नेपालले एशियन कपकाे बाटाे प्लेअफबाट खाेल्नुपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 600 पटक हेरिएको

नेपाली फुटबल टिम फिफा विश्वकप छनौट र २०२३ को एशियन कप छनौटका लागि अहिले कुवेतमा रहेको छ । जोर्डनसँगको हारपछि नेपालको विश्वकपको यात्रा समाप्त भइसकेको छ भने अब २०२३ मा हुने एशियन कपको छनौट खेल्नका लागि पनि निकै कठिन देखिएको छ ।

यो विश्वकप र एसियन कपको छनोटमा आठ समूह छन् । जहाँ ३९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । कोरोना भाइरसको महामारीपछि उत्तर कोरियाले छनोटबाटै नाम फिर्ता लियो । यसले समूह ‘एच’ मा चार टिममात्रै बाँकी रह्यो । त्यसैले छनोटको अर्को चरणमा पुग्ने समीकरणमा समूहमा अन्तिम स्थान अर्थात् पाँचौं हुने टिमसँगको नतिजा गणना हुँदैन । यसबाट नेपाली टिम पनि प्रभावित भएको छ ।

समूहका शीर्षस्थानमा रहने आठ टिम, दोस्रो हुनेमध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । त्यससँगै उनीहरू चीनले सन् २०२३ मा आयोजना गर्ने एसियन कपको फाइनल चरणलाई छनोट हुनेछन् । त्यसपछिका १६ टिम एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

यसमा समूहमा दोस्रो हुनेमध्ये पुछारका चार टिम, तेस्रो हुने आठ र चौथोमा रहनेमध्ये उत्कृष्ट चार देश हुनेछन् । बाँकी ११ टिम (समूहमा चौथो हुनेमध्ये पुछारका चार र अन्तिम स्थानमा रहने सात टिम) ले तेस्रो चरणको छनोटलाई प्लेअफ खेल्ने अवसर पाउनेछन् । त्यो प्लेअफबाट ८ टिमले एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन् ।

एसियन कप छनोटको तेस्रो चरणमा २४ टिम (४–४ टिमका ६ समूह) प्रतिस्पर्धा गर्नेछन् । यसबाट १२ टिम एसियन कपमा छनोट हुनेछन् । चीन विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्न असफल भएमा उसले आयोजकको हैसियतमा एसियन कप खेल्नेछ र यस्तो समीकरणमा तेस्रो चरणको छनोटबाट ११ टिमले मात्रै महादेशीय च्याम्पियनसिपको फाइनल चरणमा अवसर पाउनेछ । एसियन कपको १८ औं संस्करणमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘बी’ मा दोस्रो स्थानको होडमा जोर्डन (१३ अंक) र कुवेत (१०) छन् । चौथो स्थानमा नेपाल (६ अंक) सुरक्षित भइसकेको छ । नेपालको लक्ष्य पनि चौथो हुनेमध्ये उत्कृष्ट चारमा रहँदै सिधै एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने हो । नेपालले छनोटमा दुई जित हात पार्‍यो । दुवै जित ताइपेईविरुद्ध । लगातार सात हारसँगै ताइपेई समूहको अन्तिम अर्थात् पाँचौं स्थानबाट माथि उठ्ने छैन । त्यसैले आठ समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोटमा नेपालले ताइपेईविरुद्ध हात पारेका दुई जितको कुनै अर्थ हुने छैन ।

अस्ट्रेलिया, जोर्डन र कुवेतविरुद्ध नेपालले अंक जोड्न सकेन । गोल गर्न पनि सकेन । धेरै गोल (१९) बेहोर्‍यो । त्यसैले तेस्रो चरणमा पुग्नका लागि चौथो हुनेमध्ये उत्कृष्ट चारको वरीयतामा नेपाल पुछारमा छ । यसबाट माथि उक्सिन नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ, जुन फलामको च्यूरा चपाउनुसरह हुनेछ । त्यसैले एसियन कप छनोटमा कायमै रहन नेपालले प्लेअफ खेल्नुपर्ने सम्भावना बढेको छ ।

(कान्तिपर दैनिककाे सहयाेगमा)

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal