Mega Bank

अन्जनको निर्णायक गोलमा ललितपुरले बुटवललाई हरायो, फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२९
  • |
  • 68 पटक हेरिएको

काठमाडौं । मार्की खेलाडी तथा कप्तान अन्जन विष्टले निर्णायक गोल गरेपछि नेपाल सुपर लिग (एनएसएल)को इलिमिनेटर खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा अन्जनले ललितपुरका लागि दोस्रो हाफमा गोल गरेका थिए । ६१ औं मिनेटमा गौरव बुढाथोकीले चलाखीपूर्वक दिएको बल उपयोग गरी मिक्छेन तामाङको क्रसमा अन्जनले पेनाल्टी एरियाबाट डाइभिड हेड गोल गरेका थिए ।

त्यसको चार मिनेटपछि नै बुटवलले बराबरीको अवसर खेल फालेको थियो । विलियम ओपोकुको पासमा आशिष लामाले बक्स बाहिरबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्कीले उत्कृष्ट बचाउ गरेका थिए ।

७९ औं मिनेटमा बुटवलले अर्को अवसर पाएको थियो । ओमोलाजा करिमले बक्स बाहिरिबाट गरेको प्रहार पोलमा लागेर फर्किएको थियो । फर्किएको बलमा सुमन लामाको प्रहार नजिकैबाट बाहिरियो ।

८५ औं मिनेटमा कमल श्रेष्ठले बक्स नजिकैबाट गरेको फ्रिकिक प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।

यसअघि पहिलो हाफमा गोल हुन नसके पनि दुवै टोलीले सृजना गरेका गोलका केहि अवसर खेर फालेका थिए ।

१२ औं मिनेटमा अन्जनको क्रसमा डोना थापाले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिएको थियो । २५ औं मिनेटमा डोना थापाले पेनाल्टी एरियामा अनमार्क रहेका नार्लान जाहिदलाई पास दिएकोमा उनको प्रहार बुटवलका गोलरक्षक विशाल श्रेष्ठले पन्च गरी बचाए । रिबाउन्ड बलमा मिक्छेन तामाङको प्रहार आकाशियो ।

३१ औं मिनेटमा बुटवलले गोलको अवसर गुमायो । ओमोलाजा नुराइनको फ्रिकिकमा आशिष लामाले पोष्ट नजिकैबाट गरेको फ्रिकिक गोलरक्षक अर्पण कार्कीले मुस्किलले जोगाए ।

४० औं मिनेटमा बुटवलले गोलको सबैभन्दा उत्कृष्ट अवसर खेर फालेको थियो । विरज महर्जनको पासमा विलियम ओपोकुको शशक्त प्रहार ललितपुरका गोलरक्षक कार्कीले बचाए । रिबाउण्ड बल प्रहार गर्ने क्रममा आशिष लामा चिप्लएर लढेपछि प्रहार आकाशियो ।

लिग चरणको खेलमा पनि ललितपुरले बुटवललाई १–० ले नै पराजित गरेको थियो । ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार काठमाडौं रेजर्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

भर्खरै

Advertisement