Mega Bank

लकडाउन हुँदा तहस नहस भएका क्यानका याेजना, खेलाडी झन मर्कामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 166 पटक हेरिएको

नेपालमा कोरोनाको दोस्रो संक्रमण कायमै रहेपनि नेपाल क्रिकेट संघले विभिन्न योजनालाई अगाडी ल्याएको थियो । कोभिडको असर कायमै हुँदा महिला र पुरुषको घरेलु क्रिकेट प्रतियोगिता गरेको क्यानले यहि विचमा त्रिकोणात्मक टी २० सिरिज पनि आयोजना गर्यो । भलै यो प्रतियोगितालाई एक ब्यवस्थापन कम्पनीलाई सस्तैमा विक्रि गर्यो भनेर आलोचना भएपछि अन्तिममा प्रतियोगिता निकै सफल रुपमा सम्पन्न भयो ।

प्रतियोगिता सुरु भएको दुई दिनपछि नै सरकारले दर्शकसहितको खेल नगर्न निर्देशन दिएपछि क्यानले त्रिकोणात्मक सिरिजको विचबाट नै मैदानमा दर्शकलाई रोक लगायो । यो प्रतियोगिता आयोजना भइरहँदा क्यानले महिलाको पनि अन्तराष्ट्रिय प्रतियोगिता गर्ने भनेर मिती नै तय गरेको थियो ।

तर यहि विचमा कोभिडका कारण नेपालमा दोस्रो भेरियन्ट भयाभव रुपमा देखिएपछि लकडाउन गर्न बाध्य भयो । जसका कारण नेपाल क्रिकेट संघले आफ्नो योजनामा रहेको सबै गतिविधीलाई तत्कालका लागि स्थगित गर्न बाध्य भयो ।

स्वास्थ्यलाई ध्यानमा राखेर जिल्ला देखि अन्तराष्ट्रिय प्रतियोगिताहरु स्थगित गर्नुपर्ने अवस्था आयो । यदि अहिले नेपालमा कोभिडको भयाभव अवस्था नभएको भए सायद यतिबेला महिला, पुरुष र यू १९ टिमका खेलाडी केहि न केहि प्रतियोगितामा ब्यस्त हुन्थे होला ।

तर अवस्था फेरीएको छ र सबै खेलाडी घरमा नै बस्न बाध्य भएका छन ।

लकडाउन नभएको भए क्यानले गर्ने भनेका केहि योजनाहरु के के थिए ।

नेपाल क्रिकेट संघले त्रिकोणात्मक सिरिज सकिए लगत्तै महिलाको अन्तराष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरेको थियो । जसका लागि उत्तराखण्ड टिमलाई बोलाएको थियो । तर भारतमा र नेपालमा कोरोनाको असर निकै बढेकाले हरियाणा टिमलाई भारतीय क्रिकेट बोर्डले नै नेपाल जान अनुमती दिएन । जसका कारण बैशाख १० नेपाल आउने भनिएको हरियाणा टिम आउन सकेन । अन्तिममा यो प्रतियोगिता नै स्थगित गर्नुपर्यो ।

क्यानले बनाएको तालिका अनुसार महिला टिमले हरियाणाको महिला टिमसँग दुई एकदिवसिय र तीन टी २० खेल्ने तालिका थियो । यसका लागि महिला टिमलाई बैशाख चार गतेबाट नै क्याम्पमा राख्ने योजना थियो भने १२ गतेबाट प्रतियोगिता सुरु गर्ने र १० दिनमा सिरिज सक्ने योजना थियो ।
महिला टिमको प्रतियोगिता सकिएपछि क्यानले नामिविया र तान्जिनियालाई बोलाएर सिरिजको योजना बनाएको थियो ।

यसका लागि नामिबिया र तान्जिनिया आउने तयार पनि थिए । सुरुवातमा नामिवियालाई बोलाएर तीन एकदिवसिय सिरिज खेल्ने र त्यसपछि तान्जिनीयालाई सहित टी २० सिरिज गर्ने योजना थियो । यो प्रतियोगिता बैशाख २२ गतेबाट सुरु गर्ने भन्ने तयारी थियो । तर कोभिडले यसलाई पनि अचार खाएजस्तै बनाइदियो ।

यस्तै जेठको दोस्रो साता यू १९ स्तरको क्रिकेट प्रतियोगिता गर्ने भन्ने योजना थियो । नेपालमा उमेर समुहको प्रतियोगिता नभएको निकै बर्ष भइसकेको अवस्थामा क्यानले आफ्नो मातहतमा यू १९ क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको थियो । यो प्रतियोगिताका लागि क्यानले वाईवाईसँग सम्झौता पनि गरिसकेको छ ।

यो सकिएपछि अवस्था राम्रो भएको खण्डमा महिला टिमलाई भारत प्रतियोगिताका लागि पठाउने भन्ने पनि चाहना क्यानको थियो । उत्तराखण्ड टिमसँग नै उसकै मैदानमा नेपाली महिला टिमलाई खेलाउने क्यानको तयारी थियो ।

यो प्रतियोगितापछि क्यानले सिनियर टिमको क्याम्प राख्ने र स्कटल्याण्डमा जुलाईको दोस्रो साता हुने भनिएको आइसीसी विश्वक क्रिकेट लिगको तयारी गर्ने चाहना थियो ।

अब कोभिडले यो सबै योजनालाई तहसनहस बनाउँदा क्यानका पदाधिकारीलाई चुप लागेर बस्नुको विकल्प नै छैन । कोभिडले प्रतियोगिता त विथोल्यो ने खेलाडीले पाउने रकमपनि कोभिड कै कारण देखाएर निकासा हुन सकेन ।

खेलाडीले पीएम कप, मेयर कपकाे रकम अझै नपाएकाे गुनासाे गरिरहेका बेला त्रिकोणात्मक सिरिजमा क्यानले घोषणा गरेको प्रतिखेल पाँच हजार रुपैयाँ भत्तापनि त्यतिकै रोकिएको छ । महामारीका रुपमा आएको कोरोनाले अहिले नेपालमा आक्रान्त रुप लिएको छ । त्यसैले स्वास्थ्य नै धन हो भनेर बस्नुको विकल्प पनि देखिएको छैन ।

नेपालमा लकडाउन भएपछि प्रशिक्षक डेभ ह्वाटमोरपनि स्वदेश फर्किएका छन भने अब यो लकडाउन कहिलेसम्म जाने हो, त्यो पनि टुंगो छैन । यस्तैमा सुस्त रुपमा लयमा देखिएको क्यान फेरी सेलाउने अवस्थामा पुगेको छ ।

भर्खरै

Advertisement