डर्टमण्ड स्ट्राइकर उवामेयाङ आर्सनलमा अनुबन्धित

0

माघ १७ । गावोनका स्ट्राइकर पिएर्रे एमरिक उवामेयाङ इंग्लिस क्लव आर्सनलमा अनुबन्धित भएका छन् ।

जनवरी ट्रान्सफर सेसनको अन्तिम दिन आज आर्सनलले क्लव रेकर्ड ५६ मिलियन पाउण्डमा उवामेयाङलाई बोरुशिया डर्टमण्डबाट अनुबन्ध गरेको हो ।

२८ वर्षे स्ट्राइकरका लागि आर्सनलले यसअघि २ पटकसम्म प्रयास गर्दा डर्टमण्ड मानेको थिएन । तर, मिची बात्सुयीलाई चेल्सीबाट लोनमा अनुबन्ध गरेपछि उवामेयाङलाई बेच्न राजी भएको हो ।

आर्सनलले भनेको छ कि उसले उवामेयाङसँग लामो अवधिको सम्झौता गरेको छ ।

‘आर्सनलजस्तो महान क्लवमा आवद्ध हुन पाउँदा म निक्कै खुसी छु ।’ सन् २०१५ का अफ्रिकन प्लेयर अफ द इयर उवामेयाङले भनेका छन् ।

‘यस क्लवको ठूलो इतिहास छ र यहाँबाट थियरी हेनरीजस्ता महान स्ट्राइकरले खेलिसकेका छन् । उनी हामी सबै स्ट्राइकरहरुको प्रेरणा हुन् । म पनि यस क्लवबाट उनै हेनरीजस्तै गरी खेल्न सकुँ ।’

एवामेयाङले सन् २०१३ मा डर्टमण्ड आएयता २१३ खेलमा १४१ गोल गरेका छन् । जारी सिजन २४ खेलमा उनले २१ गोल गरिसकेका छन् । गाबोनको राष्ट्रिय टोलीबाट ५६ खेलमा उनले २३ गोल गरेका छन् ।

यता आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले सम्झौता नवीकरण गरेका छन् । उनी अबको साढे ३ वर्ष अर्थात सन् २०२१ सम्म आर्सनलमै रहनेछन् ।

२९ वर्षीय ओजिल आर्सनलको इतिहासमै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । उनले करबाहेक सातामा ३ लाख ५० हजार पाउण्ड कमाउँछन् ।

आर्सनलले ओजिलसँग बुधबार नयाँ सम्झौता गरेको हो । उनको अघिल्लो सम्झौता यसै सिजनको अन्तिमसम्ममा सकिने थियो ।

ओजिल सन् २०१३ मा रियल मड्रिडबाट तत्कालीन क्लव कीर्तिमान ४२.४ मिलियन पाउण्डमा आर्सनल पुगेका हुन् । नयाँ सम्झौतापछि उनी ३२ वर्षको उमेरसम्म प्रिमियर लिगमै रहने निश्चित छ ।

Post Add 1025X115
Loading...