Mega Bank

ओलम्पिक तयारीका लागि पार्कीले सदुपयोग गर्न नपाएको त्यो १५ हजार अमेरीकी डलर…

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 116 पटक हेरिएको

नेपालबाट ओलम्पिकमा सहभागिता जनाउने पक्का भएका तीन खेलाडी मध्ये एक नाम हो एथ्लेटिक्सका गोपीचन्द्र पार्की । नेपालगञ्ज म्याराथनको उपाधि जितेपछि टोकियो ओलम्पिकको ढोका खोलेका गोपी हाल ओलम्पिकको तयारीमा रहेका खेलाडीमा सोलिडारीटी कोर्समा नपरेका एक खेलाडी हुन ।

ओलम्पिकको तयारीमा रहेका अरु खेलाडीले सोलिडाराटी कोर्ष अन्तर्गत मासिक पाँच सय अमेरीकी डलर भत्ता पाएर प्रशिक्षण गरिरहेका छन । तर गोपीका लागि सो भत्ता संभव भएन । उनको नाम अन्तिममा मात्र पाएकाले सोलिडारीटी कोर्षमा राख्न नपाएको नेपाल ओलम्पिक कमिटीले यसअघि नै बताइसकेको छ । तर उनलाई राम्रो प्रशिक्षण दिनका लागि नेपाल ओलम्पिक कमिटीले विभिन्न प्रयास गरेपनि अझै नतिजा हात पार्न नसकेको महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।

पार्की ओलम्पिक सोलिडारीटीको कोर्षको सूचीमा नपरेका कारण उनलाई राम्रो प्रशिक्षण होस भनेर अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई बारम्बार आग्रह गर्दा आइओसीले प्रतियोगिता अगाडीको तयारीका लागि १५ हजार अमेरीकी डलर दिने निर्णय गरेको थियो । तर त्यो रकम उनले जापान बाहेक अरु ठाँउमा गएर प्रशिक्षण गर्न नपाउने गरेर दिएको र अहिलेको अवस्थामा जापानमा प्रशिक्षणका लागि पठाउन कठिन भएको श्रेष्ठले बताए । उनले जापानमा गोपीलाई प्रशिक्षणका लागि पठाउन निकै प्रयास गरिरहेपछि कोहिपनि तयार नभएको र अस्विकारमात्र गरेको बताए । तरपछि अझै तामुरा सिटीसँग कुरा भइरहेको र उनले जुलाईको पहिलो तारिखबाट करिव एक महिनाका लागि प्रशिक्षण गराउन सक्ने भन्दै संभावनाको बाटो देखाएको श्रेष्ठले बताए ।

तामुरा सिटीसँग नेपाल ओलम्पिक कमिटीले यसअघि खेलाडी प्रशिक्षण लगायतका विषयमा २०२१ सम्मका लागि सम्झौता गरेको थियो । यदि गोपी यो शहरमा प्रशिक्षणका लागि जान पाए भने त्यो आइओसीको खर्च भने हुने छैन । त्यसका खर्च सम्झौता अनुसार नै हुनेछ ।

तर आइओसीले दिने भनेको १५ हजार डलरको प्रशिक्षण रकमलाई सदुपयोग गर्नका लागि ओलम्पिक कमिटी केहि असक्षम देखिएको छ । यस्तैमा जापान सरकारले पछिल्लो पटक नेपालबाट नागरीक प्रवेशमा प्रतिबन्ध नै लगाएको छ । जसका कारणपनि गोपीलाई अहिलेको अवस्थामा जापान पठाउन निकै कठिन भएको हो । यसले उनले पाउने भनेको प्रशिक्षणको सुविधापनि नपाउने अवस्थामा पुगेका छन । नेपाल ओलम्पिक कमिटीले यसका लागि अझैपनि निरन्तर प्रयास गरिरहेको श्रेष्ठले बताए ।

टोकियो ओलम्पिक खेल्ने पक्का भएका तीन खेलाडीमा पार्की एथ्लेटिक्सबाट एक्लो खेलाडी हुन । उनलाई कम्तिमा नेपालको राष्ट्रिय कीर्तिमान भंग गर्ने किसिमले तयारी गराउने भनेपनि सबै प्रयास अधुरो भइरहेको महासचिव श्रेष्ठले बताए । अहिले पार्की एपीएफमा नै प्रशिक्षण गरिरहेका छन । उनको प्रशिक्षणका लागि एनओसीले चाहिने सहयोग गरेको बताइएको छ ।

भर्खरै

Advertisement