ताइपेईसँग तीन अंक लिने प्रयासमा नेपाल, ताइपेईमा ९ जना नयाँ खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 701 पटक हेरिएको

 

कतारमा अर्को बर्ष अर्थात सन् २०२२ मा हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि नेपाली टिम अहिले कुवेतमा रहेको छ । नेपालले बिहीवार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने १० बजेबाट शुरु हुनेछ ।

कुवेतको जाबेर अल अहमेद स्टेडियममा हुने खेलका लागि दुबै टिमले तयारी पुरा गरेका छन् । यो प्रतियोगिताका लागि कुवेत पुग्नेमा नेपाल पहिलो टिम बनेको थियो । कुवेत जानु अगाडि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ६–२ गोल अन्तरको हार ब्यहोरकेो थियो ।

नतिजामा इराकसँग पराजित भए पनि नेपाली टिमको प्रदर्शन भने सन्तोषजनक रह्यो । फिफा बरियतामा नेपाल भन्दा माथि रहेको चाइनीज ताइपेई टिम नेपाल भन्दा एक दिन ढिला कुवेत पुगेको थियो ।

हाल फिफा बरियतामा चाइनिज ताइपेइ एक सय ४१ औं स्थानमा रहेको छ भने नेपाल एक सय ७१ औं स्थानमा छ । यो पटक नेपाली टिममा केहि नयाँ अनुहार परेका छन् । जसमा इराकविरुद्धको खेलमा नेपालबाट दुई जना खेलाडीले डेब्यु गरेका थिए । नेपाली टिम घरेलु मैदानमा करिव १०–११ दिनको प्रशिक्षणपछि इराक हुँदै कुवेत पुगेको हो । त्यो भन्दा अगाडि नेपाल सुपर लिगमा खेलाडी ब्यस्त रहेकाले पनि टिमको फिटनेसमा त्यति समस्या छैन । तर कुवेतको मौसम नेपालका लागि मुख्य चुनौती रहेको छ ।

यस कारण पनि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उता, चाइनिज ताइपेइले भने स्वदेशमा नै करिव एक महिनाको प्रशिक्षण पछि कुवेतको यात्रा तय गरेको हो ।

ताइपेईले पहिलो पटक कुवेतको भूमीमा खेल्र्दै छ । नेपालले करिब दुई बर्ष अगाडि कुवेतमा दुई मैत्रीपुर्ण खेल खेलेको थियो ।
ताइपेइ टिमका लागि मुख्य चुनौती मौसम नै रहेको छ । जुन कुरा सो टिमले पनि स्वीकार पनि गरेको छ । प्रतियोगिता भन्दा दुई दिन अगाडिमात्र कुवेत पुगेकाले खेलाडीलाई त्यहाँको मौसमसँग घुलमिल हुन समय लागिरहेको टिमका प्रशिक्षक वाङले बताएका छन् ।


उनले सबै खेलाडीले कुवेतको गर्मीलाई पचाउनका लागि प्रयाशरत रहेको बताएका छन् । उनले त्यहाँको मौसम निकै सुख्खा भएकाले केहि कठिन भएको र त्यसको निराकरण गरिने बताए । यस्तै टिमका खेलाडी उ जुनकिङले ताइवानी खेलाडी सबै खुल्ला रहे पनि कोभिडका कारण आफूहरु देखेर सबै तर्सिने गरेको बताए ।

सबै खेलाडी राम्रो मुडमा रहेको र टिमले नेपालसँग खेल्नका लागि निकै राम्रो तयारी गरेको र जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए । पहिलो पटक टिममा परेका कान्छा खेलाडी लियाङ मेन्झीले कुवेतको मौसम निकै कठिन रहेको र सबै खेलाडी त्यहाँको मौसमसँग मिल्न खोजिरहेको बताए ।

आफूहरु मैदानमा फोकस रहेको र पहिलो पटक यति गर्मीमा प्रशिक्षण गरिरहेको पनि बताए । यो आफ्ना र टिमका लागि पनि नयाँ अनुभव रहेको उनको भनाई छ ।

नेपाल भर्सेस ताइपेइः दुबै टिमको मुख्य चुनौती कुवेतको गर्मी

चाइनिज ताइपेइ टिम
युवा खेलाडीले भरिएको ताइपेइ टिममा स्कुल पढ्दै गरेका लियाङलाई पनि समावेश गरिएको छ । ताइपेइले अन्तिम पटक विश्वकप छनोटमा जोर्डनसँग खेलेपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यसको अर्थ उसले करिब डेढ बर्षदेखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । तर खेलाडी घरेलु लिगमा भने खेलिरहेका थिए । यसका साथै यो पटक टिममा निकै परिवर्तन पनि गरिएको छ । यसअघि टिममा रहेका नौ खेलाडी यो पटक टिममा छैनन् ।

कुवते पुगेको टिममा चाइनिज लिग खेल्ने पाँच क्लवका खेलाडीलाई समावेश गरिएको छ । प्रतियोगिताका लागि तयारी गर्नु अगाडि बोलाइएको टिममा १० जना खेलाडी समावेश हुन सकेका थिएनन् । चार जनालाई क्वारेन्टिनको समस्या भएको थियो भने ६ जनालाले ब्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए ।

जसका कारण पनि टिमले खेलाडी परिवर्तन गर्नुपरेको थियो । ताइपेइ टिममा रहेका अनुभबि स्ट्राइकरमा ली माओ रहेका छन् । उनी टिमको मुख्य हतियार पनि हुन् । टिममा आठ खेलाडीले मात्र १० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।
बाँकी खेलाडी युवा नै रहेका छन् । युवा खेलाडीको बाहुल्यता रहेकाले पनि टिमलाई केहि चुनौती रहेको प्रशिक्षकले पोष्ट म्याचमा बताएका छन् ।

नेपाली टिम
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आएपछि ६ जना नयाँ खेलाडीलाई समावेस गरेर कुवेत पुगेको नेपाली टिमको चाहना ताइपेइबाट तीन अंक खोस्ने रहेको छ ।

यो खेलमा नेपाली टिमले इराकविरुद्ध गरेको गल्तिलाई सुधारेर परिपक्व खेल खेल्न जरुरी देखिएको छ । टिममा अञ्जन विष्ट, मनीष डाँगी, नवयुग श्रेष्ठले नै अग्रपंक्ति सम्हाल्ने संभावना रहेको छ । इराकविरुद्धको सेटलाई नै लगभग नेपाली प्रशिक्षकले उतार्ने छन् ।

जसमा गोलकिपरमा किरण चेम्जोङ, डिफेन्समा सुमन अर्याल, दिनेश राजवंशी, अनन्त तामाङ र रोहित चन्द नै हुनेछन । मिडफिल्डमा पुजन उपरकोटी, सन्तोष तामाङ र अभिषेक रिजाल र फरवार्डमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र मनीष डाँगीलाई खेलाउने संभावना रहेको छ ।

यो खेलमा पाँच जना सब्सिच्युट खेलाउन पाइनेछ । चार तीन तीनको फरमेसनलाई नेपाली टिमले ताइपेइविरुद्ध खेलाउने संभावना छ ।

हेड टु हेड
नेपालले चाइजिन ताइपेइसँग अहिलेसम्म दुई खेल खेलेको छ । जसमा नेपालले एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । सन् २०१९ को जुनमा भएको मैत्रीपूर्ण खेलमा नेपालले मैत्रीपुर्ण खेल खेल्दा एक एक गोलको बराबरी खेलेको थियो । सो खेलमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए ।

यस्तै विश्वकप छनोटकै पहिलो चरणको खेलमा नेपालले २०१९ को सेप्टेम्बरमा ताइपेइसँग उसकै मैदानमा खेल्दा दुई शुन्यको जित निकालेको थियो । नेपालका लागि दुबै गोल अञ्जन विष्टले गरेका थिए । बिहीवार हुने खेलमा पनि विष्ट, मनीष डाँगी र नवयुगको प्रदर्शन मुख्य हुनेछ । यस्तै इराकविरुद्ध डिफेन्समा देखिएको गल्तिलाई पनि सच्याउन जरुरी छ ।

अंक तालिका
अंक तालिकाको पुछारमा रहेको चाइनिज ताइपेइले प्रतियोगितामा दुई गोल गर्दा २५ गोल खाएको छ । उसले दुई गोलमा एक जोर्डन र एक अष्ट्रेलियाविरुद्ध गरेको थियो । तर दुबै खेलमा गोल गर्ने खेलाडी यो पटक टिममा छैनन् । नेपालले यो प्रतियोगितामा दुई गोल गर्दा १६ गोल खाएको छ । प्रतियोगितामा कम गोल खानेमा अष्ट्रेलिया रहेको छ । उसले ताइपेइविरुद्ध नै गोल खाएका थिए ।

पछिल्ला पाँच खेलको प्रदर्शन
चाइनिज ताइपेई
चाइनिज ताइपेईले फिफा विश्वकप छनोट अन्तर्गत अहिलेसम्म पाँच वटा खेल खेलेको छ । जसमा सबै खेलमा पराजित भएको छ ।
पहिलो खेलमा चाइनिज ताइपेई जोर्डनसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।
कुवेतसँग भने ९–० गोल अन्तरले पराजित भएको थियो भने अस्ट्रेलियासँग ७–१ गोल अन्तरले पराजित भयो ।
यसैगरी चाइनिज ताइपेइ घरेलु मैदानमै नेपालसँग २–० गोल अन्तरले पराजित भएको थियो भने पछिल्लो खेलमा जोर्डनसँग २–१ गोल अन्तरले पराजित भयो ।

पछिल्लो पाँच खेल
चाइनिज ताइपेई १– २ जोर्डन
चाइनिज ताइपेई ०–२ नेपाल
चाइनिज ताइपेई १–७ अस्ट्रेलिया
चाइनिज ताइपेई ०–९ कुवेत
चाइनिज ताइपेई ०–५ जोर्डन

नेपालले विश्वकप छनोट अन्तर्गत अहिलेसम्म पाँच खेल नै खेलेको छ । जसमा नेपालले एक खेलमा मात्रै जित हात पारेको छ ।
नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेइलाई मात्रै पराजित गरेको छ भने कुवेतसँग दुवै खेलमा पराजित भयो भने अस्ट्रेलिया र जोर्डनसँग एक एक खेलमा पराजित भएको छ ।

अब नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग जुन महिनामा खेल्दै छ । उक्त प्रतियोगिताका लागि नेपाली टिम अहिले कुवेतमा रहेको छ । नेपालले फिफा विश्वकप छनोट बाहेक यो बीचमा अरु टुर्नामेन्ट पनि खेलेको छ ।

नेपालको पछिल्ला पाँच खेलको नतिजा
इराक ६–२ नेपाल (मैत्रीपूर्ण)
बंगलादेश ०–० नेपाल (थ्री नेसन्स कप)
बंगलादेश १–२ नेपाल (थ्री नेसन्स कप फाइनल)
कुवेत १–० नेपाल (विश्वकप छनोट)
म्यानमार ३–० नेपाल

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey