Mega Bank

नेपाल र जाेर्डनबीचकाे फुटबल आज राति

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 297 पटक हेरिएको

फिफा विश्वकप छनोटको चरणको खेलमा नेपालले आज राति बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने यो खेलले नेपालको युवा टिमको खास परिक्षण गर्नेछ । खेल राति पौने १० बजे शुरुहुने छ ।

पहिलो खेलमा चाइनिज ताइपेइलाई दुई शुन्यले पराजित गरेको नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनसँगको खेलका लागि टिम तयार रहेको बताएका छन । उनले जोर्डन बलियो टिम भएपनि आफुहरु गोल गर्न सक्ने क्षमता भएको र जोर्डनविरुद्ध आश्चार्यजनक नतिजा आउने संभावना रहेको बताए ।

फिफा बरियतामा नेपाल भन्दा ७६ स्थान माथि रहेको जोर्डनको टिमलाई नेपाल भन्दा बढि दबाव हुनेछ । हाल फिफा बरियताको ९५ औं स्थानमा रहेको जोर्डन फुटबल टिम कुवेत पुग्नु अगाडी बहराइनमा प्रशिक्षण क्याम्प राखेको थियो । यसका साथै उनले दुई वटा मैत्रीपुर्ण खेल पनि खेलेको थियो । जसमा भियतनामसँग एक एक गोलको बराबरी खेल्दा यूएईसँग भने पाँच एकले पराजित भएको थियो । त्यो भन्दा अगाडी उसले मार्चमा तीन अन्तराष्ट्रिय खेल खेलेको थियो । जसमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो भने लेबनानलाई एक शुन्यले पराजित गरेको थियो । यस्तै बहराईनलाई दुई एकले हराएको थियो ।

विश्वकप छनौटको लक्ष्यमा रहेको जोर्डनले प्रतियोगितामा पहिलो खेल नेपालसँग नै खेल्न लागेको हो । त्यसपछि उसले कुवेत र अष्ट्रेलियासँग खेल्नेछ । यो भन्दा अगाडी जोर्डन र नेपालले २०१९ मा खेल्दा नेपाल तीन शुन्यले पराजित भएको थियो । त्यो बेला र अहिलेको नेपालको टिममा निकै परिवर्तन भइसकेको छ । तर जोर्डन टिममा भने खासै परिवर्तन आएको छैन । त्यो बेला नेपाल एक सय ६१ औं बरियतामा थियो भने जोर्डन ९६ औं स्थानमा थियो ।

जोर्डनमा लिग हुन नसकेको करिव सात बर्ष हुन लागेको छ । प्रतिस्पर्धात्मक तरिकाले घरेलु लिग खेल्न नपाएकाले पनि टिममा परिवर्तन भएको छैन । पुरानै टिमलाई नै यो पटक कुवेत लगिएको छ । टिममा नयाँ खेलाडी खासै छैनन् ।

नेपाल र जोर्डन अहिलेसम्म तीन पटक खेलेका छन । जसमा नेपालले दुई खेल हारेको छ भने एक खेल बराबरी गरेको छ । सन् २०११ मा भएको विश्वकप छनौटको खेलमा नेपाल उसको घरेलु मैदानमा नौ शुन्यको भारी अन्तरले हारेको थियो । त्यो बेलाका प्रशिक्षक ग्राहम रोबर्टले यो हार आफ्नो करियरकै ठूलो हार भनेका थिए । तर दोस्रो लेगमा घरेलु मैदानमा खेल्दा नेपाल एक एक गोलको बराबरी गर्न सफल भएको थियो । नेपालका लागि भरत खवासले गोल गरेका थिए ।

त्यसपछि २०१९ को अक्टोबरमा नेपालले जोर्डनसँग उसकै मैदानमा खेल्दा तीन शुन्यको हार ब्यहोरेको थियो । सोमबार राती हुने खेलमा यदि नेपालले जोर्डनसँग बराबरी मात्र खेल्न सकेको खण्डमा पनि ठूलो उपलब्धि हुनेछ । यता जोर्डनका लागि त्यो भनेको निकै ठूलो धक्का हो ।
हाल लिगको तेस्रो स्थानमा रहेको जोर्डनले पाँच खेल खेल्दा तीन जित, एक बराबरी र एक हार ब्यहोरेको छ । उसले अष्ट्रेलियासँग हारेको छ । १० अंकका साथ लिगको तेस्रो स्थानमा रहेको जोर्डन आफुलाई शिर्ष दुईमा राख्ने लक्ष्यमा छ ।
नेपाल भन्दा प्राविधिक र शारिरिक रुपमा नै निकै बलियो देखिएको जोर्डन टिमका प्रशिक्षक भिटेल बोर्केलमान्सलाई ठूलो दबाव छ । सन् २०१९ मा नै उनलाई बर्खास्त गर्ने चर्चा चलिरहेको थियो । बेल्जियम टिमका सहायक प्रशिक्षक भइसकेको भिटेलमाथि जोर्डनी मिडियाले ठूलो दबाव दिएको छ । अझ यदि नेपालसँग पराजित भएको खण्डमा त उनको जागिर नै धरापमा पर्ने संभावना छ ।

पछिल्ला पाँच खेलमा जोर्डनले दुई जित, दुई बराबरी र एक हार ब्यहोरेको छ । यता नेपालले पछिल्ला पाँच खेलमा एक जित, तीन हार र एक बराबरी खेलेको छ । जोर्डनसँग अंक खोस्न सकेको खण्डमा नेपाललाई एशियन कपको अर्को चरणको छनौट खेल्ने पक्का हुनेछ । जोर्डनविरुद्धको खेलमा नेपाली टिमको सेटमा केहि परिवर्तन हुने संभावना छ । गोलकिपरमा किरण चेम्जोङ हुँदा डिफेन्समा दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल पर्ने संभावना छ भने मिडफिल्डमा पुजन उपरकोटी, सन्तोष तामाङ, विशाल राई, , फरवार्डमा सुनील बल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ पर्ने संभावना छ । नेपालले जोर्डनविरुद्ध चार तीन तीनको फरमेसनलाई उतार्ने संभावना छ ।

भर्खरै

Advertisement