमा कारवाही हुने बताए ।
यसअघि उचित नियमावली र कार्यविधी नहुँदा संघमा आर्थिक ब्यवस्थापन केहि राम्रो थिएन, तर अब यसले सबैकुरा लाइनमा ल्याउने उनले बताए ।
अब कुनैपनि काम गर्दा आर्थिक कार्यविधीमा टेकेर गर्नुपर्ने र त्यो भएपछि सबैले नियम मान्नुपर्ने बताए । केहि समयको संघर्षपछि आएको आर्थिक नियमावलीले खेलाडी, कर्मचारी, पदाधिकारी सबैलाई समेटेको र सबैलाई आर्थिक नियममा बस्न बाध्य बनाउने उनले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey