राष्ट्रिय फुटबल टिमलाई परिवर्तनको बाटोमा ल्याएका प्रशिक्षक अब्दुल्लाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 563 पटक हेरिएको

इराकसँगको मैत्रीपुर्ण खेल र कुवेतमा हुने फिफा विश्वकप छनौटका लागि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ६ जना नयाँ खेलाडीलाई समावेश गरेर २३ जनाको टिमको घोषणा गरेका छन । नेपाली राष्ट्रिय फुटबल टिममा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाहले ठूलो चुनौती मोल्दै बलिया टिमविरुद्धका लागि टिम खडा गरेका छन ।

प्रशिक्षक अब्दुल्लाहले विश्वकप छनौट र इराकसँगको मैत्रीपुर्ण खेल युवा खेलाडी र नेपाली टिमका लागि राम्रो एक्पोजर हुने र नेपालको लक्ष्य साफ च्याम्पियनसिप र एशियन गेम्स रहेको यसअघि नै बताइसकेका छन । त्यसैलाई केन्द्रित गरेर होला अब्दुल्लाहले पहिलो पटक टिम सम्हाल्दा नै ठूलो परिवर्तन गरेका छन ।

नेपाल सुपर लिग सुरु हुनुभन्दा अगाडी उनले ३२ जना खेलाडीको सूची बनाएका थिए । तर एनएसएललगत्तै उनले ३२ खेलाडीमा नै परिवर्तन गरे । अहिले २३ खेलाडीको घोषणा गर्दा उनले टिममा एक दर्जन भन्दा बढि खेलाडीलाई परिवर्तन गरेका छन ।

उनले जुन किसिमको टिमको घोषणा गरेका छन, त्यसले उनी अहिलेका लागि भन्दापछि भविष्यका लागि हेरिरहेको प्रष्ट भएको छ । हुन त अब्दुल्लाहले अहिलेका लागि २३ खेलाडीको घोषणा गरेपनि यो बाहिर रहेका खेलाडीपनि टिममा रहेको जस्तै भएको बताइसकेका छन । उनले चाहेको खण्डमा अहिलेको २३ खेलाडीलाई नै परिवर्तन गर्न सक्ने यसअघि प्रष्ट पारेका छन ।

तर यसपटक उनले तयार पारेको टिममा निकै ठूलो चुनौती उनले मोलेका छन । टिममा ६ जना डिफेन्डर राख्दा लेफ्ट डिफेन्समा सुमन अर्याल एक्लो रहेका छन । उनी एनएसएल नखेलेर पनि टिम पर्न सफल भएका हुन । ३२ जनामा यहि पोजिसनमा खेल्ने निशान खड्का, रञ्जित धिमाललाई उनले फालेका छन । जबकी दुबै खेलाडीले एनएसएलमा राम्रो प्रदर्शन गरेका थिए ।

यस्तै राइट डिफेन्समा तीन जना खेलाडी उपलब्ध हुनेछन । जसमा गौतम श्रेष्ठ, दिनेश राजवंशी, विकाश खवास छन । एनएसएलमा विकाश खवास पहिलो खेलपछि चोटका कारण खेल्न सकेका थिएनन् ।

अब प्रशिक्षकले डिफेन्समा राखेका खेलाडीमा सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङ छन । विकल्पमा दिनेशलाई यो पोजिसनमा पनि खेलाउन सक्ने संभावना रहेको छ ।

यस्तै मिडफिल्डमा विशाल राई, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, मनिष डाँगी, सन्तोष तामाङ सेन्टर मिडफिल्डबाट खेल्ने खेलाडी हुन । यस्तै विंगरमा आयुष घलान र सुनील बल रहेका छन भने उनले अञ्जन विष्ट र अभिशेक रिजाललाई पनि यसमा प्रयोग गर्न सक्नेछन ।

स्ट्राइकर यो भ्रमणमा नेपाललले एक जनालाई लिएर खेल्ने प्रबल संभावना रहेको छ । जसमा लागि नवयुग श्रेष्ठ, सुमन लामा र आशिष लामा छन ।

नेपालले खेल्ने इराक होस या विश्वकप कप छनौटमा चाइनीज ताइपेइ, जोर्डन र अष्ट्रेलियासबै शारिरिक र फिटनेसका हिसावले निकै बलियो टिम रहेका छन । फिफा बरियतामा पनि नेपाल भन्दा निकै माथि रहेका टिमहरुविरुद्ध युवा खेलाडीले कस्तो फाइट गर्नेहुन भन्ने ठूलो कौतुहल बढेको छ ।

तर अहिले घोषणा गरेको टिममा कथमकदाचित सिनियर तथा अनुभवी खेलाडीमा पीसीआर परिक्षण गर्दा रिपोर्ट तलमाथि भयो भने पुरै युवा खेलाडीको टिमलाई प्रशिक्षक अब्दुल्लाहले मैदानमा उतार्नुपर्ने बाध्यता हुन्छ । जुन उनका लागि ठूलो चुनौती हो ।

यता गोलकिपरमा कथमकदाचित यस्तै अवस्था आएको खण्डमा त्यो अर्को झट्का हुन सक्नेछ । अहिले अब्दुल्लाहले सार्वजनिक गरेको टिममा सन् २००५ मा यू १६ खेलेका किरण चेम्जोङ एक खेलाडीमात्र छन भने सन् २००७ मा यू १६ खेलेका दुई खेलाडी रोहित चन्द र विशाल राई मात्र रहेका छन । अब किरणको ब्याचका खेलाडीको राष्ट्रिय टिमको समय सकिएको त होइन भन्ने प्रश्नपनि उब्जिएको छ ।

समग्रमा प्रशिक्षक अब्दुल्लाहले जुन परिवर्तन टिममा गरेका छन, त्यो एक किसिमले राम्रो पनि रहेको तर अहिले नै जरुरी थियो की थिएन भन्ने फरक पक्ष हो । इराक र कुवेतमा खेल्दा युवा खेलाडीले ४५ डिग्रीसम्मको तापक्रममा कतिको खेल्न सक्छन भन्ने पनि हो ।

तर जतिपनि खेलाडी पहिलो पटक टिममा परेका छन, त्यो उनीहरुका लागि ठूलो मौका पनि हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey