ताइपेईविरुद्धको खेलमा नेपालका सबल र कमजाेर पक्ष केलाउँदा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 883 पटक हेरिएको

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट चरण अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेई विरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

खेलको सुरुवाती समय देखि नै नेपाल बल आफ्नो पकडमा राख्न चाहन्थ्यो । निकै हाइ प्रेसर खेल खेलेको नेपालले पहिलो चौथो मिनेटमा नै पाएको फ्री किकबाट पेनाल्टीको अवसर सिर्जना गर्‍यो ।

सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । पेनाल्टीमार्फत अन्जन विष्टले बललाइ जाली चुमाएका थिए ।

मध्यान्तरपछिको खेलमा ताइपेईले आक्रामक खेल्यो । पटक पटक गोलको प्रयासहरू भए पनि ताइपेई गोल गर्नमा सफल भने हुन सकेन ।
खेलको ८०औँ मिनेटमा मनीष डाँगी गोल गर्नबाट असफल भए पनि ८१ औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे ।
योसँगै नेपालले ताइपेईविरुद्ध २–० गोलको अग्रता लियो । त्यसपछिको खेलमा ताइपेई केही आक्रामक खेल्न पुग्यो । उसको तर्फबाट पटक पटक गोलको प्रयास भए पनि सफल भने हुन सकेन ।

कागजमा फर्मेशन हेर्दा नेपाल ४–३–३ को रणनीति सहित मैदानमा उत्रेको थियो । तर आक्रमण गर्दा ४–१–४–१ को फर्मेशन सहित अघि बढेको नेपाल, लङ बल खेल्दा चुस्त देखिएको थियो ।

३४ वटा शट प्रहर गरेको नेपालले १६ अन टार्गेट राख्न सफल भएको थियो । जस मध्ये २ प्रहारहरु गोलमा समेत परिणत भयो । नेपालको सबै भन्दा बलियो पक्ष संगठित रक्षापन्थी देखिएको थियो । अनन्त तामाङ र रोहित चन्द डटेर खेलेका थिए । रोहित चन्दले डिफेन्सबाट निकाल्ने सटिक लामो बलहरु पनि तारिफ योग्य थियो, उनीहरु दुई जना भन्दा ठिक अगाडि थिए । दर्शकका मन जित्न सफल खेलाडी साथै म्यान अफ द म्याचका दाबेदार पुजन उपरकोटी, उनी आफ्नो ब्यक्तिगत उत्कृष्ट खेल देखाउदै थिए ।

पुजनको खेल हेर्दा कतिपयले चेल्सीका आन गोलो कन्टेसंग पनि दाज्न पुगे । सायदै नेपालले पुजन जस्तो खेलाडी पछिल्लो केहि वर्षमा पाएको थियो होला, एकातिर डिफेन्सलाई साथ दिने, परिआउँदा इमरजेन्सी सेन्टर डिफेन्स बनिदिने, ठिक समयमा ट्याकल गर्ने, परेको बेलामा मिडफिल्डमा बललाई होल्ड गरिदिने, त्यस भन्दा पनि ठुलो सटिक पास कटाउने र बिपक्षी खेलाडीलाइ मार्क गर्ने जस्ता धेरै क्षमता पुजनमा देखियो ।

इराकसँगको खेल भन्दा अरु खेलाडीमा पनि धेरै भिन्नताहरु महसुस गर्न पाइएको थियो । सुमन अर्याल र गौतम श्रेष्ठको खेल हेर्दा उनीहरु दुवैजना दीर्घकालिन फुलव्यकका रुपमा स्थापित हुनसक्ने जस्तो क्षमता देखिएको छ ।

डिफेन्स त तारिफ योग्य थियो नै तर त्यो भन्दा पनि, ओभरल्यापिङ रनले सुनमा सुगन्ध थपेको थियो । ओभरल्यापिङ रन जुन सुमन अर्यालले अन्जन बिष्ट भन्दा अगाडि गरेका थिए । त्यसै क्रममा नै नेपालले अग्रता दोब्बर पर्न सफल भएको थियो । सुमन अर्यालको लेफ्ट फुटेड क्रस तापेइको डि बकसमा हरेक पटक घातक बनिरहेको थियो जुनकुराको फाइदा उठाएका थिए नवयुग श्रेष्ठले ।

खेलमा नेपालले पहिलो हाफ पूर्ण रुपमा आफ्नो पकडमा राखेको थियो , तर दोस्रो हाफको सुरुवात देखि नै नेपाल डिफेन्स गर्न बाध्य भयो । कोचले आशिष लामाको सट्टामा मनीष डाँगीलाई मैदानमा प्रवेश गराएका थिए । आशिष लामालाई अझैं पनि खेलमा जम्न कठिन भैरहेको पाइएको छ । इराकसँगको खेललाई तेइपेइले राम्रोसंग नियालेर हेर्ने र मनीष साथै नवयुगको खेल थाहा पाउने भएका करणले अब्दुल्लाहले आशिष लामा र सुनिल बललाई सुरुवाती ११ मा खेलाएको पनि खुलाएका छन् । तर आशिष लामाको खेल सोचे अनुरुप हुन सकेन ।


सेन्टर फरवार्ड खेलेका लामाले बल पाउन समेत कठिन भै राखेको थियो । बल पाउन आशिषलाई झन्डै सेन्टर तिर नै झर्नु परेको थियो । तर परिवर्तित खेलाडी मनीष डाँगीलाई पनि जम्न कठिन भैरहेको थियो । उनको खुट्टाबाट बल सजिलै गुमिरहेको थियो जसले गर्दा नेपाली डिफेन्समा समस्या खडा भैरहेको थियो । नेपालले दोस्रो हाफमा बल अगाडि बढाउने बित्तिकै केहि अल्मलिएको तथा अतालिएको जस्तो देखिएको थियो ।

ठूलो खेलको प्रेसर महसुस हुनु स्वाभाविक नै हो । तर, बल अगाडि बढाउने बित्तिकै खेलमा बल पोजिसन बिपक्षीले लिइ हाल्ने समस्या थुप्रै पटक दोहोरियो । मिडफिल्डमा खेलाडी थाकेको र चर्को गर्मि थेग्न नसकेको हो कि भने जस्तो देखिए पनि डिफेन्स लाइन खेल भरि नै मजबुत खम्बा जसरी बसी रह्यो ।

यो नै नेपालको खेलमा सबै भन्दा मजबुत पक्ष हुन पुग्यो । ताइपेइ आफ्नै जस्तो खेल भएको प्रतिद्वन्दी भएकोले खेल्न केहि सहज भयो तर अबको दुई खेलमा नेपालको अग्नि परीक्षा हुनेछ । सके सम्म कम गोल खाने र खेलमा झुझारूपन देखाउनु पर्ने छ । साथै पाएको अवसरमा पकड जमाउन पछि हट्नु हुन्न ।

जोर्डन र अस्ट्रेलिया बिश्व फुटवलमा नेपाललाइ तुलना गर्दा दुई ठुला माहरथी हुन भनि मान्न पर्ने हुन्छ । सोचेर बुझेर खेल रणनीतिहरु बदल्दै खेलेमा नेपालको चतुर्‍याइपन साबित हुनेछ । कसैले पनि जानेको थिएन जव २००४ मा होस्ट नेसन पोर्चुगल जो फूटवल हस्ति क्रिष्टियानो रोनाल्डो र लुइस फिगो सहित मैदानमा उत्रिएको महारथिलाई ग्रिस जस्तो लो प्रोफाइल टिमले उसैको भूमिमा आयोजक देशलाई हराएर खेल जितेको छ । खेल बिश्लेषकहरुका अनुसार त्यसबेला ग्रिसको फूटवल टोली सन्तुलित रहेको कारण बिजयी भएको भन्ने छ ।

आशा गरौं यसपाली नेपाली टोलि पनि सन्तुलित छ । बिपक्षी ठूला प्रतिद्वन्दीहरु रहेको परिप्रेक्षमा बिपक्षीलाई दवाबमा राख्न नेपाल सफल नभए पनि खेल कौशल र रणनीतिहरुलाई परिस्थिति अनुसार अदल बदल गर्न सफल भएमा नेपालले बराबरी वा जित निकाल्ला की भनी आशा राख्न सक्ने अवस्था देखिन्छ । हाल नेपालको खेल्ने शैली खेलाडी, कोच र परिस्थितिहरु सन्तुलित रहेको छ । आगे खेलाडीको मेहनत र दैबको साथ जय होस् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey